एन्फामाथिको प्रतिबन्ध छिट्टै हट्छ: खेलकुदमन्त्री

हिमाल प्रेस ११ मंसिर २०८३ २१:३९ | Friday, November 27, 2026
एन्फामाथिको प्रतिबन्ध छिट्टै हट्छ: खेलकुदमन्त्री

काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाली फुटबलको विकास, संरचनागत सुधार र व्यावसायिक विस्तारका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। उनले अखिल नेपाल फुटबल संघ (एन्फा) माथिको प्रतिबन्ध पनि छिट्टै हट्ने विश्वास व्यक्त गरेका छन्।

मन्त्री पोखरेलका अनुसार केही दिनअघि थाइल्यान्डमा फिफा र एसियाली फुटबल महासंघका नेतृत्वसँग नेपाली फुटबलको भविष्य, संरचनागत सुधार तथा विकासका विषयमा सकारात्मक छलफल भएको थियो।

अन्तर्राष्ट्रिय फुटबल जगतको चासो र सहयोगले नेपाली फुटबललाई व्यवस्थित तथा व्यावसायिक बनाउने प्रयासमा थप उत्साह मिलेको उनले बताएका छन्।

नेपाल फुटबल लिगमा तीन नयाँ क्लब थपिएसँगै प्रतियोगितामा सहभागी हुने १० वटै क्लबको टुंगो लागेको पनि मन्त्री पोखरेलले जानकारी दिएका छन्। उनका अनुसार निजी क्षेत्रको सहकार्यमा अघि बढिरहेको लिगले सात प्रदेशका १० सहरलाई फुटबलमार्फत जोडेको छ।

यस प्रयासले नेपाली फुटबललाई थप व्यावसायिक, प्रतिस्पर्धात्मक र व्यवस्थित बनाउन नयाँ आधार तयार गर्ने मन्त्री पोखरेलको विश्वास छ।

त्यस्तै, सरकारले सञ्चालन गर्ने सहिद स्मारक लिगलाई पनि नयाँ ढंगले अघि बढाउने तयारी भइरहेको उनले बताएका छन्। आगामी वर्षदेखि मल्टिभेन्यु अवधारणामा देशका विभिन्न स्थानमा लिग सञ्चालन गर्ने सरकारको योजना रहेको उनको भनाइ छ।

मन्त्री पोखरेलले नेपाल प्रिमियर लिगको सफलतापछि दशौं राष्ट्रिय खेलकुदको उत्साह नेपाली खेलकुदमा देखिएको उल्लेख गर्दै अब उक्त ऊर्जा फुटबलमा समेत विस्तार गर्नुपर्ने बताएका छन्।

प्रकाशित: ११ मंसिर २०८३ २१:३९ | Friday, November 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast