लुम्बिनीमा एनपीएलका लागि अनुबन्धन भए अलराउन्डर शामीम हुसेन

हिमाल प्रेस ६ कार्तिक २०८३ २१:०१ | Friday, October 23, 2026
4
SHARES
लुम्बिनीमा एनपीएलका लागि अनुबन्धन भए अलराउन्डर शामीम हुसेन

काठमाडौँ– लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी सिजनका लागि बंगलादेशका प्रतिभाशाली ब्याटिङ अलराउन्डर शामीम हुसेनलाई टोलीमा अनुबन्ध गरेको छ। बायाँहाते आक्रामक ब्याटिङ र आवश्यक पर्दा अफ स्पिन बलिङ गर्न सक्ने क्षमता भएका हुसेनले लायन्सको ब्याटिङ लाइनअपलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

हुसेनले सन् २०२० मा बंगलादेशलाई आईसीसी यू–१९ विश्वकपको उपाधि दिलाउने टोलीको सदस्यका रूपमा आफ्नो क्रिकेट यात्रा अघि बढाएका थिए। युवा क्रिकेटमा उत्कृष्ट प्रदर्शनपछि उनले बंगलादेशको राष्ट्रिय टोलीमा स्थान बनाउँदै अन्तर्राष्ट्रिय क्रिकेटमा समेत आफ्नो क्षमता प्रदर्शन गरेका छन्।

टी–२० क्रिकेटमा आक्रामक ब्याटिङका लागि परिचित हुसेनले बंगलादेशका लागि सन् २०२१ मा जिम्बाब्वेविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए। डेब्यु शृङ्खलामै उनले तेस्रो खेलमा केवल १५ बलमा अविजित ३१ रन बनाउँदै बंगलादेशलाई जित दिलाउन महत्वपूर्ण योगदान दिएका थिए। उनले सन् २०२३ मा अफगानिस्तानविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि डेब्यु गरेका थिए।

घरेलु तथा फ्रेन्चाइज क्रिकेटमा समेत हुसेनको प्रदर्शन उल्लेखनीय रहेको छ। बंगलादेश प्रिमियर लिग (बीपीएल) को सन् २०२४–२५ सिजनमा चिट्टागङ किङ्सबाट खेल्दै उनले ३५२ रन बनाएका थिए।

उक्त सिजनमा उनले करिब १६० को स्ट्राइक रेटमा ब्याटिङ गर्दै टोलीलाई फाइनलसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका थिए। उनको आक्रामक ब्याटिङ शैली, छिटो रन बनाउने क्षमता र प्रभावशाली फिल्डिङले उनलाई टी–२० क्रिकेटमा उपयोगी खेलाडी बनाएको छ।

ब्याटिङसँगै दायाँहाते अफ स्पिन बलिङ गर्न सक्ने हुसेनले टोलीलाई अतिरिक्त बलिङ विकल्प पनि प्रदान गर्छन्। मध्यक्रममा आक्रामक ब्याटिङ गर्दै खेलको गति परिवर्तन गर्न सक्ने उनको क्षमताले लुम्बिनी लायन्सलाई कठिन परिस्थितिमा समेत महत्वपूर्ण योगदान दिन सक्ने अपेक्षा गरिएको छ।

प्रकाशित: ६ कार्तिक २०८३ २१:०१ | Friday, October 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast