सन् २०२६ को फिफा विश्वकप फुटबलको फाइनल खेल उत्कृष्ट फुटबलका कारणभन्दा पनि मैदानबाहिर भएका असामान्य घटनाका कारण लामो समयसम्म सम्झिने खालको बनेको छ।
अमेरिकाको न्यु जर्सीस्थित स्टेडियममा भएको फाइनलमा स्पेनले अतिरिक्त समयमा फेरान टोरेसको निर्णायक गोलमा अर्जेन्टिनालाई १-० ले पराजित गर्दै दोस्रो पटक विश्वकपको उपाधि जित्यो।
तर खेलभन्दा बढी चर्चा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिदेखि लिएर सुपर बाउल शैलीको हाफटाइम शो, हलिउड अभिनेता टम क्रुजको सम्बोधन र चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुतिले पायो।
ट्रम्पको उपस्थितिले बढायो चर्चा
अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरेको यस विश्वकपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सुरुदेखि नै विभिन्न अभिव्यक्ति र निर्णयका कारण चर्चामा थिए।
उनले यसअघि फिफा अध्यक्ष जियानी इन्फान्टिनोसँग अमेरिकी स्ट्राइकर फोलारिन बालोगुनको रातो कार्डबारे पुनरावलोकन गर्न आग्रह गरेको खुलासा गरेका थिए। त्यसपछि बालोगुनमाथिको प्रतिबन्ध हटाइएपछि थप विवाद सिर्जना भएको थियो।
यद्यपि ट्रम्प प्रतियोगिताभर कुनै पनि खेल हेर्न पुगेका थिएनन्। उनी पहिलो पटक फाइनलका लागि मात्र स्टेडियम पुगेका हुन्।
उनको आगमन पनि विशेष रह्यो। तीनवटा हेलिकोप्टरले स्टेडियममाथि चक्कर लगाएपछि ट्रम्पको हेलिकोप्टर अवतरण गरेको थियो। उनले फिफा अध्यक्ष इन्फान्टिनोसँगै दर्शकदीर्घामा बसेर समापन समारोह अवलोकन गरे भने पहिलो हाफमा विश्वकप ट्रफी पनि अवलोकन गरेका थिए।
विश्वकप इतिहासकै सबैभन्दा लामो हाफटाइम
यसपटकको फाइनलको अर्को मुख्य आकर्षण सुपर बाउल शैलीमा गरिएको हाफटाइम शो रह्यो। सामान्यतया १५ मिनेट हुने विश्रामलाई बढाएर २७ मिनेट पुर्याइएको थियो। म्याडोना, बीटीएस, कोल्डप्ले, आधिकारिक विश्वकप गान ‘डाइ डाइ’ गाएकी शकिरा तथा जस्टिन बिबरले प्रस्तुति दिएका थिए।
टेड लासो र उनका सहायक प्रशिक्षक बियर्डबाट प्रेरणादायी सन्देश पाएपछि बिबरले एकाउस्टिक गिटारमा ‘एभ्रिथिङ हालेलुयाह’ प्रस्तुत गरेका थिए। यद्यपि हाफटाइम शोप्रति दर्शकहरूको प्रतिक्रिया मिश्रित रह्यो। पूर्व इंग्ल्यान्ड स्ट्राइकर वेन रुनीले भने यसको खुलेर आलोचना गरे।
उनले भने,‘मलाई त यो बिल्कुलै मन परेन। प्रस्तुति राम्रो थिएन, समय व्यवस्थापन पनि ठीक भएन। फुटबललाई फुटबलकै रूपमा हुन दिनुपर्थ्यो।’
टम क्रुजको विशेष सम्बोधन
खेल सुरु हुनुअघि आयोजित समापन समारोहमा हलिउड अभिनेता टम क्रुजले विशेष सम्बोधन गरेका थिए। त्यसपछि रोबी विलियम्स र निकोल शेर्जिङ्गरको सांगीतिक प्रस्तुतिसँगै उद्घाटन समारोह सम्पन्न भएको थियो।
ट्रफी वितरणमा पनि ट्रम्प केन्द्रमा
खेल सकिएपछि ट्रम्पले फिफा अध्यक्ष इन्फान्टिनोसँगै विजेता र उपविजेता टोलीका खेलाडीलाई पदक वितरण गरे। गत वर्ष क्लब विश्वकपको फाइनलमा चेल्सीलाई ट्रफी हस्तान्तरण गरेपछि ट्रम्प मञ्चमै लामो समय बसेका कारण आलोचना भएको थियो। यसपटक पनि उनी ट्रफी हस्तान्तरणका क्रममा केही समय मञ्चमै देखिए तर अघिल्लो पटकजस्तो लामो समय बसेनन्।
ट्रफी वितरणका क्रममा ट्रम्प र इन्फान्टिनो मञ्चमा आउँदा केही दर्शकले हुटिङ गरेका थिए। अर्जेन्टिनाका डिफेन्डर क्रिस्टियन रोमेरोले पनि पदक लिएपछि ट्रम्पसँग हात नमिलाई सीधै अघि बढेको दृश्य चर्चाको विषय बन्यो।
कडा सुरक्षा, लामो लाइन
अमेरिकी राष्ट्रपतिको उपस्थितिका कारण सुरक्षाको सम्पूर्ण जिम्मेवारी अमेरिकी सिक्रेट सर्भिसले लिएको थियो। दर्शकका लागि खेल सुरु हुनुभन्दा चार घण्टा अगाडि नै स्टेडियमका ढोका खोलिए पनि कडा सुरक्षा जाँच, प्रवेशद्वारबारे अन्योल तथा झोला परीक्षणका कारण हजारौं दर्शक र सञ्चारकर्मीले लामो समय लाइनमा बस्नुपरेको थियो। पछि भीड व्यवस्थापन सहज बन्दै गएपछि निर्धारित समयमै खेल सुरु गरिएको थियो।

