जुम्ला– जुम्लाका किसानलाई यो याममा बर्खे बाली भित्र्याउन चटारो परेको छ।
दसैँको रौनक सकिनै लाग्दा हिमाली जिल्ला जुम्लाका किसानहरुलाई भने पाकेको कोदो, धान, फापर, सिमी र मकै लगायतका बाली भित्र्याउन भ्याइनभ्याइ भएको तिला गाउँपालिका–८ का वडाध्यक्ष आसे बस्नेतले बताए।
मौसम सफा भएकाल पाकेको बाली थन्क्याउन अहिले यहाँका किसान खेतबारीमा काममा व्यस्त रहेका छन्। दसैँभन्दा पनि किसानहरुलाई बाली भित्र्याउने कार्यलाई प्राथमिकता परेको वडाध्यक्ष बस्नेतको भनाइ छ।
बडादसैँ ठूलो चाड भए पनि बाली पनि यति नै बेला पाकेको कारण चाड मनाउने र बाली थन्क्याउने काम सँगसँगै गर्नुपरेको तातोपानी गाउँपालिका–४ का किसान अप्सरा पाण्डेको भनाइ छ।
यतिबेला जिल्लाका अधिकांश किसान पाकिसकेको बाली घरमा भित्र्याउन बिहानदेखि बेलुकासम्म काममा खटिरहेको देखिन्छ।
यतिबेला फापर, कोदो, सिमी, भटमास, आलुलगायतका बाली थन्क्याउने कामको चटारोमा किसान रहेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले बताए।




