‘अर्नब’ चक्रवातको सम्भावित प्रभावसँग जुध्न कस्तो छ सरकारको तयारी?

हिमाल प्रेस १२ कार्तिक २०८३ १७:४१ | Thursday, October 29, 2026
4
SHARES
‘अर्नब’ चक्रवातको सम्भावित प्रभावसँग जुध्न कस्तो छ सरकारको तयारी?

काठमाडौँ- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले हिमाली क्षेत्रमा उत्पन्न हुने विपद्का प्रभाव अन्य क्षेत्रसम्म फैलिन सक्ने भएकाले समयमै सूचना प्रवाह, पूर्वतयारी र क्षेत्रीय सहकार्यलाई सुदृढ बनाउनुपर्ने बताएका छन्।

थाइल्याण्डको बैंककमा आयोजित ‘सगरमाथादेखि सागरसम्मः श्रृंखलाबद्ध विपद् जोखिमबाट एसिया तथा प्रशान्त क्षेत्रमा उत्थानशीलता सुदृढ गर्न नेपालको भोटेकोशी-त्रिशूली विपद्बाट प्राप्त शिक्षा’ विषयक क्षेत्रीय संवादको मुख्य सत्रमा प्रस्तुतीकरण गर्दै उनले यस्तो बताएका हुन्।

‘जोखिमले हिमालदेखि सागरसम्मलाई जोड्छ। त्यसैले, हाम्रो प्रतिकार्यले हाम्रो विज्ञान, हाम्रा संस्थाहरू र हाम्रा देशहरूलाई जोड्नुपर्छ,’ उनले भने।

‘नेपालको विपद्बाट प्राप्त सिकाइ र हिमाली क्षेत्रमा विपद् जोखिम सुशासन तथा पूर्वतयारीका लागि यसको प्रभाव’ विषयमा प्रस्तुतीकरण गर्दै उप्रेतीले हिमाली क्षेत्रमा हुने परिवर्तनका प्रभाव तत्कालीन स्रोत क्षेत्रभन्दा धेरै टाढासम्म पुग्ने बताए। उनले हिमाली तथा तल्लो तटीय देशहरूबीच सहकार्य बढाउनुपर्नेमा जोड दिए।

विपद् जोखिम न्यूनीकरणका लागि तथ्यांक साझेदारी, संयुक्त जोखिम मूल्यांकन, अन्तरदेशीय पूर्वसूचना प्रणालीको विकास तथा समन्वित पूर्वतयारी आवश्यक रहेको उनको भनाइ थियो। उनले नेपालमा आगामी पुनर्निर्माणका कार्यमार्फत विपद् उत्थानशीलता प्रवर्द्धन गर्न लागिएको जानकारीसमेत दिए।

एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनका क्रममा उक्त क्षेत्रीय संवाद आयोजना गरिएको हो।

यसैबीच, बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको पछिल्लो अवस्था, त्यसको प्रभावबाट नेपालमा उत्पन्न हुन सक्ने प्रतिकूल मौसमी अवस्था तथा प्रतिकार्य तयारीबारे छलफल गर्न विपद् प्रतिकार्य कमाण्ड पोस्टको बैठक बसेको छ।

बैठकमा सम्बन्धित कार्यालयका प्रतिनिधिहरूले मौसममा आउन सक्ने विषमता, बाढीको सम्भावना, पहिरोको जोखिम तथा सडक अवरुद्ध भएमा यातायात सञ्चालन सुचारु गर्न गरिएको तयारीबारे जानकारी गराएका थिए।

नेपाल मौसम विज्ञान विभागका प्रतिनिधि तथा प्रवक्ता विभूति पोखरेलले ‘अर्नब’ चक्रवात नेपाल प्रवेश गर्दा कमजोर भइसकेको भए पनि त्यसको प्रभावस्वरूप देशका विभिन्न स्थानमा वर्षा, हिमपात तथा सामान्य हावाहुरीको सम्भावना रहेको जानकारी दिइन्।

बैठकले जोखिमयुक्त जिल्लामा विपद् जोखिमसम्बन्धी सूचना निरन्तर संकलन तथा अद्यावधिक गर्न, सर्वसाधारणलाई समयमै सुसूचित गर्न र आवश्यक पूर्वतयारी गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। परिस्थिति अनुसार आवश्यक प्रतिकार्यका लागि परिचालित हुन तयारी अवस्थामा रहनसमेत सम्बन्धित सबै निकायलाई आग्रह गरिएको छ।

प्रकाशित: १२ कार्तिक २०८३ १७:४१ | Thursday, October 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast