तराईमा शिक्षक विद्यार्थीको अनुपात मिलाउन माग

हिमाल प्रेस १४ असोज २०८३ १६:५९ | Wednesday, September 30, 2026
24
SHARES
तराईमा शिक्षक विद्यार्थीको अनुपात मिलाउन माग

काठमाडौँ- प्रतिनिधिसभाको शून्य समयमा सांसदहरूले जलवायु न्याय, बाढीपहिरो, सडक तथा पूर्वाधार मर्मत, किसान तथा मजदुरका समस्या, बजार नियमन, कालोधन नियन्त्रणलगायत विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

बैठकमा राजेशकुमार चौधरीले तराईमा शिक्षक विद्यार्थीको अनुपात मिलाउन माग गरे। मोहनलाल आचार्यले कपिलवस्तुमा कृषि क्याम्पस र मेडिकल कलेज स्थापना गर्नुपर्ने बताए। यज्ञबहादुर बोगटीले अछाम जिल्ला अस्पतालको अक्सिजन प्लान्ट मर्मत गर्न सरकारको ध्यानाकर्षण गराए। रामाकान्तप्रसाद चौरासियाले मधेस प्रदेश प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मी र आवश्यक उपकरण थप्न माग गरे।

वसुमाया तामाङ, मदनकृष्ण श्रेष्ठ र मधुकुमार चौलागाईंले भोटेकोशी बाढी प्रभावितलाई राहत उपलब्ध गराउने, व्यवस्थित सहर निर्माण गर्ने तथा बेपत्ताको खोजीलाई तीव्रता दिनुपर्ने बताए। भरतप्रसाद पराजुलीले मेलम्ची विपद् प्रभावितलाई क्षतिपूर्ति उपलब्ध गराउने काम कार्यान्वयन गर्न तथा बैंकको ऋणको किस्ता मिनाहा वा समय थप गर्न माग गरे।

राजन गौतम, रुकेश रञ्जित र रुविना आचार्यले बाढीपहिरोबाट क्षतिग्रस्त सडक तथा ढल निकासको मर्मत र वैकल्पिक मार्ग निर्माणमा जोड दिए। मिङ्मा ग्याल्बु शेर्पाले हिम्लुङ हिमालमा बेपत्ता नागरिकको खोजीलाई तीव्र पार्न माग गरे।

जलवायु न्यायको विषयमा बिना गुरुङ, माधवबहादुर थापा र रत्नाकुमारी थापाले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले गरेको सम्बोधनको प्रशंसा गर्दै नेपालले जलवायु न्याय तथा किसानका मुद्दामा दृढताका साथ आवाज उठाउनुपर्ने बताए।

किसान तथा मजदुरका समस्या पनि सांसदहरूले उठाए। बुद्धिप्रसाद पन्तले हिमाल आइरनका मजदुरले नौ महिनादेखि नपाएको पारिश्रमिक उपलब्ध गराउन माग गरे। रवीन्द्र पटेलले रौतहटका उखु किसानको बक्यौता भुक्तानी गराउन र राधिका रम्तेलले मजदुरको सामाजिक सुरक्षा तथा ज्याला वृद्धि गर्न सरकारको ध्यानाकर्षण गराए। भीमकुमारी बुढामगरले स्वर्गद्वारी गुठीका मोहीको समस्या समाधान गर्न आवश्यक कानुन बनाउन माग गरिन्।

यातायात तथा पूर्वाधारका विषयमा मञ्जु भुसालले रु ३५ अर्ब लगानीमा निर्माण भएको गौतम बुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन नसकेको विषयमा प्रश्न उठाइन्। मनीष खनालले हुलाकी सडक निर्माण छिटो सम्पन्न गर्न र महेन्द्रबहादुर शाहीले दसैँतिहारका बेला कर्णालीका नागरिकलाई सहज यात्राको व्यवस्था मिलाउन माग गरे।

बजार नियमनको विषयमा भरत गिरीले राजमार्गका होटलमा खाना तथा मूल्यको प्रभावकारी नियमन गर्न, रमेश प्रसाईंले आन्तरिक हवाई भाडा नियन्त्रण तथा नियमन गर्न माग गरे। यज्ञमणि न्यौपाने र युवराज दुलालले कालोधन नियन्त्रणका लागि नोटबन्दी गर्न सरकारसँग माग गरे।

यसैगरी भूमिका श्रेष्ठले अल्पसङ्ख्यक लैङ्गिक समुदायका लागि बजेट वृद्धि गर्न, मनीष झाले नदी किनारमा थुप्रिएका बालुवा तथा काठको व्यवस्थापन गर्न र रञ्जु न्यौपानेले क्षतिग्रस्त मिन भवन क्याम्पसको पुनःनिर्माण गर्न माग गरे।

रजनी श्रेष्ठले रोजगार मेला सातै प्रदेशमा विस्तार गर्न सुझाव दिइन् भने रिमा विश्वकर्माले कानुन निर्माणको गुणस्तरमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराइन्।

प्रकाशित: १४ असोज २०८३ १६:५९ | Wednesday, September 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast