काठमाडौँ– ओपनर लोकेश बमको विष्फोटक ब्याटिङमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा कर्णाली याक्ससामु जितका लागि १८७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८६ रनको योगफल तयार पारेको हो। जारी एनपीएलमा बनेको यो सर्वाधिक योगफल हो।
विराटनगरका लागि ओपनर लोकेशले सर्वाधिक ८७ रनको योगदान दिए। उनले ५२ बलमा ३ चौका ९ छक्का प्रहार गरे।
लोकेशले एक रन बनाउँदा सोमपालको बलमा नन्दन यादवले क्याच छोड्दा जीवननदान पाएका थिए। चार रन बनाउँदा कप्तान सोमपालले एलबीडब्लूको अपिल गरे पनि डीआरएसको मद्दतमा नटआउट रहे। लोकेश १६औँ ओभरको पाचौँ बलमा सोमपालकै बलमा कट एन्ड बोल्ड हुन पुगे।
अर्का ओपनर इमरान शेख पाँच रन बनाउँदा मार्क वाटको बलमा क्याच आउट भए। चरिथ असलंका तीन रन बनाउँदा सोमपालको बलमा गुल्सन झाको हातबाट क्याच आउट भए।
चौथो विकेटका लागि लोकेश र एंगेलो म्याथुसले ७१ रनको साझेदारी गरे। २३ बलमा ४ चौका सहयोगमा ३१ रन बनाएका एगंलो सोमपालकै बलमा बोल्डआउट भए।
शेहान जयसूर्या ११ रन बनाउँदा रनआउट भए। १५ बलमा ३ चौका र २ छक्का सहयोगमा २७ रन बनाएका आन्द्रे रसेल सोमपालकै बलमा क्याच आउट भए। बसिर अहदम १३ रनमा अविजित रहे।
कर्णालीका कप्तान सोमपालले चार विकेट लिए। उनले आफ्नो स्पेलमा एक मेडन राख्दै ३३ रन खर्चे। मार्क वाटको नाममा एक विकेट रह्यो।



