काठमाडौँ- सरकारले विपद्सम्बन्धी कार्यलाई थप व्यवस्थित बनाउन केही नेपाल ऐन संशोधन गर्ने तयारी गरेको छ।
यसका लागि गृह मन्त्रालयले ‘विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ तयार पारेको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
विधेयकमा गम्भीर प्रकृतिको विपद्मा मृत्यु भएका व्यक्तिको शव खोजतलास, भण्डारण तथा परिवारलाई हस्तान्तरण गर्ने व्यवस्था समेटिएको छ।
बेपत्ता हुने व्यक्तिका परिवारलाई उपलब्ध गराउनुपर्ने न्यूनतम राहत तथा बेपत्ता व्यक्ति फेला नपरेमा मृत्युको न्यायिक घोषणा गर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ।
गृह मन्त्रालयले विधायन ऐन, २०८१ बमोजिम उक्त विधेयकबारे सूचना प्रकाशित गर्दै सर्वसाधारणसँग सुझाव मागेको छ।
सूचना प्रकाशन भएको सात दिनभित्र legalsectionmoha@gmail.com मा इमेलमार्फत सुझाव पठाउन मन्त्रालयले आग्रह गरेको छ।



