काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाडौँ गोर्खाजलाई ५५ रनले पराजित गर्दै प्रतियोगिताको सुखद् अन्त्य गरेको छ। कीर्तिमानी ब्याटिङ र धारिलो बलिङ प्रदर्शन गरेको पोखराले काठमाडौँलाई हराउँदै अंक तालिकामा सातौं स्थान हासिल गरेको हो।
पोखराले दिएको २२५ रनको विशाल लक्ष्य पछ्याएको काठमाडौँ १९ ओभरमा १६९ रनमै समेटियो। काठमाडौँका लागि साहित पटेलले ३४ र राशिद खानले ३१ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।
पोखराको जितमा दिनेश खरेल नायक बने। उनले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए । बिपिन खत्रीले ३ विकेट झारे भने रमेश मेन्डिस, सन्नी विक र युवराज सम्राले समान १ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ३ विकेट गुमाएर २२४ रन बनाएको थियो। यो एनपीएल इतिहासकै सर्वाधिक योगफल हो। यसअघि विराटनगर किंग्सले पोखराविरुद्ध २२० रन बनाएको थियो।
पोखराको कीर्तिमानी योगफलमा कुशल भुर्तेल र युवराज सिंह सम्राको योगदान महत्वपूर्ण रह्यो। दुवैले दोस्रो विकेटका लागि १८६ रनको कीर्तिमानी साझेदारी गरे। यो एनपीएल इतिहासकै सबैभन्दा ठूलो साझेदारी हो।
शतक बनाउन एक रनले चुकेका कुशलले ५१ बलमा ८ चौका र ८ छक्कासहित ९९ रन बनाए। युवराजले ५५ बलमा ८ चौका र ५ छक्काको मद्दतमा ८९ रन जोडे। दुवैको आक्रामक ब्याटिङमा पोखराले एनपीएलमा नयाँ कीर्तिमान कायम गर्यो।
यससँगै पोखरा एउटै सिजनमा दुई पटक २०० भन्दा बढी रन बनाउने पहिलो टोलीसमेत बनेको छ। यसअघि उसले कर्णाली याक्सविरुद्ध २१७ रन बनाएको थियो।
काठमाडौँका कप्तान करण केसीले १९औं ओभरमा कुशल र युवराज दुवैलाई आउट गरे। करणले २ विकेट लिँदा जहानदाद खानले १ विकेट हात पारे।
जवाफमा ब्याटिङ गरेको काठमाडौँले सुरुवातमै विकेट गुमाएको थियो। भिम शार्की १२ रनको अवस्थामा आउट भए। त्यसपछि साहित पटेल र विलियम बोसिस्टोले दोस्रो विकेटका लागि ६० रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरे।
तर दिनेश खरेलले पटेल र बोसिस्टो दुवैलाई आउट गर्दै काठमाडौँलाई दबाबमा पारे। पटेलले ३४ र बोसिस्टोले २६ रन बनाए। सहान अराचिगे १ रनमा आउट भएपछि काठमाडौँ ८६ रनमा ५ विकेट गुमाउने अवस्थामा पुग्यो।
त्यसपछि राशिद खान र जहानदाद खानले ४४ रनको साझेदारी गरे पनि टोलीलाई जितसम्म पुर्याउन सकेनन्। जहानदादले २४ र राशिदले ३१ रन बनाए। अन्तिमतिर सोनु देवकोटाले युवराज सम्राको एकै ओभरमा लगातार चार छक्का प्रहार गर्दै २९ रन बनाए पनि काठमाडौंको हार टार्न सकेनन्।
यस जितसँगै पोखराले सात खेलबाट चार अंक जोड्दै सातौं स्थानमा लिग यात्रा टुंग्याएको छ। यसअघि नै प्लेअफ दौडबाट बाहिरिएको पोखराले अन्तिम खेलमा कीर्तिमानी प्रदर्शन गर्दै प्रतियोगिताबाट बिदा लिएको हो।
हारसँगै काठमाडौँ गोर्खाजले तेस्रो स्थानमा चित्त बुझाउनुपरेको छ। सात खेलमा चार जित र तीन हारसहित आठ अंक जोडेको काठमाडौँले अब बुधबार चितवन राइनोजसँग एलिमिनेटर खेल्नेछ।
लिगको शीर्ष स्थानमा रहेको साविक विजेता लुम्बिनी लायन्सले ११ अंक र दोस्रो स्थानको सुदूरपश्चिम रोएल्सले १० अंक जोड्दै पहिलो क्वालिफायरमा स्थान बनाएका छन्। यी दुई टोलीबीच मंगलबार पहिलो क्वालिफायर हुनेछ।



