पोखरा- मौलिक देउसीभैलो उत्सव तथा प्रतियोगितामा ११ टिमलाई पछि पार्दै पुन समाज पोखरा प्रथम बनेको छ।
पोखरा पर्यटन परिषद्, पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा तथा पर्यटन प्रवर्द्धन शाखा र पब्लिक फोके टेलिभिजनको संयुक्त आयोजनामा लेकसाइडमा सम्पन्न प्रतियोगितामा प्रथम हुँदै पुन समाज पोखराले २५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गरेको हो।
प्रतियोगितामा सहभागी ११ वटै टिमले परम्परागत भेषभूषामा सजिएर नेपाली मौलिक भाका, शब्द, लय र तालमा देउसीभैलो प्रस्तुत गरेका थिए।
मौलिकता, परम्परागत भाका, शब्द, लय, ताल, भेषभूषा तथा सांस्कृतिक प्रस्तुतिका आधारमा टिमहरूको मूल्यांकन गरिएको थियो। फेवाताल किनारमा गाईपूजाकै दिन आयोजित कार्यक्रमले उत्सवको रौनक थपेको थियो।
प्रतियोगितामा सहभागी सबै टिमलाई नेपाली परम्पराअनुसार दानदक्षिणासहित बिदाइ गरिएको थियो। उनीहरूलाई चामल, फलफूल, सेलरोटी, पाँच हजार ५५५ रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।
नेपाली मौलिक लोकसंस्कृति तथा परम्परागत देउसीभैलोको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले उत्सव आयोजना गरिएको हो।
कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले गरेकी थिइन्। उनले नेपाली मौलिक कला, संस्कृति र परम्परा पछिल्लो समय ओझेलमा पर्दै गएको भन्दै यसको संरक्षणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताइन्।
नेपाल पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेलले नेपाली चाडपर्व र सांस्कृतिक परम्परालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सके पर्यटन प्रवर्द्धनमा थप सहयोग पुग्ने बताए।
पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले मौलिक देउसीभैलोको संरक्षणसँगै पोखराको सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले उत्सव आयोजना गरिएको बताए।
त्यस्तै, पब्लिक फोके टेलिभिजनका प्रबन्ध निर्देशक मन क्षेत्रीले पहिलोपटक आयोजना गरिएको उत्सव सबैको साथ र सहयोगले सफल भएको भन्दै आभार व्यक्त गरे।
पोखरा प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति पदमराज ढकाल प्रतियोगिताका मुख्य निर्णायक थिए।



