इटालीको प्रशिक्षक खोजी : पहिलो प्रस्ताव एन्सेलोट्टीलाई, दोस्रो ग्वार्डिओलालाई

हिमाल प्रेस ८ साउन २०८३ ७:५४ | Friday, July 24, 2026
8
SHARES
इटालीको प्रशिक्षक खोजी : पहिलो प्रस्ताव एन्सेलोट्टीलाई, दोस्रो ग्वार्डिओलालाई कार्लो एन्सेलोट्टी

इटालीले राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्तिका लागि पेप ग्वार्डिओलासँग वार्ता गर्नुअघि कार्लो एन्सेलोट्टीलाई प्रस्ताव गरेको पुष्टि गरेको छ।

लगातार तेस्रोपटक विश्वकपमा छनोट हुन असफल भएपछि जेनारो गाटुसोले गत अप्रिलमा पदबाट राजीनामा दिएयता इटालीको राष्ट्रिय टोली प्रशिक्षकविहीन छ।

यसै साता इटालियन फुटबल महासंघका अध्यक्ष जियोभानी मालागोले ग्वार्डिओलासँग वार्ता भएको र उनको तलबका विषयमा विशेष व्यवस्था गर्न सकिने बताएका थिए। ग्वार्डिओला १० वर्षपछि यस गर्मीयाममा म्यानचेस्टर सिटीबाट बाहिरिएका हुन्।

तर बिहीबार महासंघका प्राविधिक निर्देशक पाओलो माल्दिनीले इटालीले सबैभन्दा पहिले ब्राजिलका वर्तमान प्रशिक्षक कार्लो एन्सेलोट्टीसँग सम्पर्क गरेको खुलासा गरे।

माल्दिनीले भने,‘पेपसँग कुरा गर्नुअघि हामीले कार्लोसँग पनि छलफल गरेका थियौं भन्ने कुरा लुकाउन सक्दैनौं’ उनले थपे,‘हामीले संसारकै उत्कृष्ट मान्ने प्रशिक्षकहरूसँगबाट प्रक्रिया सुरु गर्नु उचित ठानेका थियौं।’

माल्दिनीका पूर्व टोलीसाथी एन्सेलोट्टीले सन् २०२५ मा ब्राजिलको प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए। उनले गत मे महिनामा आफ्नो सम्झौता सन् २०३० को विश्वकपसम्मका लागि नवीकरण गरेका छन्।

यद्यपि ब्राजिल विश्वकपको अन्तिम १६ चरणमा नर्वेसँग पराजित भएको थियो। ब्राजिलियन फुटबल महासंघले ६७ वर्षीय एन्सेलोट्टी नै पाँच पटकको विश्वविजेता टोलीको प्रशिक्षकका रूपमा निरन्तर रहने पुष्टि गरेको छ।

इटालीका लागि १२६ खेल खेलेका पूर्व डिफेन्डर माल्दिनीले यसै साताको अन्त्यसम्म नयाँ प्रशिक्षक नियुक्त गर्ने लक्ष्य भए पनि सबैभन्दा उपयुक्त व्यक्ति छनोट गर्नु नै प्राथमिकता रहेको बताए।

इटालीको समाचार संस्था ला गाजेट्टा डेल्लो स्पोर्ट का अनुसार ग्वार्डिओलाले वार्षिक दुई करोड युरो (करिब १ करोड ७० लाख पाउन्ड) पारिश्रमिक मागेका छन्। उक्त पारिश्रमिक इटालीले प्रस्ताव गरेको रकमको दोब्बर हो।

यसबारे सोधिएको प्रश्नमा माल्दिनीले भने,‘यस विषयमा अहिले के भइरहेको छ भन्नेबारे हामीसँग कुनै नयाँ जानकारी छैन।’

५५ वर्षीय ग्वार्डिओलाले म्यानचेस्टर सिटीमा १० वर्षको अवधिमा ६ वटा प्रिमियर लिग, ३ वटा एफए कप, ५ वटा लिग कप र १ वटा च्याम्पियन्स लिग उपाधि जिताएका थिए।

इटालीको राष्ट्रिय टोलीको प्रशिक्षक पदका लागि पूर्व प्रशिक्षक एन्टोनियो कोन्टे, रोबर्टो मान्चिनी तथा पूर्व मिडफिल्डर आन्द्रेआ पिर्लोको नाम पनि चर्चामा रहेको छ।

प्रकाशित: ८ साउन २०८३ ७:५४ | Friday, July 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast