काठमाडौँ- सामुदायिक विद्यालयका शिक्षकहरूले शुक्रबार (१ साउन) देखि बढेको तलब पाउने भएका छन्।
सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरेको १० प्रतिशत आधारभूत तलब वृद्धि र कार्यसम्पादनमा आधारित १० प्रतिशत प्रोत्साहन भत्ता शुक्रबारदेखि कार्यान्वयनमा आउने भएको हो।
सरकारले निजामती कर्मचारीसँगै शिक्षक, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा अन्य सार्वजनिक सेवामा कार्यरत कर्मचारीको तलब पनि समान अनुपातमा वृद्धि गरेको छ। यससँगै देशभरका सामुदायिक विद्यालयका शिक्षकहरूले पनि बढेको तलब सुविधा पाउने भएका हुन्।
शिक्षकको आधारभूत तलब १० प्रतिशतले बढेको छ। कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ताको व्यवस्था गरिएकाले समग्र पारिश्रमिकमा करिब २१ प्रतिशतसम्म वृद्धि भएको सरकारको दाबी छ।
सरकारले नयाँ तलबमानको विस्तृत विवरण भने पछि सार्वजनिक गर्ने जनाएको छ। शिक्षकका विभिन्न तह र श्रेणीअनुसार तलब निर्धारण हुने भए पनि वृद्धि निजामती कर्मचारीकै अनुपातमा लागू हुनेछ।
यसअघि २०७९ सालमा १५ प्रतिशत तलब वृद्धि गरिएपछि शिक्षक तथा अन्य सरकारी कर्मचारीको तलब तीन वर्षसम्म बढेको थिएन। गत वर्ष भने सरकारले सबै सरकारी कर्मचारीलाई मासिक ५ हजार रुपैयाँ महँगी भत्ता उपलब्ध गराएको थियो।
यसैबीच, सरकारले गठन गरेको उच्चस्तरीय तलब सुविधा आयोगले साढे तीन वर्षअघि नै न्यूनतम तलब ३५ हजार रुपैयाँ बनाउन सिफारिस गरेको थियो।
आयोगले तलबसँगै घरभाडा, जीवन बीमा र कर्मचारी कल्याणकारी सुविधासमेत विस्तार गर्न सुझाव दिएको थियो। तर आयोगका अधिकांश सिफारिस अझै पूर्ण रूपमा कार्यान्वयन हुन सकेका छैनन्।
राष्ट्र बैंकको पारिवारिक बजेट सर्वेक्षण र त्यसपछिको मूल्यवृद्धिको आधारमा अहिले चार सदस्यीय परिवारको न्यूनतम मासिक खर्च करिब २८ हजार ४४९ रुपैयाँ पुग्ने अनुमान गरिएको छ।
काठमाडौँ उपत्यकामा यो खर्च ३४ हजार ६५१ रुपैयाँसम्म पुग्ने आयोगको प्रतिवेदनमा उल्लेख छ।


