काठमाडौँ- शिक्षण सिकाइ अनुदान शिक्षक केन्द्रीय समितिले सरकारले सार्वजनिक गरेको बजेट तथा नीतिमा आफ्ना सेवासुविधासम्बन्धी मागहरू बेवास्ता गरिएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ। समितिले माग सम्बोधन नभए देशभर कार्यरत अनुदान शिक्षकहरू सामूहिक राजीनामा दिन बाध्य हुने चेतावनी दिएको छ।
समितिद्वारा जारी विज्ञप्तिमा शिक्षण सिकाइ अनुदानमा कार्यरत शिक्षकहरूले लामो समयदेखि सामुदायिक विद्यालयमा विज्ञान, गणित र अंग्रेजी जस्ता विषय अध्यापन गर्दै राष्ट्रिय शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याए पनि उनीहरूको सेवा, समर्पण र मेहनतको उचित मूल्यांकन हुन नसकेको उल्लेख गरिएको छ।
सरकारले सार्वजनिक गरेको बजेट तथा नीतिमा अनुदान शिक्षकहरूको तलब वृद्धि, महँगी भत्ता र प्रोत्साहन भत्तालगायतका आधारभूत मागहरू सम्बोधन नगरिएकाले शिक्षकहरूमा गहिरो निराशा र असन्तुष्टि बढेको छ।
समितिले सम्बन्धित निकायले यथाशीघ्र जायज मागहरू सम्बोधन गरी सम्मानजनक सेवासुविधा सुनिश्चित गर्नुपर्ने माग गरेको छ।
अन्यथा देशभरका शिक्षण सिकाइ अनुदान शिक्षकहरू सामूहिक रूपमा राजीनामा दिन बाध्य हुने अवस्था सिर्जना हुन सक्ने चेतावनी दिइएको छ।
शिक्षकहरूको मनोबल उच्च राख्न र गुणस्तरीय शिक्षाको आधार मजबुत बनाउन सरकारसँग तलब वृद्धि, महँगीभत्ता तथा प्रोत्साहन भत्तालगायतका माग तत्काल सम्बोधन गर्न आग्रह गरिएको छ।
केन्द्रीय समितिले संघीय शिक्षण सिकाइ अनुदानमा कार्यरत सम्पूर्ण शिक्षकहरूलाई सरकारबाट सकारात्मक निर्णय नभएसम्म सामूहिक राजीनामाको तयारी अवस्थामा रहन पनि आह्वान गरेको छ।


