फोटोग्राफीको युग सकिएको हो?

हिमाल प्रेस २४ कार्तिक २०८३ १८:४९ | Tuesday, November 10, 2026
फोटोग्राफीको युग सकिएको हो? दोलखाको गौरीशङ्कर गाउँपालिका–४ स्थित झ्याँकुका किसानकाो खेतमा फुलेको तोरी र पृष्ठभूमिमा देखिएको गौरीशङ्कर हिमाल। तस्बिर : रासस

लामो समयदेखि हामी तस्बिरहरूको बाढीमा यसरी डुबेका छौँ कि समाजमा तिनले पारेको प्रभावबारे एकछिन रोकिएर सोच्नसमेत कठिन भइसकेको छ। तस्बिरहरू अस्तित्वमा नआएको समयको कल्पना गर्नु त झन् परको कुरा हो। तपाईंले आफ्नो स्मार्टफोन हेरिरहनुभएको छैन भने पनि संसारभरका दृश्य अभिलेख त्यहीँ छन्, प्रतीक्षारत छन् र कृत्रिम बुद्धिमत्ता (एआई) ले तिनमा काम गरिरहेको छ।

आगामी वर्ष फोटोग्राफीबारे कम्तीमा एकपटक गम्भीर भएर सोच्ने अवसर हुनुपर्छ किनभने यसको दुई सयौँ वार्षिकोत्सव मनाउने तयारी भइरहेको छ। फोटोग्राफीसम्बन्धी विश्वकै विशाल वार्षिक मेला तथा यस क्षेत्रका सरोकारवालाहरूको अन्तर्राष्ट्रिय जमघट ‘पेरिस फोटो’ले पनि यो अवसर मनाउनेछ।

क्यामेराबाट खिचिएको अहिलेसम्म सुरक्षित सबैभन्दा पुरानो तस्बिर फ्रान्सेली जोसेफ निसेफोर निएप्सले तयार पारेको ‘भ्यु फ्रम अ विन्डो एट ले ग्रा’ हो। सन् १८२६ वा १८२७ मा खिचिएको यो तस्बिरलाई हिलियोग्राफ भनिन्छ। तर फोटोग्राफीको डेढ सयौँ वार्षिकोत्सव मनाइएको समय सम्झन धेरै पछाडि फर्किनुपर्दैन। त्यो उत्सव पचास वर्षअघि होइन, सन् १९८९ मा व्यापक रूपमा मनाइएको थियो।

फोटोग्राफीको आविष्कारबारे सन् १८३९ जनवरी ७ मा फ्रान्सेली जनतालाई औपचारिक रूपमा जानकारी गराइएको थियो। त्यसको केही समयपछि विलियम हेनरी फक्स टाल्बटले केही भिन्न प्रक्रियाबाट तस्बिर बनाउने विधि प्रस्तुत गरेपछि बेलायतमा पनि यसबारे घोषणा गरियो। सन् १९८९ मै लन्डनस्थित रोयल एकेडेमीले पहिलोपटक फोटोग्राफीका लागि आफ्ना ढोका भव्य प्रदर्शनीसहित खुला गरेको थियो। त्यस वर्ष विश्वका विभिन्न ठाउँमा यस्तै प्रदर्शनी आयोजना गरिए। तर अहिले हामी फोटोग्राफीको दुई सयौँ वार्षिकोत्सव मनाउने तयारीमा छौँ।

फोटोग्राफीको इतिहासमा यस्तो अन्योल सधैँ रहँदै आएको छ। यो अभ्यास र प्रविधिको एउटा अस्पष्ट तथा निरन्तर विकसित हुँदै गएको क्षेत्र हो, जसलाई परिभाषित गर्न कहिल्यै सजिलो भएन। यसको थालनी नै धुमिल छ, भविष्य अनिश्चित छ र यसको अस्थिर यात्रामा यसलाई पटकपटक मृत घोषणा गरिएको छ।

सन् १८९५ मा चलचित्र आयो। प्रश्न उठ्यो- चल्न सक्ने तस्बिर हुँदा स्थिर तस्बिर किन चाहियो? त्यसपछि सन् १९२९ मा ध्वनिसहितको चलचित्र आयो- बोल्न सक्ने तस्बिर हुँदा मौन तस्बिर किन चाहियो? टेलिभिजन, घरमै भिडियो हेर्ने प्रविधि, फोटोसप, इन्टरनेट र अहिले एआईले पनि फोटोग्राफीलाई विस्थापित गर्ने वा कम्तीमा कमजोर बनाउने प्रयास गर्दै आएका छन्।

फोटोग्राफी अझै जीवित छ, किनभने यसको मूलमा एउटा अत्यन्त सरल, अनन्त सम्भावना बोकेको र केही हदसम्म जादुमय विशेषता छ। आफ्नो स्मार्टफोनमा एकपटक नजर लगाउनुहोस्। निश्चय नै यो विश्वव्यापी सञ्जाल र गणितीय सूत्रमा आधारित प्रविधिको अद्भुत नमुना हो तर यसको एउटा कुनामा लेन्स पनि छ। पर्दा छुनुहोस् र प्रकाशसँगै संसारको दृश्य त्यहाँ प्रवेश गर्छ। फोटोग्राफीका प्रारम्भिक अग्रदूतहरूले यो प्रविधिलाई तत्कालै चिन्न सक्थे। प्रविधिमा जति परिवर्तन र नयाँ सम्भावना थपिए पनि क्यामेराले दृश्यलाई हाम्रो आँखाको दृष्टिसँग यति नजिक ल्याउन सक्ने क्षमताले नै फोटोग्राफीलाई आकर्षक बनाएको छ।

फोटोग्राफरका लागि कम्तीमा पनि स्थिरता र मौनताको महत्त्व हुन्छ। जीवनको कोलाहल र निरन्तर प्रवाहबाट एउटा क्षण छान्न सकिन्छ। यही क्षण, यही आयताकार दृश्य। तर स्थिरता र मौनताकै कारण फोटोग्राफी अनन्त उपयोगिता र सम्भावना भएको माध्यम पनि बनेको छ। तस्बिरमा लेखाइ वा आवाज थपेर त्यसलाई आफैँले गर्न नसक्ने काम गराउन सकिन्छ। कथा भन्न, विचार र वस्तु बेच्न, कलाको स्वरूप दिन वा प्रमाणका रूपमा प्रस्तुत गर्न सकिन्छ। प्रशंसा गर्न वा निन्दा गर्न सकिन्छ। सामान्य मानिएको कुरालाई सही ठहर्‍याउन वा त्यसलाई चुनौती दिन सकिन्छ। स्मृतिलाई जगाउन वा त्यसको ठाउँसमेत लिन सकिन्छ।

बीसौँ शताब्दीको ठूलो हिस्सामा फोटोग्राफीले दृश्य संस्कृतिमाथि प्रभुत्व जमाएको थियो तर सन् १९६० को दशकको अन्त्यसम्म आइपुग्दा यसको प्रभाव कमजोर देखिन थालिसकेको थियो। मानिसहरू समाचार र मनोरञ्जनका लागि टेलिभिजन हेर्न थालेका थिए। चित्रसहितका पत्रपत्रिकाको प्रभुत्वको युग अन्त्य हुँदै थियो। अमेरिकामा लाखौँ प्रति बिक्री हुने र तस्बिरले भरिएको साप्ताहिक पत्रिका ‘लाइफ’ ले सन् १९३६ देखि १९७२ सम्मको ३६ वर्षमै अमेरिकी जनमानसमाथिको आफ्नो बलियो पकड गुमाएर प्रकाशन बन्द गर्नुपर्‍यो। फोटोग्राफी पूर्ण रूपमा अप्रासङ्गिक हुने अवस्था त थिएन, तर यसको प्रभाव घट्न थालिसकेको थियो।

प्रभाव गुमाएका माध्यमहरू प्रायः सबैभन्दा रोचक हुन्छन्। संस्कृतिको केन्द्रबाट विस्थापित भएपछि फोटोग्राफीलाई धेरै कला सङ्ग्रहालयले गम्भीरतापूर्वक लिन थाले। विश्वविद्यालयमा यसलाई कला, व्यापार र सांस्कृतिक घटनाका रूपमा अध्ययन गर्न थालियो। पहिले प्रयोग गरेर फ्याँकिने पत्रिकामा छापिएका तस्बिरहरू अब कफी टेबलमा राखिने पुस्तक र महत्त्वपूर्ण सङ्ग्रहमा सुरक्षित हुन थाले।

लन्डनमा सन् १९७१ मा ‘द फोटोग्राफर्स ग्यालरी’ र न्युयोर्कमा सन् १९७४ मा ‘इन्टरनेसनल सेन्टर अफ फोटोग्राफी’ स्थापना भए। यी संस्थाले फोटोग्राफीलाई कलाका रूपमा मात्र होइन, वृत्तचित्र, फोटो पत्रकारिता, फेसन, विज्ञान, विज्ञापन र पारिवारिक तस्बिरसहित यसका अन्य सबै भूमिकामा प्रस्तुत गरे।

उपनिवेशवाद र उपभोक्तावाददेखि पृथ्वीको अवस्था र हाम्रो पहिचानको प्रकृतिसम्मका विषय निर्माण र विघटन गर्न फोटोग्राफीले केन्द्रीय भूमिका खेलेको छ।

सन् १९६७ मा सञ्चारमाध्यमका अध्येता मार्सल म्याकलुहानलाई टेलिभिजनको ठाउँ कुन माध्यमले लिनेछ भनेर सोधिएको थियो। उनले आफूलाई थाहा नभएको बताए पनि त्यसमा टेलिभिजन समावेश हुने र त्यसलाई कलाको स्वरूपमा समेत रूपान्तरण गर्ने माध्यम आउनेमा विश्वस्त रहेको बताएका थिए। उनको अनुमान सही साबित भयो। इन्टरनेटमा टेलिभिजन र फोटोग्राफी दुवै समेटिएका छन्। यसले तिनको विगतलाई स्रोत सामग्रीका रूपमा उपलब्ध गराउँछ। सञ्चार प्रविधिहरूले पुराना माध्यमलाई पूर्ण रूपमा विस्थापित मात्र गर्दैनन्; तिनलाई आफूभित्र समेट्छन् र सँगसँगै अस्तित्वमा पनि रहन्छन्। फोटोग्राफीको हकमा पनि यही भएको छ। पछिल्ला दृश्य प्रविधिले यसलाई आफूभित्र समेटेका छन्, तर यसको स्वतन्त्र अस्तित्व पनि कायम छ।

अब क्यामेरालाई पछ्याइरहेको पछिल्लो भूत एआईबारे के भन्न सकिन्छ? फोटोग्राफीका लागि एआईका सबैभन्दा उपयोगी दिन बितिसकेका छन्। छोटो समयका लागि खोज इन्जिनहरूले हामीले इन्टरनेटमा राखेका एआईपूर्वका सामूहिक तस्बिर सङ्ग्रहबाट सामग्री सङ्कलन गरिरहेका थिए। अहिले भने एआईले बनाएका कृत्रिम दृश्यहरू इन्टरनेटभरि छरिएका छन् र तिनले तस्बिरको मौलिक स्रोतलाई नै दूषित बनाएका छन्। एउटा प्रतिलिपिबाट अर्को प्रतिलिपि बनाउने क्रम चलिरहेको छ।

एउटा झिँगाले आफ्नो अगाडिको खानेकुरामाथि बान्ता गरिरहेको कल्पना गर्नुहोस्। त्यसको रसले खानेकुरालाई टुक्र्याउँछ र झिँगाले त्यो मिश्रण निल्छ। त्यसपछि फेरि बान्ता गर्छ र यही प्रक्रिया दोहोर्‍याउँछ। हरेकपटक खानेकुराको गुणस्तर घट्दै जान्छ। अन्ततः झिँगा उडेर जान्छ।

एआई र फोटोग्राफीबीचको सम्बन्ध मोटामोटी यस्तै छ। तर तपाईंको स्मार्टफोनमा क्यामेरा नहुने दिन एआईले पूर्ण विजय हासिल गरेको मानिनेछ र त्यस्तो दिन तत्काल आउनेवाला छैन।

फोटोग्राफीको आविष्कारबारे पहिलोपटक घोषणा हुँदा अतिरञ्जित प्रतिक्रियास्वरूप चित्रकलाको मृत्यु भएको घोषणा गरिएको थियो। मानिससँग आँखा र हात छन्, चित्र बनाउनु रमाइलो पनि छ, त्यसैले मानिसले चित्र बनाउन जारी राख्नेछन् भन्ने कुरा छिट्टै स्पष्ट भयो। त्यसपछि चित्रकलालाई यथार्थको प्रतिनिधित्व गर्ने बोझबाट मुक्त भएको घोषणा गरियो। त्यो बोझ फोटोग्राफीको काँधमा आएको ठानिएको थियो। तर कुनै माध्यम स्वतन्त्र छ भने त्यसले जे पनि गर्न पाउँछ। त्यसैले अमूर्त चित्रकलासँगै आकृतिमूलक चित्रकलाले पनि आफ्नो अस्तित्व सहजै कायम राख्यो। त्यसैगरी फोटोग्राफी स्वतन्त्र छ भन्नुको अर्थ फोटोग्राफरले चाहे एआईसँग काम गर्न सक्छन्, चाहे त्यसलाई बेवास्ता गरेर आफ्नै तरिकाले काम जारी राख्न सक्छन्।

के एआईले फोटोग्राफीको ‘सत्य’माथि प्रश्न उठाउँछ? उठाउँछ पनि, उठाउँदैन पनि। अदालतको चिम्नीबाट एउटा परम्परागत क्यामेराले खिचेको तस्बिर खसाल्दैमा त्यसले आफैँ कसैलाई दोषी वा निर्दोष साबित गर्दैन। त्यसको पक्षमा अदालतभित्र कसैले बोल्नुपर्छ।

प्रकाशित: २४ कार्तिक २०८३ १८:४९ | Tuesday, November 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast