अहिलेको गठबन्धन २०८४ सम्म टिक्छ : निधि

हिमाल प्रेस ३ साउन २०८१ १०:२६
10
SHARES
अहिलेको गठबन्धन २०८४ सम्म टिक्छ : निधि

जनकपुरधाम- नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले अहिलेको गठबन्धन २०८४ सम्म टिक्ने बताएका छन्। बिहीबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै निधिले यस्तो बताएका हुन्। ‘अहिलेको गठबन्धन राम्ररी टिक्छ, २०८४ सम्म टिक्छ, यो सरकारलाई हामीले सहयोग गर्छौ,’ उनले भने। निधिले संसदीय प्रणालीमा सबै दलका नेताको आफ्नै विचार, भूमिका र प्रतिस्पर्धा हुने भएकाले आवश्यक्ताअनुसार गठबन्धन बन्नसक्ने जिकिर गरे।

उनले मधेश प्रदेस सरकारका सम्बन्धमा कांग्रेसले चाँडै सरकारमा आफ्ना मन्त्री पठाउने जानकारी दिए। ‘जनमतका मुख्यमन्त्रीलाई कांग्रेसले समर्थन गरेको छ, पार्टीले आफ्ना मन्त्रीहरूलाई चाँडै सरकारमा पठाउँछ,’ निधिले भने। मन्त्रालयका विषयमा भइरहेका बहस र विवादबारे बाहिर आएका कुराहरू असान्दर्भिक रहेको उनको भनाइ थियो। निधिले छलफल र सहमतिबाट मन्त्रालयको टुंगो लगाइने उल्लेख गरे।

‘कुन मन्त्रालय हुने के हुने त्योसब असान्दर्भिक कुरा हुन्, छलफल हुन्छ, छलफलबाट सहमति हुन्छ, मन्त्रालयबारे टुंगो लाग्छ र कांग्रेसबाट को को जाने भन्नेबारे पनि टुंगो लाग्छ,’ उनले भने। जनमत पार्टीका सतिशकुमार सिंह नेतृत्वको सरकारलाई समर्थन गरे पनि मन्त्रालय बाँडफाँडमा टुंगो नलाग्दा कांग्रेस हालसम्म मधेस सरकारमा सामेल भएको छैन।

माओवादी केन्द्रको भागमा रहेको अर्थ मन्त्रालय आफूले पाउनुपर्ने अडानमा जनमत पार्टी सहमत नहुँदा कांग्रेस मधेश सरकारमा सहभागी नभएको हो। नेता निधिले यसपालि सरकारमा मन्त्री भएर योजना नभएकोले सहभागी नभएको प्रष्ट पारे। ‘सरकारमा जाने आफ्नो कुनै योजना र चाहना थिएन, यो सरकारलाई हामीले सहयोग गर्छौं,’ सञ्चारकर्मीहरूको जिज्ञासामा उनले भने।

प्रकाशित: ३ साउन २०८१ १०:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − two =