कांग्रेसमा देउवा पक्ष तितरबितर!

किरण पौडेल २९ भदौ २०८३ १३:३८ | Monday, September 14, 2026
कांग्रेसमा देउवा पक्ष तितरबितर!

काठमाडौँ- नेपाली कांग्रेसका नेता एवं पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले संस्थापन पक्षले तोकेको १५औँ महाधिवेशनमा सहभागी हुने निर्णय गरेपछि कांग्रेसभित्रको शक्ति-समीकरण फेरिन थालेको छ। लामो समयदेखि सभापति शेरबहादुर देउवानिकट मानिँदै आएका खड्का पछिल्लो समय सभापति गगन थापासँग नजिकिएपछि इतरपक्ष कमजोर देखिएको हो।

देउवाका विश्वासिला पात्रका रूपमा रहेका खड्का कार्यवाहक सभापतिसमेत बनेका थिए। अहिले उनले देउवा क्याम्प छाडेर थापा नेतृत्वको महाधिवेशन प्रक्रियामा सहभागी हुने निर्णय गरेका हुन्। खड्कानिकट नेताहरूका अनुसार उनको निर्णयसँगै इतरपक्षमा रहेका नेताहरू पनि तितरबितर हुन थालेका छन्।

थापाले यसअघिको बैठकबाट १४औँ महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्यहरूलाई आगामी महाधिवेशनसम्म पनि सोही हैसियतमा रहने निर्णय गरेपछि इतरपक्षका अधिकांश नेता महाधिवेशनमा सहभागी हुने भएका छन्। ‘हामीमध्ये धेरै नेताहरू महाधिवेशनमा सहभागी हुने तयारीमा छौँ। आज बैठक छ। त्यसपछि नयाँ कुरा आउला,’ खड्कानिकट नेता रामहरि खतिवडाले भने।

कांग्रेस संस्थापन पक्षका नेताहरूका अनुसार खड्काको पक्षबाट देउवानिकट ३१ नेता थापा नेतृत्वको कार्यसमितिमा समाहित हुने तयारीमा छन्।

को-को जाँदै छन् थापा पक्षमा?

तत्कालीन सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, बागमतीका पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, जीवनबहादुर शाही, श्याम घिमिरे, मीनबहादुर विश्वकर्मा, रामहरि खतिवडा, नैनसिंह महर, सीताकुमारी राना, सरस्वती बजिमय, कृष्ण यादव, शान्ति परियार (विक) मानबहादुर नेपाली, राधा घले, गोविन्द भट्टराई, उमेशजंग रायमाझी, ईश्वरी न्यौपाने, सीता गुरुङ, सुशीला थिङ, गणेश लामा, रमा कोइराला पौड्याल, ललितजंग शाही, प्रदीपकुमार सुनुवार, अनिल रुंगटा, माया राई, कान्तिका सैजुवाल, मीनाक्षी झा, कल्पना चौधरी, सरस्वती अर्याल, हरिशरण नेपाली र कृष्ण यादव थापा पक्षमा जान लागेको नेताहरूले बताएका छन्।

यी नेताहरूले शनिबार विज्ञप्ति जारी गर्दै दुवै पक्षका महाधिवेशन स्थगित गर्न अनुरोध गरेका थिए। तर उनीहरूले थापासँग छलफल गरेपछि मात्रै विज्ञप्ति निकालेको संस्थापन पक्षका नेताहरूको दाबी छ।

खड्काको निर्णयसँगै इतरपक्षमा देउवासहित शशांक र शेखर कोइराला देखिएका छन्। शेखर कांग्रेस विभाजन हुन नहुने पक्षमा छन्। विभाजन भए आफू तटस्थ बस्ने तयारीमा रहेको उनीनिकट नेताहरू बताउँछन्।

‘शेखर दाइ तटस्थ बस्न खोज्नुभयो। उहाँसँगका नेताहरू चाहिँ फेरि संस्थापनतिर नै देखा पर्लान् जस्तो छ,’ संस्थापन पक्षका एक नेताले भने, ‘सञ्जय गौतम र सरिता प्रसाई, बलबहादुर केसीसहितका नेताहरू मात्र अहिले देखिएका छन्।’

ती नेताका अनुसार देउवा समूह अब शशांक कोइरालासँग रहने अवस्था बनेको छ।

‘शशांक नै अब इतरपक्षको मूल नेता रहेजस्तो देखिन्छ। खड्काको अभावमा उनले नै गुटको नेतृत्व गर्नुपर्ला जस्तो छ,’ ती नेताले भने।

इतरपक्षका नेताहरूका अनुसार सोमबार नै निर्णायक बैठक बस्दै छ। बैठकपछि थापा पक्षमा जाने र नजाने नेताहरूको टुंगो लाग्नेछ।

कार्यकर्ता तान्ने, नेताहरू छुटाउने रणनीति

१४औँ महाधिवेशनका केन्द्रीय सदस्यहरूलाई स्वतः केन्द्रीय सदस्य कायम गर्ने थापा पक्षको निर्णयले इतरपक्षमा थप चस्को पैदा गरेको छ। पूर्वकेन्द्रीय सदस्यहरूलाई सहज रूपमा महाधिवेशन प्रक्रियामा सहभागी गराउने रणनीतिमार्फत थापा पक्षले कार्यकर्ता र नेता दुवै तान्न खोजेको इतरपक्षका नेताहरूको बुझाइ छ।

‘अब पुराना केन्द्रीय सदस्य त केन्द्रीय सदस्य बनेर जालान्। तर पूर्वपदाधिकारी चाहिँ कुन पदमा जाने त?’ इतरपक्षका एक नेताले भने, ‘मानौँ देउवा-शशांकजस्ता पुराना नेताहरू कुन हैसियतमा गगनसँग जाने त?’ ती नेताका अनुसार अहिलेको शक्ति-संघर्षले कांग्रेस विभाजनको सम्भावना बढाएको छ। ‘सानै भए पनि पार्टी विभाजित हुने निश्चितजस्तै भएको छ,’ उनले भने।

संस्थापन पक्ष भने नेताहरूले महाधिवेशनमा सहभागी हुने निर्णय गर्नुलाई स्वाभाविक मानेको छ। कांग्रेस प्रवक्ता देवराज चालिसेले भने, ‘उहाँहरू कुनै गुटमा समाहित हुनु भएको होइन, चार तारे झन्डा र रूखमा आबद्ध हुन खोज्नुभएको हो।’

इतरपक्षले पूर्वमहामन्त्री शशांक कोइरालालाई संयोजक बनाएर महाधिवेशनको तयारी गरिरहेको छ। तर कांग्रेसमा अहिले संस्थापन र देउवा पक्षले छुट्टाछुट्टै महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेका छन्।

थापा नेतृत्वको संस्थापन पक्षले असोज ३ बाट वडा अधिवेशन सुरु गरी १६-१९ असोजमा केन्द्रीय महाधिवेशन गर्ने प्रक्रिया अघि बढाएको छ। त्यसको प्रतिवादमा देउवा पक्षले असोज १५ बाट वडा अधिवेशन सुरु गरी असोज २१-२३ मा केन्द्रीय महाधिवेशन गर्ने तालिका सार्वजनिक गरेको छ।

प्रकाशित: २९ भदौ २०८३ १३:३८ | Monday, September 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast