काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको आयोजनामा प्रदेश अध्यक्ष तथा जिल्ला अध्यक्षहरूको सहभागितामा विद्यालय कर्मचारीहरूको बैठक शनिबार सम्पन्न भएको छ। बैठकमा हालै सम्पन्न आन्दोलनको समीक्षा गर्दै आगामी आन्दोलनका कार्यक्रमबारे विस्तृत छलफल गरिएको छ।
बैठकले आन्दोलनलाई थप सशक्त र संगठित बनाउन जोड दिँदै आगामी कार्यक्रमहरू सार्वजनिक गरिने जानकारी दिएको छ। सबै पदाधिकारी तथा सदस्यहरूलाई एकताबद्ध भई आन्दोलनलाई सफल बनाउन आह्वान गरिएको छ।
प्रतिनिधिले आन्दोलनको पहिलो चरणको समीक्षा गर्दै आगामी दिनमा जिल्लास्तरबाट आवश्यक सहयोग र सहकार्य निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
त्यसैगरी बैठकमा नेपाल विद्यालय कर्मचारी परिषद्को राष्ट्रिय महाधिवेशन आगामी असोज ८, ९ र १० गते लुम्बिनी प्रदेशको दाङ, घोराहीमा गर्ने निर्णय गरिएको छ। महाधिवेशनको आयोजनाको जिम्मेवारी पाएकोमा लुम्बिनी प्रदेश समितिले सबैप्रति आभार व्यक्त गरेको छ।

बैठकले आन्दोलन परिचालन समितिसमेत गठन गरेको छ। समितिका संयोजक देवीराम भुसाल र सदस्य मिनेस श्रेष्ठ लगायत सम्पूर्ण टिमलाई बधाई दिँदै उनीहरूको नेतृत्वमा आन्दोलन थप प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ।
अन्य निर्णयहरू चाँडै आधिकारिक रूपमा सार्वजनिक गरिने परिषद्ले जनाएको छ। बैठकमा शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइराला, नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरी, नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारी, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष हंसबहादुर शाही, संस्थागत विद्यालय शिक्षक युनियनका महासचिव भूपाल उप्रेतीलगायत विभिन्न पेसागत संघसंगठनका पदाधिकारीहरूको उपस्थिति रहेको छ।




