विश्वकपको इतिहासमै पहिलो हाफटाइम शोमा जस्टिन बिबर, शकिरा र म्याडोनाको मुख्य प्रस्तुति रहनेछ भने बीटीएस र बर्ना ब्वाय पनि प्रस्तुति दिन मञ्चमा उत्रनेछन्। तस्बिर : बीबीसी
फुटबल खेलको हाफटाइम सामान्यतया दर्शकहरूले पेय पदार्थ वा खाजा लिन, शौचालय जान वा साथीहरूसँग रेफ्रीको निर्णय तथा खेलाडीहरूको प्रदर्शनबारे छलफल गर्ने समय मानिन्छ।
तर यस वर्षको स्पेन र अर्जेन्टिनाबीच हुने फिफा विश्वकप फाइनलमा प्रतियोगिताको इतिहासमै पहिलोपटक भव्य हाफटाइम शो आयोजना हुँदैछ। यस कार्यक्रममा म्याडोना, शकिरा, बीटीएस र जस्टिन बिबरसहितका विश्वप्रसिद्ध कलाकारहरूले प्रस्तुति दिनेछन्।
तर यो नयाँ प्रयोगले खेल सुरु हुनुअघि नै खेलजगतमा विवाद निम्त्याएको छ। किनभने अन्तर्राष्ट्रिय फुटबल संघ बोर्डको नियमअनुसार हाफटाइम अधिकतम १५ मिनेटको हुनुपर्ने व्यवस्था छ। तर यसपटक सांगीतिक कार्यक्रमका कारण विश्राम अवधि करिब २५ मिनेटसम्म लम्बिने अपेक्षा गरिएको छ।
न्यु जर्सीमा हुने भव्य कार्यक्रम
आइतबार राति अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुने यो कार्यक्रमलाई फिफाले खेल, संगीत र विश्वव्यापी प्रभावको संगममा आधारित ऐतिहासिक उत्सवका रूपमा वर्णन गरेको छ।
गत वर्ष सोही स्टेडियममा सम्पन्न फिफा क्लब विश्वकप फाइनलमा पनि २४ मिनेट लामो हाफटाइम शो आयोजना गरिएको थियो। कोल्डप्ले, जे बाल्भिन, डोजा क्याट र टेम्सले प्रस्तुति दिएका थिए।
अमेरिकामा फुटबल लोकप्रिय बनाउन नयाँ रणनीति
विश्वकपभर अमेरिकाबाट रिपोर्टिङ गरिरहेकी खेल पत्रकार बेट्टी ग्लोभरका अनुसार अमेरिकामा फुटबलप्रतिको आकर्षण विस्तारै बढिरहेको छ। उनले बीबीसीसँग भनिन्,‘अमेरिकामा फुटबल मुख्य खेल होइन, तर मानिसहरूसँग कुरा गर्दा धेरैले यस खेललाई अपनाउन थालेको महसुस हुन्छ।’
विश्वकप फाइनलको हाफटाइम शोको व्यवस्थापन गरिरहेको लाइभ नेसनका जेम्स मासिङले ठूलो खेलकुद कार्यक्रममा दर्शकको अपेक्षा निकै बढिसकेको बताए।
उनका अनुसार खेलकुद उद्योगले निरन्तर नयाँपन ल्याउनुपर्छ किनकि अहिले यो संग्रहालय, थिएटर वा सिनेमा जस्ता अन्य प्रत्यक्ष मनोरञ्जनसँग प्रतिस्पर्धा गरिरहेको छ।
उनले सुपर बाउल र क्लब विश्वकपको हाफटाइम शोमा पनि काम गरिसकेका छन्। मासिङको भनाइमा सांगीतिक प्रस्तुति थपिँदा फाइनल साँच्चिकै विशेष अवसरजस्तो महसुस हुन्छ।
उनले यस वर्ष च्याम्पियन्स लिग फाइनलअघि द किलर्सको प्रस्तुति स्मरण गर्दै भने,‘त्यस बेला स्टेडियमको ऊर्जा चरम अवस्थामा पुगेको महसुस भएको थियो।’
फुटबल समर्थकहरू भने सन्तुष्ट छैनन्
बेलायती फुटबल कन्टेन्ट क्रिएटर एलिस प्लाटेन भने यो प्रयोगका पक्षमा छैनन्। उनले विश्वकपमा लागू गरिएको हाइड्रेसन ब्रेक र हाफटाइम शो दुवैको आलोचना गरे। उनले भने,‘विश्वकप फाइनल संसारकै सबैभन्दा धेरै हेरिने खेल हो। यसलाई आकर्षक बनाउन यस्ता अतिरिक्त कार्यक्रम आवश्यक छैनन्। स्टेडियममा रहेका समर्थकहरू हाफटाइम सकिनासाथ फेरि खेल सुरु होस् भन्ने प्रतीक्षामा हुन्छन्।’
२८ वर्षीय प्लाटेनले पछिल्लो एक महिनादेखि आयोजक देशहरूमा पुगेर विश्वकपका खेलहरू प्रत्यक्ष हेर्दै आएका छन्। उनले भने,‘यो लामो हाफटाइमले खेलमा कस्तो असर पार्छ भन्ने हेर्न उत्सुक छु।’
खेलाडीको स्वास्थ्यमा असर पर्ने चिन्ता
आईफ्याबले विगतमा हाफटाइम १५ मिनेटभन्दा बढी बनाउने प्रस्ताव अस्वीकार गर्दै खेलाडी लामो समय निष्क्रिय रहँदा चोट लाग्ने जोखिम बढ्ने तर्क दिएको थियो। प्लाटेन भन्छन्,‘खेलाडीको सुरक्षालाई ध्यान दिएर त हाफटाइममै परिवर्तन (सब्स्टिच्युसन) गर्नुपर्ने अवस्था आउन सक्छ।’
उनले व्यंग्य गर्दै थप भने,‘उनीहरू ‘जस्टिन बिबरलाई स्टेजमा ल्याऔँ’ भन्ने सोचिरहेका छन् तर विश्वकप फाइनल खेलिरहेका मेस्सी अझ महत्त्वपूर्ण हुन्।’
फुटबललाई हाफटाइम शो आवश्यक छैन’
पत्रकार ग्लोभर पनि हाफटाइम शोप्रति पूर्ण रूपमा विश्वस्त छैनन्। उनले भनिन्,‘यसपटकको विश्वकप निकै अमेरिकी शैलीको देखिन्छ। यहाँ प्रसारणका क्रममा यति धेरै विज्ञापन आउँछन् कि खेल विश्लेषण गर्नसमेत समय हुँदैन।’
तर आयोजक जेम्स मासिङले भने खेलको गुणस्तरमा कुनै सम्झौता नहुने दाबी गरे। उनका अनुसार खेलको पवित्रता र खेलाडीको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता हो।
क्रिस मार्टिनको संयोजन, बर्ना ब्वायको प्रस्तुति
फिफाका अनुसार विश्वकप फाइनलको सांगीतिक कार्यक्रम कोल्डप्लेका गायक क्रिस मार्टिनले संयोजन गरेका हुन्।यस कार्यक्रममा नाइजेरियाली गायक बर्ना ब्वाय पनि सहभागी हुनेछन्।
फिफाले कलाकारहरूले कुनै पारिश्रमिक नलिने र कार्यक्रमबाट संकलित रकम शिक्षा कोषमा योगदान गरिने जनाएको छ।
अमेरिकी खेल संस्कृतिको प्रभाव बढ्दै
यस विश्वकपभर विभिन्न सेलिब्रिटीहरू खेल मैदानमा देखिएका छन्। कसैले खेलको बल मैदानमा ल्याएका छन् भने कसैले दर्शकदीर्घाबाट हात हल्लाउँदै दर्शकलाई अभिवादन गरेका छन्। अमेरिकी फुटबलको सुपर बाउलमा सन् १९६७देखि नै हाफटाइम शो हुँदै आएको छ।
युरोपमा भने यस्तो परम्परा निकै ढिलो सुरु भयो। यूईएफए च्याम्पियन्स लिगमा पहिलो सांगीतिक प्रस्तुति करिब १० वर्षअघि मात्रै थपिएको थियो भने ब्रिटिश ग्रान्ड प्रिक्सले तीन वर्षअघि सिल्भरस्टोनमा एफ-१ सँगै सांगीतिक कार्यक्रम समावेश गर्न थालेको हो।
सन् २०२५देखि युरोपका विभिन्न शहरमा आयोजना हुने अन्तर्राष्ट्रिय एनएफएल खेलहरूमा पनि विशेष हाफटाइम शो समावेश गरिएको छ।
अब घरेलु फुटबलमा पनि हाफटाइम शो आउला?
जेम्स मासिङका अनुसार खेलहरू विश्वव्यापी बन्दै जाँदा ती केवल खेल मात्र नभई विशेष अवसर र मनोरञ्जनमूलक कार्यक्रमका रूपमा विकास हुँदैछन्।
तर एलिस प्लाटेनलाई फिफाको यो कदमपछि घरेलु फुटबलमा समेत हाफटाइम शो सुरु हुने चिन्ता छ। यसलाई उनी अनावश्यक ठान्छन्।
उता बेट्टी ग्लोभर भने अर्को विश्वकपका आयोजक स्पेन, पोर्चुगल र मोरक्कोमा यस्तो अवधारणा लागू हुनेमा विश्वस्त छैनन्।
उनको निष्कर्ष छ, मनोरञ्जनले फुटबलको मूल भावना र खेलको गुणस्तरमा असर नगरी नयाँ समर्थक आकर्षित गर्न सक्छ भने त्यसलाई सकारात्मक रूपमा लिन सकिन्छ।

