काठमाडौँ- धनुषाको ढल्केबरमा निर्माण गर्ने निर्णय भएको ट्रमा सेन्टर अन्यत्र सार्न लागिएको भन्दै नेपाली कांग्रेसका सांसद डा.चन्द्रमोहन यादवले शुक्रबार प्रतिनिधिसभामा मौन विरोध जनाएका छन्। उनले सरकारको निर्णयको विरोधस्वरूप दिनभर सदनमा उभिएर मौन बस्ने घोषणा गरेका हुन्।
प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद यादवले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले ढल्केबरमा निर्माण हुने भनिएको ट्रमा सेन्टर अन्यत्र सार्न खोजेको आरोप लगाए। उनले जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको र प्रक्रिया अघि बढिसकेको आयोजना स्थानान्तरण गर्न खोजिनु स्वीकार्य नभएको बताए।
यादवका अनुसार ट्रमा सेन्टर निर्माणका लागि अघिल्ला सरकारले क्रमशः २० करोड रुपैयाँ र त्यसपछि थप २ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेका थिए। बजेट सुनिश्चित भइसकेको आयोजना राजनीतिक वा अन्य स्वार्थका कारण सार्न खोजिएको उनको आरोप छ।
सरकारले निर्णय फिर्ता नलिएसम्म आफ्नो विरोध जारी रहने चेतावनी दिँदै यादव सदनमा उभिएर मौन बसेका थिए। सभामुख डोलप्रसाद अर्यालले पटकपटक आसन ग्रहण गर्न आग्रह गरे पनि यादवले त्यसलाई अस्वीकार गर्दै विरोध जारी राखे।
यसक्रममा सभामुख अर्यालले सांसद यादवको मागबारे सरकारको धारणा सार्वजनिक गर्न निर्देशन दिँदै सरकारलाई रुलिङ गरेका छन्। उनले ढल्केबर ट्रमा सेन्टर स्थानान्तरणसम्बन्धी विषयमा यथार्थ जानकारी सदनलाई गराउन सरकारलाई आग्रह गरेका हुन्।


