उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

हिमाल प्रेस ११ असार २०८३ १९:०१ | Thursday, June 25, 2026
8
SHARES
उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग संयुक्त राज्य अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गरेका छन्।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा बिहीबार भएको भेटमा दुवै जनाबीच नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धका विविध आयामबारे विचार–विमर्श भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ।

यस अवसरमा उपराष्ट्रपति यादवले सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै पारस्परिक सम्मान, आपसी समझदारी, विकास सहयोग तथा गहिरो जनस्तरीय सम्बन्धका आधारमा नेपाल र अमेरिकाबीचको सम्बन्ध घनिष्ठ, सौहार्दपूर्ण तथा सहयोगात्मक रहँदै आएको बताए।

लोकतन्त्र, मानव अधिकार र स्वतन्त्रताका साझा मूल्यहरूको सम्मान गर्दै नेपालले अमेरिकासँगको सम्बन्धलाई सधैँ उच्च महत्व प्रदान गर्दै आएको उपराष्ट्रपति यादवले उल्लेख गरे। उनले नेपालको सामाजिक–आर्थिक विकासमा अमेरिकाले दशकौँदेखि पुर्‍याउँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरे।

उपराष्ट्रपति यादवले आगामी वर्ष मनाइने नेपाल–अमेरिका कूटनीतिक सम्बन्ध स्थापनाको ८०औँ वार्षिकोत्सव दुई देशबीचको दीर्घकालीन मित्रता र साझेदारीलाई प्रतिबिम्बित गर्ने एक महत्वपूर्ण कोसेढुङ्गाका रूपमा रहने विश्वास व्यक्त गरे।

साथै, उनले आगामी दिनमा अमेरिकाले नेपालको विकासमा निरन्तर समर्थन र सहयोग जारी राख्ने विश्वास पनि आफूले लिएको बताए।

उपराष्ट्रपति यादवले अमेरिकाको स्वतन्त्रता घोषणापत्रको २५०औँ वार्षिकोत्सवका अवसरमा अमेरिकी सरकार र जनताप्रति बधाई तथा शुभकामना व्यक्त गरे।

भेटका अवसरमा कार्यवाहक राजदूत अर्बमले नेपाल र अमेरिकाबीचको सम्बन्ध दीर्घकालीन, ऐतिहासिक तथा बहुआयामिक रहेको उल्लेख गर्दै यसलाई अझ उच्चस्तरमा पु¥याउन अमेरिका इच्छुक रहेको बताए। उनले नेपालप्रति अमेरिकाको सहयोग निरन्तर जारी रहने प्रतिबद्धता व्यक्त गर्दै नेपालमा सञ्चालन भइरहेका अमेरिकी परियोजना सहज र प्रभावकारी रूपमा अगाडि बढिरहेकामा सन्तोष व्यक्त गरे।

प्रकाशित: ११ असार २०८३ १९:०१ | Thursday, June 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast