फाइल तस्बिर
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी कात्तिक ११ गतेदेखि कात्तिक १५ गतेसम्म वर्षा हुने अनुमान गरेको छ।
खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणाली चक्रवात (आँधी) मा परिणत हुने र त्यसको प्रभाव नेपालमा पनि पर्ने भएको छ ।
महाशाखाले जारी गरेको ‘पोष्ट मनसुन विशेष मौसम बुलेटिन-१’ अनुसार बिहान ५:४५ बजे पूर्वमध्य तथा आसपासको दक्षिणपूर्वी बंगालको खाडीमा न्यून चापीय क्षेत्र विकसित भएको छ।
उक्त प्रणाली क्रमशः बलियो हुँदै आगामी सोमबारसम्ममा शक्तिशाली चक्रवातमा परिणत हुने पूर्वानुमान गरिएको छ। यो चक्रवात पश्चिम-उत्तरपश्चिम दिशातर्फ सर्दै भारतको उत्तर आन्ध्र प्रदेश तथा आसपासको दक्षिण ओडिशा तटबाट जमिनमा प्रवेश गर्ने सम्भावना रहेको विभागले जनाएको छ।
भारतीय तट हुँदै अघि बढ्ने उक्त मौसमी प्रणालीको असर नेपालमा भने कार्तिक ११ गतेदेखि कात्तिक १५ गतेसम्म पर्ने अनुमान गरिएको छ। यद्यपि, यस प्रणालीले नेपालमा कति मात्रामा वर्षा गराउँछ वा जोखिमको स्तर कस्तो हुन्छ भन्ने कुरा अहिल्यै यकिन गर्न सकिने अवस्था नरहेको महाशाखाले स्पष्ट पारेको छ।
मौसममा आउन सक्ने सम्भावित प्रतिकूलताका कारण विशेषगरी कृषि र पर्यटन क्षेत्रमा प्रत्यक्ष असर पर्न सक्ने देखिएको छ। बाली भित्र्याउने समयमा मौसम बिग्रन सक्ने सम्भावना रहेकाले कृषक तथा पर्यटकहरूलाई सम्भावित जोखिमप्रति पूर्वसतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
हाल मौसम विज्ञान विभागले उक्त मौसमी प्रणालीको निरन्तर अनुगमन गरिरहेको जनाएको छ। प्रणालीको विकास र त्यसले पार्ने असरबारे आवश्यकता अनुसार थप सूचना अद्यावधिक गर्दै जाने विभागले जनाएको छ।




