माग पूरा गराउन विद्यालय कर्मचारी सडकमा, आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक

हिमाल प्रेस ८ असार २०८३ १०:५२ | Monday, June 22, 2026
500
SHARES
माग पूरा गराउन विद्यालय कर्मचारी सडकमा, आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक

काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद्ले आफ्ना सेवा, सर्त तथा सुविधासम्बन्धी माग पूरा गराउन दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।

परिषद्को राष्ट्रिय समितिको बैठकले विद्यालय कर्मचारीका माग सम्बोधन गराउन चरणबद्ध आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको हो।

परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीद्वारा जारी विज्ञप्तिअनुसार पहिलो चरणको आन्दोलन सफलतापूर्वक सम्पन्न भएपछि दोस्रो चरणका कार्यक्रम घोषणा गरिएको हो।

घोषित कार्यक्रमअनुसार असार ८ गते देशभरका ७५३ वटै स्थानीय तहमा भौतिक रूपमा ज्ञापनपत्र बुझाइनेछ। असार १० गते शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा ध्यानाकर्षण पत्र बुझाइनेछ भने असार ११ र १२ गते शिक्षा समितिका सदस्यहरूसँग भेटघाट तथा छलफल गरिनेछ।

त्यसैगरी असार १५ गते शिक्षामन्त्री, असार १६ गते अर्थमन्त्री र असार १७ गते प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाइने परिषद्ले जनाएको छ।

असार १८ गते आन्दोलन परिचालन समितिको बैठक बस्ने तथा असार १९ देखि २५ गतेसम्म पूर्व शिक्षामन्त्रीहरूसँग छलफल र बहस गरिने कार्यक्रम तय गरिएको छ।

परिषद्का अनुसार असार २९, ३० र ३१ गते विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना कार्यक्रम सञ्चालन गरिनेछ।

साउन १ गतेसम्म आन्दोलनका सम्पूर्ण चरणबारे नेपाल शिक्षक महासंघलाई जानकारी गराइने जनाइएको छ।

परिषद्ले विद्यालय कर्मचारीका सेवा, सर्त र सुविधासम्बन्धी माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गर्दै आन्दोलनका कार्यक्रमलाई सशक्त रूपमा सफल बनाउन सम्पूर्ण कर्मचारी तथा सरोकारवालासँग सहयोगको अपिल गरेको छ।

प्रकाशित: ८ असार २०८३ १०:५२ | Monday, June 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast