सामाजिक चेतना, सांस्कृतिक रुपान्तरण, शिक्षा र नागरिक सक्रियताले मात्र विभेदरहित समाज बन्छ : उपराष्ट्रपति

हिमाल प्रेस २१ जेठ २०८३ ६:२६ | Thursday, June 4, 2026
8
SHARES
सामाजिक चेतना, सांस्कृतिक रुपान्तरण, शिक्षा र नागरिक सक्रियताले मात्र विभेदरहित समाज बन्छ : उपराष्ट्रपति

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार भएको उल्लेख गर्दै यसतर्फ सबै पक्ष सचेत हुन उत्तिकै अपरिहार्य रहेको बताएका छन्।

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस, २०८३ का अवसरमा आज सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरेका छन् ।

उनले भनेका छन्, “नेपालको संविधानले यसलाई दण्डनीय अपराधका रूपमा परिभाषित गर्दै सबै नागरिकलाई समान अधिकार र अवसर प्रत्याभूत गरेको छ तर, कानुनी व्यवस्था मात्रले पुग्दैन, सामाजिक चेतना, सांस्कृतिक रुपान्तरण, शिक्षा र नागरिक सक्रियता पनि उत्तिकै आवश्यक छ ।”

विसं २०६३ जेठ २१ गते नेपाललाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरिएको ऐतिहासिक दिनको स्मरण तथा सम्मानमा हरेक वर्ष मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइन्छ । उपराष्ट्रपति यादवले सामाजिक न्याय, समानता र मानवअधिकार सुनिश्चितताका लागि यो एउटा महत्त्वपूर्ण दिवस भएको उल्लेख गर्दै प्रत्येक नागरिकले समान अवसर पाउनु र सम्मानका साथ बाँच्न पाउनु नै सभ्य समाजको आधार भएको बताए ।

जातीय भेदभाव र छुवाछूतका कारण विगतमा धेरै समुदाय शिक्षा, रोजगारी, आर्थिक अवसर र सामाजिक सहभागिताबाट वञ्चित रहँदै आएको उल्लेख गर्दै उनले संविधानले प्रत्याभूत गरेको अर्को ऐतिहासिक पाटो बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक विशेषतालाई आत्मसात् गरी जातीय छुवाछूत अन्त्य गरी समतामूलक समाज निर्माण गर्ने सङ्कल्पसहित अघि बढ्नु आजको आवश्यकता भएको उपराष्ट्रपति यादवले बताएका छन् ।

यो दिवस केवल संस्मरणका लागि मात्र नभई नेपालमा आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्दै छुवाछूतमुक्त, सभ्य र समतामूलक समाज निर्माण गर्ने हाम्रो दृढ सङ्कल्पको प्रतीक भएको उपराष्ट्रपति यादवको भनाइ छ । दिवसले भेदभावविरुद्धको आवाज बुलन्द गर्दै समानता र न्यायको पक्षमा दृढ रहन तथा समावेशी समाज निर्माणमा योगदान पुर्‍याउन हरेक नागरिकलाई उत्प्रेरित गर्ने उनको विश्वास छ ।

 

प्रकाशित: २१ जेठ २०८३ ६:२६ | Thursday, June 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast