‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ विमोचन, लोकतन्त्रबारे बहस

हिमाल प्रेस ११ मंसिर २०८३ २१:३५ | Friday, November 27, 2026
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ विमोचन, लोकतन्त्रबारे बहस

ललितपुर- नेपालको लोकतान्त्रिक अभ्यास, नागरिक अधिकार, मानवअधिकार, सुशासन तथा सार्वजनिक उत्तरदायित्वका सवाललाई उठान गरिएको पुस्तक ‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ विमोचन गरिएको छ।

समाचार संस्था मास नेपाल र गोदावरी साहित्य परिषद्को संयुक्त आयोजनामा शुक्रबार जनभावना क्याम्पस, चापागाउँमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार प्रा. पुरुषोत्तम दाहाललगायतले पुस्तक विमोचन गरेका हुन्।

पुस्तक विमोचनसँगै लोकतन्त्रका अभ्यास, उपलब्धि, चुनौती र नागरिक जीवनमा लोकतन्त्रको अनुभूतिबारे विमर्शसमेत गरिएको थियो।

मानव आवाज अनलाइनका सम्पादक तथा मानवअधिकार पत्रकार रमेशप्रसाद तिमल्सिनाद्वारा लिखित पुस्तकमा विभिन्न समयमा लेखिएका लोकतन्त्र, नागरिक अधिकार, मानवअधिकार, सामाजिक न्याय, राज्यको जबाफदेहिता, सुशासन तथा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित ३० लेख समेटिएका छन्। पुस्तक पाँच खण्डमा विभाजित छ।

वरिष्ठ पत्रकार प्रा. दाहालले लोकतन्त्र जीवन भएको बताउँदै लोकतन्त्र गाउँगाउँमा पुग्न बाँकी रहेकाले प्रश्नको घेरामा रहेको बताए। भूमि र जनताको सार्वभौमिकता सुनिश्चित नभएसम्म लोकतन्त्र पर्याप्त हुन नसक्ने उनको भनाइ थियो।

अरूको आचरणमा मात्रै लोकतन्त्र खोजेर नहुने बताउँदै दाहालले आफ्नै आचरणमा लोकतान्त्रिक मूल्य स्थापित गर्नुपर्नेमा जोड दिए।

कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले पठन संस्कृति कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै अध्ययन र पठन संस्कृतिको विकासमा जोड दिए। लोकतन्त्र कागजमा मात्रै सीमित हुँदासम्म प्रश्नको घेराबाट बाहिर निस्कन नसक्ने उनको भनाइ थियो।

कोञ्ज्योसोम प्रज्ञा प्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने बताए। घरभित्रको व्यवहार र सम्बन्धमा समेत लोकतान्त्रिक मूल्य आवश्यक रहेको उनले उल्लेख गरे।

अधिकारकर्मी भावना भट्टले लोकतन्त्रलाई निर्वाचनमा मात्रै सीमित गरिन नहुने बताइन्। लोकतन्त्र घरघरको व्यवहारमा स्थापित हुनुपर्ने भन्दै उनले लोकतन्त्र भाषण वा विषय मात्रै नभई नागरिकले प्रत्याभूत गर्ने व्यवस्था हुनुपर्ने बताइन्।

जनभावना क्याम्पसका सहायक क्याम्पस प्रमुख गोविन्द सञ्जेलले लोकतन्त्रमा आफूहरू कहाँ छौँ भन्ने खोजी गर्ने समय आएको बताए। ज्ञानको खोजीका क्रममा लेखकले लोकतन्त्र प्रश्नको घेरामा परेको अवस्थालाई खुट्याएको उनको भनाइ थियो। असहमतिलाई सहन सक्ने धीरता नै लोकतान्त्रिक संस्कार भएको उनले बताए।

गोदावरी साहित्य परिषद्का अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष वशिष्ठ अधिकारीले प्रश्न गर्न सक्ने हैसियत र उत्तर दिन सक्ने सामर्थ्य भए मात्रै लोकतन्त्रको अनुभूति हुने बताए।

लेखक तिमल्सिनाले पुस्तक प्रकाशित लेखहरूको सँगालो मात्र नभई आफ्नो समय, समाज, राज्य र लोकतान्त्रिक अभ्यासमाथि गरिएका प्रश्न तथा टिप्पणीहरूको अभिलेख पनि भएको बताए।

लोकतन्त्र कागजमा होइन, नागरिकको जीवनमा अनुभूत हुने व्यवस्था भएको भन्दै उनले संविधानमा लेखिएका अधिकार व्यवहारमा स्थापित गर्ने, कानुनलाई शासनको आधार बनाउने र राज्यलाई नागरिकप्रति जबाफदेही बनाउने निरन्तर प्रयास नै लोकतन्त्र बलियो बनाउने बाटो भएको बताए।

तिमल्सिना तीन दशकदेखि पत्रकारिता, मानवअधिकार तथा सामाजिक न्यायका क्षेत्रमा क्रियाशील छन्।

प्रकाशित: ११ मंसिर २०८३ २१:३५ | Friday, November 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast