पृथ्वीकी छोरीका रूपमा सीताले प्रकृतिप्रतिको गहिरो सम्बन्धलाई उजागर गर्नुभएको छ : उपराष्ट्रपति

हिमाल प्रेस १२ वैशाख २०८३ ६:३८ | Saturday, April 25, 2026
18
SHARES
पृथ्वीकी छोरीका रूपमा सीताले प्रकृतिप्रतिको गहिरो सम्बन्धलाई उजागर गर्नुभएको छ : उपराष्ट्रपति

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले आधुनिक समाजमा लैङ्गिक समानता, नारी स्वतन्त्रता र आत्मनिर्भरता प्रवर्द्धन गर्न सीताको जीवन उत्तिकै प्रासङ्गिक रहेको बताएका छन् ।

सीता जयन्तीलाई सामाजिक कुरीति, विभेद र हिंसाविरुद्ध जागरण फैलाउने अवसरका रूपमा लिन सक्नुपर्ने उनको भनाइ छ । सीता उत्पत्ति दिवस (सीता जयन्ती), २०८३ को अवसरमा सम्पूर्ण नेपालीहरूमा शुभकामना दिँदै उनले माता सीता सत्य, धर्म र आदर्श नारीत्वको शाश्वत प्रतीक रहेको उल्लेख गरेका छन् ।

‘उहाँको जीवन त्याग, धैर्य, पवित्रता, साहस र समर्पणको अनुपम उदाहरण हो । सीताको चरित्रले नारीको स्वाभिमान, आत्मनिर्णय र कर्तव्यनिष्ठतालाई उजागर गर्दै आएको छ” उपराष्ट्रपतिले सन्देशमा भने “यो जयन्तीले हामीलाई धर्म, सत्य र नैतिकताको मार्गमा दृढ रहन प्रेरणा दिन्छ ।’

माता सीताको जीवनले पारिवारिक सद्भाव, सामाजिक न्याय र लैङ्गिक समानताको महत्वलाई स्मरण गराउने उनको कथन छ ।

उपराष्ट्रपतिले कठिन परिस्थितिमा पनि धैर्य र विश्वास कायम राख्न सकिने उदाहरण प्रस्तुत गर्नुभएको उल्लेख गर्दै उहाँले यस अवसरमा, सीताको आदर्शलाई आत्मसात् गर्दै नारी सशक्तीकरण, पारिवारिक एकता, सामाजिक सद्भाव र सांस्कृतिक संरक्षणमा योगदान पुर्‍याउने संकल्प लिनुपर्ने बताएका छन्।

‘पृथ्वीकी छोरीका रूपमा सीताले प्रकृतिप्रतिको गहिरो सम्बन्धलाई उजागर गर्नुभएको छ । यसले वातावरण संरक्षण, मातृ शक्तिको सम्मान र सामाजिक न्यायको सन्देश दिन्छ’ उपराष्ट्रपतिले सन्देशमा भने ।

उपराष्ट्रपतिले सीता जयन्तीले नारीमाथि हुने शोषण, हिंसा र विभेदको अन्त्य गर्दै सभ्य, शान्त, समुन्नत र समृद्ध समाज निर्माणमा दृढ सङ्कल्पका साथ अघि बढ्ने हौसला प्राप्त होस भन्ने शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित: १२ वैशाख २०८३ ६:३८ | Saturday, April 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast