उत्तर कोरियाले प्रहार गर्‍यो १० ब्यालेस्टिक क्षेप्यास्त्र

हिमाल प्रेस १२ कार्तिक २०८३ १७:१८ | Thursday, October 29, 2026
6
SHARES
उत्तर कोरियाले प्रहार गर्‍यो १० ब्यालेस्टिक क्षेप्यास्त्र तस्बिर : एएफपी/रासस

काठमाडौँ- उत्तर कोरियाले बिहीबार आफ्नो पूर्वी तटतर्फ करिब १० वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ। दुई देशबीच सीमामा तनाव बढिरहेका बेला उत्तर कोरियाले यस्तो कदम चालेको दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन्।

दक्षिण कोरियाली सेनाको संयुक्त प्रमुख समितिका अनुसार उत्तर कोरियाको पूर्वी तटीय सहर वोनसानबाट छोटो दूरीका करिब १० वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरिएका थिए। ती क्षेप्यास्त्रले करिब २५० किलोमिटर (१५५ माइल) दूरी तय गरेका थिए।

दक्षिण कोरियाले आफ्नो सेना पूर्ण रूपमा सतर्क अवस्थामा रहेको र कुनै पनि खतराको जवाफ दिन अमेरिकासँग मिलेर तयार रहेको जनाएको छ।

उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा गएको केही दिनपछि यो क्षेप्यास्त्र परीक्षण भएको हो। किमले गत सप्ताहान्तमा अचानक चीन भ्रमण गरेका थिए। जापानको रक्षा मन्त्रालयले पनि उत्तर कोरियाले सम्भावित रूपमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको पुष्टि गरेको छ।

गत महिना सीमाक्षेत्रमा भएका बारुदी सुरुङ विस्फोटपछि दुई देशबीच तनाव थप चुलिएको थियो। ती विस्फोटमा दक्षिण कोरियाका तीन सैनिक घाइते भएका थिए।

दक्षिण कोरियाले उत्तर कोरियाले सीमाको दक्षिणी क्षेत्रमा बारुदी सुरुङ बिछ्याएको आरोप लगाउँदै माफी माग्न आग्रह गरेको थियो। तर, उत्तर कोरियाले उक्त आरोप अस्वीकार गर्दै आफूलाई उक्साइएमा जवाफी कारबाही गर्ने चेतावनी दिएको थियो।

गत साता उत्तर कोरियाले सीमाक्षेत्रनजिकै लाउडस्पिकरमार्फत प्रचारप्रसार पुनः सुरु गर्ने र नयाँ हतियार तैनाथ गर्ने धम्की दिएको थियो। त्यसपछि दक्षिण कोरियाले सीमासम्बन्धी विवाद समाधान गर्न प्रस्ताव अघि सारेको थियो। तर उत्तर कोरियाले उक्त प्रस्तावबारे अहिलेसम्म कुनै जवाफ दिएको छैन।

प्रकाशित: १२ कार्तिक २०८३ १७:१८ | Thursday, October 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast