अनुभूति

मेरो अनुहारको अन्तरकथा

राजकुमार दिक्पाल २७ भदौ २०८३ १३:५८ | Saturday, September 12, 2026
मेरो अनुहारको अन्तरकथा

‘तपाईँ खासमा किन लाहुर नगएको?’ मलाई सोधिने यस्तो प्रश्नको जवाफ मैले धेरै पटक दिइसकेँ। यस्ता प्रश्न सोध्ने पनि अधिकां‌श लेखक नै छन्।

म वा मेरो अनुहारले कलम समाएकोमा अचम्भित रहेछ, हाम्रो समाज। म एउटा लाहुरेको छोरो, तर म लाहुर गइनँ, यो मेरो आफ्नै रुचि वा स्वतन्त्रता हो।

एकपटक चलचित्रकर्मी नवीन सुब्बाको प्रवचन सुन्ने अवसर पाएको थिएँ, नेपाली अनुहारबारे। उनी भन्दै थिए, ‘दक्षिणतिरबाट नभई उत्तरतिरबाट नेपालमा चलचित्रको अधिक प्रभाव परेको भए नेपालमा सुन्दर अनुहार भनेर कस्तो अनुहारलाई मानिन्थ्यो होला? नेपालमा शासकहरूले मान्ने गरेको देवता पनि धेरैजसो दक्षिणतिरैबाट भित्रिए, उनीहरूको रूपाकृतिमा कुँदिएको आँखा र नाकजस्तै हुनेहरू मात्रै सुन्दर हुने भन्ने भाष्य यहाँ स्थापित हुन पुग्यो।’

सुब्बाले सत्य भने कि कुण्ठा पोखे? यतातिर यसो विचार गरी हेर्छु। आफ्नै अनुभूतिका नाङ्लोमा राखेर उनका भनाइ निफन्ने प्रयास गर्छु। के साँच्चै माछाको जस्तो गोलाकार आँखा र तेलको धाराजस्तो सुलुत्त परेको नाकले मात्रै नेपाली भाष्यमा सुन्दरताको मान्यता प्राप्त गरेको हो? चिम्सा आँखा र थेप्चा नाकहरूले नेपाली सुन्तरतालाई भताभुंग बनाएको छ?

म आफ्नो अनुहारको भूगोल कहिले ऐनाअघि परेर हेर्छु, कहिले आफ्नै हत्केलाले छामेर नाप्छु। तेलको धाराजस्तै सुलुत्त परेको नाक छैन मसँग, मसँग माछाको झैँ गोलागोला आँखा पनि छैनन्। ब्लेडले चिरेजस्ता छन् मेरो आँखा।

धनकुटा नगरवासी मेरा कवि दाजु तुलसी दिवस सानै उमेरमा प्राज्ञ भए। अरूले नपत्याइदेलान् भनेर उनले सानै उमेरदेखि बाक्लो गरी दाह्रीजुँगा पालेर बसे। अब त नपत्याइने डर पनि छैन उनलाई, त्यसैले अहिले सफाचट हुन्छन्, बुढेसकालका यी तन्नेरी कवि।

मलाई पनि घरीघरी दाह्रीजुँगा पालेर कुनै दार्शनिकझैँ गमक्क पर्न मन लाग्छ। तर यस्तो रहर पालेर पनि दाह्रीजुँगा भने पाल्न सकिनँ। मभित्र त्यस्तो हार्मोन छैन, जसका कारण दाह्रीजुँगा पाले पनि म न कार्ल मार्क्सजस्तो देखिन्छु, न बीपी कोइरालाजस्तो। बरु दाह्रीजुँगा पालिहालेँ भने पनि बोकेदाह्रीवाल गोरेबहादुर खपांगीजस्तो मात्रै देखिन्छु। गोरेबहादुरले आफ्नो अनुहारलाई मान्यता दिलाउन जीवनभर लडेको पनि यस प्रसंगमा स्मरणीय छ।

मलाई कपाल छोटो पार्नुपर्छ। पोसाकमा म त्यस्तो सौखिन छैन, प्रायः ‘क्याजुअल’ मा हुन्छु। माथि नै भनिहालेँ, मेरो आँखाको आकृति ब्लेडले चिरेजस्तो छ, नाक पनि तेलको धाराजस्तो सुलुत्त परेको छैन।

मेरो यही अनुहार देखेर सिंहदरबार र उसको मातहतका तालुकदारहरू मसँग आतंकित बनिदिन्छन् र मलाई बारम्बार लखेट्न खोज्छन्। ती कर्के आँखाको सुइरो मेरो मुटुसम्म पुगेर मलाई बेस्सरी घोच्छ। मलाई कताकता आफ्नै अनुहारको अन्तरवस्तुले बिझाइरहेजस्तो लाग्छ। मेरो जिन्दगीका पुलिन्दाहरूमा यस्तै अनुभूतिको प्रशस्तै सँगालोहरू खामिएर बसेका छन्। उहिल्यै नारायणहिटीबाट धोका खाइसकेको मेरो अनुहारले आज पनि बारम्बार सिंहदरबार र शीतल निवाससँग सोधिरहेछ, ‘आखिर मेरो अनुहारमा त्यस्तो के छ?’

नवीन सुब्बाले भनेजस्तै उत्तरतिरबाट नेपालमा सिनेमा भित्रिएको भए, राज्यले दक्षिणतिरबाट देवताहरू आयात नगरेको भए सायद मेरो अनुहारले यसरी बारम्बार लखेटिनुपर्ने थिएन।

****************

त्यो बेला मेरो वृत्ति चल्ने कार्यालय थियो, अनामनगरमा। निक्कै जान्ने सुन्ने भन्ठान्थेँ आफूलाई। देशदुनियाँको ताजा खबर बटुलेर सम्पादक महोदयसमक्ष पेस गर्ने पेसा थियो। अखबारको पानामा नाम छापिँदा आफूलाई देशको चीरपरिचित मान्छे ठान्थेँ। तर यो त मेरो एउटा भ्रान्ति पो रहेछ।

म परेँ पैदल यात्री। इन्जिनले चल्ने चार वा दुईपांग्रे घोडा किनेर चढ्ने क्षमता र सीप दुवै नभएको मान्छे म। त्यसैले सार्वजनिक यातायात वा पैदल यात्रा काठमाडौँ खाल्डोको सडक नाप्ने माध्यम थियो मेरो।

यो सडक यात्रा पनि मेरा लागि आफ्नै अनुहार नियाल्ने ठूलो ऐना बन्यो। त्यो ऐना एउटा विश्वविद्यालय नै साबित भयो भन्दा हुन्छ।

अनामनगरबाट छोटो बाटो हुँदै जब म बबरमहलको सडकतिर निस्कन्थेँ, त्यसबेला बिचमा पर्ने सीडीओ कार्यालयको आँगन छिचोल्न मेरा लागि निक्कै महँगो पर्थ्यो। सीडीओ कार्यालयबाटै राहदानी वितरण हुन्थ्यो।

जब म त्यही बाटो भएर हिँडिरहेको हुन्थेँ, तब हातमा स्टारलाइन डटपेन बोकेका केही मानिस मैतिर झुत्तिएर आउँथे र भन्थे, ‘पासपोर्टको फाराम भर्ने हो?’

उनीहरूको सिकारी आँखा मतिर पर्नुको मूल कारण थियो, ब्लेडले चिरेजस्तो आँखा र तेलको धारा चुहिएजस्तो आकार नपरेको मेरो नाक अर्थात् मेरो अनुहारको भूगोल। सायद उनीहरू ठान्थे, ‘यो मान्छेलाई पासपोर्टको फाराम भर्न आउँदैन।’ उनीहरू मलाई मुर्गा सम्झन्थे फगत मुर्गा!

सस्तो डटपेन बोकेका यस्ता हुल मतिर आएपछि मन्द मुस्कानले ‘होइन होइन’ भन्दै पन्छिएर म आफ्नो बाटो त लाग्थेँ, तर दुई पाइला बढेपछि अघिसम्मको मेरो मन्द मुस्कान ओँठबाट क्षणभरमै गायब भइसकेको हुन्थ्यो। अनि आफ्नै अनुहार छामेर आफैँलाई प्रश्न गर्थेँ, ‘देश दुनियाँको खबर बटुलेर त्यसलाई पठनीय बनाएर प्रस्तुत गर्ने पेसा भएको मान्छे, के तेरो अनुहार एउटा जाबो पासपोर्टको फाराम भर्नेजस्तो पनि लाग्दैन यो समाजलाई?’

आफूले आफैँलाई गरेको यो प्रश्नले असाध्यै मन चिमोटिन्थ्यो।

काठमाडौँको सीडीओ कार्यालयबाट पासपोर्ट बनाउने अधिकार परराष्ट्र मन्त्रालयतिर सरेपछि ठूलो राहत भयो। म ढुक्क भएँ, अब यो गल्लीमा हिँड्दा सिकारी आँखाले पिछा गर्ने छैनन् मलाई; उनीहरू ठेलमठेल गर्दै मुर्गा सम्झेर झुत्तो खेल्न आउने छैनन् म भएतिर।

एकाध वर्ष यसरी नै राहतको सासले फोक्सो भर्दै त्यो गल्ली भएर ओहोरदोहोर गरेँ।

अब अनामनगरबाट मेरो वृत्ति चल्ने कार्यालय तीनकुने सर्‍यो। ओहो, यहाँको अवस्था छ बबरमहलको भन्दा बबण्डर छ! कार्यालयमा प्रवेश गर्नु पनि महाभारतजस्तै छ।

नजिकै रहेछ, श्रम विभागको कार्यालय। वैदेशिक रोजगारीमा जानेहरूको ठूलो भीड अनि भेटिएका मुर्गाहरूलाई फाराम भरी ‘सघाउपघाउ’ गर्नेहरूको उस्तै चहलपहल। त्यहाँ त पाखुरामा समातेरै फाराम भराउन खोज्नेहरूको ठूलो जमातको पटकपटक सामना गर्न पर्‍यो।

हुन त यो उनीहरूको पेसा थियो। तर म र मेरोजस्तो अनुहार परेकाहरूतिर एउटा सस्तो डटपेन र श्रम विभागको फाराम बोकेकाहरूको समूहको अधिकतम झुत्तो लाग्नुको कारणचाहिँ के हो त्यस्तो?

एक दिन तल बागमतीको पुलमै केही कलिला नानीबाबुहरूले मलाई छेके, ‘तपाईँ श्रममा हो, हामी फाराम भरिदिन्छौँ नि!’

स्कुले नानीबाबुहरूजस्ता देखिन्थे ती। वैदेशिक रोजगारमा जाने तर आफैँ फाराम भर्न नसक्नेहरूलाई सेवा दिएर मेवा लिन ती नानीबाबुहरू बडो उत्साहसाथ बागमती पुलमा उभिएका थिए। त्यस दिन मैले त्यस्तो चारपाँच वटा समूहको सामना गर्न पर्‍यो।

मलाई फाराम भर्नका लागि ती नानीबाबुहरूले तान्नै खोजिरहेका बेला म आफू भने काठमाडौँकै एउटा कलेज पनि पढाउँथे। पढाउन थालेको पनि ६ वर्ष भइसकेको थियो। कक्षा ११ देखि त्रिभुवन विश्वविद्यालयले निर्धारण गरेको स्नातक तहको पाठ्यक्रम पढाउने गुरु थिएँ म। तर त्यस्ता भीडको आँखामा भने श्रम विभाग वा पासपोर्टको फाराम भर्न पनि अरूको सहयोग लिनुपर्ने एक निरक्षर।

त्यो भीडको सामना गर्दा म कतिसम्म थाकेको रहेछु भने कार्यकक्षमा पुगेपछि कुर्सीमा थ्याच्च बसेँ, एकछिन सुस्ताएपछि खाली बोतल लिएर पानीको जारतिर बढेँ। बोतलको घाँटीसम्म हुने गरी पानी भरेर पुनः कार्यकक्षमा फर्की कुर्सीछेउ उभिएर एकै सासमा आधा बोतल पानी घुट्क्याएँ, अनि बोतललाई टेबलमा राखेर कुर्सीमा थ्याच्च बसेँ। सोच्न थालेँ, ‘सधैँ मतिर झुत्तो लाग्ने त्यो भीडबाट आफूलाई कसरी सुरक्षित राख्ने होला ?’

बल्ल एउटा उपाय फुर्‍यो। पहिले म झोला बोक्थेँ, झोलामा कुनै न कुनै किताब हुन्थ्यो। अब किताबकै लागि झोला नबोक्ने निर्णयमा पुगेँ। अनि अलि औपचारिक हुने, कार्यालय आउँदा कोट लगाउने। हातमा जहिल्यै एउटा मोटो किताब बोक्ने, सकभर अंग्रेजी भाषाको।

त्यही अक्कलअनुसार डेनिस म्याक्वेलको ‘मास कम्युनिकेस थ्योरी’ बोकेँ, ट्विड कोट लगाएँ। यस्तो रुपरेखामा बडो ठाँटिएर त्यो भीड छिचोल्दै हिँडेँ, त्यस दिन मलाई कसैले श्रम विभागका फाराम भर्ने प्रस्ताव गरेनन्। मैले त्यस ठाउँबाट श्रम विभाग नसरुन्जेल यही अक्कल अपनाइरहेँ। अनुहारबाट ठगिएको मलाई त्यो किताब र कोटले साह्रै  ठूलो राहत दियो। तर यो देशमा यसरी कतिञ्जेल चल्छ?

****************

सडकमा मात्रै होइन, सिंहदरबार मातहतका तालुकदार अड्डामा पनि मेरो अनुहारले यस्ता व्यवहारहरूको कैयौँ पटक सामना गरेको छ। हङकङ भ्रमणको निम्तो आयो। अब साँच्चिकै मैले पासपोर्ट बनाउनुपर्ने भयो। पासपोर्टका लागि फाराम भराउन माथि उल्लेख गरिएका झुत्तो खेल्नेहरूको सहयोग मैले लिनुपर्ने कुरै भएन। कार्यालयमा साथीहरू भन्थे, ‘हामीले पनि कहाँ लाइन लागेर पासपोर्ट बनाउने हो र? आफ्नो पहुँच लगाएर सीधै हाकिमलाई भेटेर बनाउने हो नि!’

संयोग पनि कस्तो भने मैले समाचार संकलनका लागि धाइरहनुपर्ने मन्त्रालय पनि परराष्ट्र मन्त्रालय थियो। त्यस बेला यो मन्त्रालय शीतल निवासमा थियो। तालुकदार हाकिमलाई एक चरण बिन्ती बिसाइयो भने लाइन लाग्नुपर्ने झन्झटबाट पक्कै मुक्ति पाइन्थ्यो। तर मैले लाइनमा लागेरै पासपोर्ट बनाउने निर्णय गरेँ। परराष्ट्रको राहदानी विभाग नारायणहिटीमा सरेको थियो।

पाइताला भतभती पोल्नेदेखि गोडा कटकटी खाने गरी उभिएर पालो आएपछि झ्यालको दुलोबाट आफ्नो कागज छिराएँ। कागज बुझ्ने कर्मचारीले जिल्लाबाट पासपोर्ट झिके–नझिकेको रेकर्ड ल्याउन भने। कारण थियो, पुरानो हराएर नागरिकता प्रतिलिपि झिकिएको। नियम हो त्यसैले ‘हवस् हजुर’ भनेर फर्किएँ अनि धनकुटाबाट पासपोर्ट नझिकेको कागज झिकाएँ। फेरि लामो लाइनको व्यग्रतापूर्ण पर्खाइपछि कर्मचारी रहने झ्यालनेर पुगेर दुलोबाट कागजको मुठो छिराएँ।

संयोगवश त्यही केटौले कर्मचारी परेछन्। अचम्मको व्यवहार गरे। पहिले मेरो अनुहार हेरे, अनि कागजतिर थोरै नियालेर भने, ‘मैले चाहेँ भने तिमीलाई धनकुटा पठाइदिन सक्छु बुझ्यौ?’ मैले आवश्यकताअनुसारको सबै कागज पेस गरेको बताएपछि ती केटौले कर्मचारीले सबै कागज जाँचे अनि भने, ‘ए ल ठीक छ।’

मेरो पासपोर्ट काठमाडौँमा बनेनछ भने धनकुटा नै जाऊँला। तर किन तिनले आफूभन्दा जेठोपाको मलाई ‘तिमी’ सम्बोधन गरे? मैले त्यहाँ उनीसँग वादविवाद गरिरहन जरुरी ठानिनँ, किनकि मलाई आफ्नो काम चाँडै सक्नु थियो। यही विवशताबीच त्यहाँबाट बाटो लाग्दा ती कर्मचारीको ‘तिमी’ सम्बोधनको तिखोले मेरो कमलो मनलाई च्वास्स च्वास्स घोचिरह्यो। अनि मैले मेरो अनुहारको भूगोललाई फेरि एकपटक छामेँ र उपसंहार निकालेँ, ‘यस्तै छ, मेरो अनुहारको अन्तरवस्तु।’

परराष्ट्र मन्त्रालयमै भोगेको एउटा अर्को घटना पनि सम्झनाको पोखरीमा बल्छी खेल्दै उप्काउन मन लाग्यो।

त्यसबेला मैले पढाइरहेको कलेजका प्रमुख सुरेश बस्नेतले एक दिन भन्नुभयो, ‘परराष्ट्रका एक जना थापा थरका उपसचिव तपाईँकै जिल्लाको हुनुहुन्छ। तिनको छोरीलाई मैले ट्युसन पढाएको थिएँ। सरले त्यता जाँदा भेट्नुस् न।’

गाउँले दाइ भेटिने भैयो भन्ने भएर म मख्ख परेँ। समाचारकै लागि मन्त्रालयमा पुग्दा आफ्नो काम सकिएपछि सुरेश सरले सुझाएअनुसार ती उपसचिवको कार्यकक्ष खोज्न थालेँ। डोरप्लेट देखेपछि यहीँ रहेछन् ती गाउँले दाइ भन्दै ढोकाबाटै जम्लाहात गरेँ, ‘सर नमस्कार !’

उनले फाइलबाट आँखा हटाए अनि मतिर निक्कै रसविहीन दृष्टि फ्याँक्दै अलि रोबिलो स्वरले अचम्मको कुरा गरे, ‘भाइ, तपाईँको काम हुँदै छ, पहिल्यै मैले तपाईँलाई मसँग भेटिरहनुपर्दैन भनेको होइन ?’

‘होइन, होइन सर। हजुरसँग कुनै कामविशेषले भेट्न आएको होइन’ यति भनेर खल्तीबाट आफ्नो भिजिटिङ कार्ड निकालेर उनीसमक्ष टक्र्याएँ। मेरो भिजिटिङ कार्डमा उनको आँखा परेपछि उनी बदलिएर अलि नरम भए। अनि सुरेश सरबारे केही बताउँदै आफूले बिहानको समय कलेज पनि पढाउने गरेको बताएपछि उनले उभिएरै कुरा गरिरहेको मलाई सोफामा बसाले। कालो चिया फर्माएर पठाए।

म यसरी भिजिटिङ कार्ड बाँडेर आफ्नो परिचय दिँदै कति जनालाई स्पष्टीकरण दिँदै हिँडूँ? प्रकृतिप्रदत्त मेरा आँखा र नाकको नक्साका कारण यो देशमा म कति दिन अनपत्यारिलो भएर बाँचूँ?

****************

त्यसो त सबैबाट मेरो अनुहारले पूर्वाग्रह भोगेको भन्ने चाहिँ होइन। स्वादिला संयोग पनि छन्। प्रा.डा. त्रिरत्न मानन्धर मलाई खुब माया गर्ने इतिहासकार। उहाँसँग कुनै बेला मेरो निक्कै बाक्लो संवाद हुन्थ्यो र बेलाबेलामा सुखद भेट पनि।

उहाँ लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति हुनुहुन्थ्यो। एक दिन उहाँले भृकुटीमण्डपस्थित विश्वविद्यालयको सम्पर्क कार्यालयमा बोलाउनुभयो। पूर्वनिर्धारित समयमा म पुगेँ। कार्यालयको ढोकाबाट भित्र छिरेको मात्रै के थिएँ, ‘के हो, कसलाई खोजेको’ भन्दै एक जुँगामुठे कर्मचारीले आफ्नो आँखा बडो पार्दै सोधे। तिनको व्यवहार बिल्कुलै आत्मीय थिएन, मानौँ कार्यालयभित्र कोही उपद्रो गर्न पस्दै छ। मेरो अनुहार देखेर उनी तर्सन खोजेझैँ पनि लागिरहेको थियो मलाई।

‘उपकुलपतिज्यूलाई भेट्न आएको हजुर’ म विनम्र प्रस्तुत भएँ।

उता मेरो परिचित स्वर सुनेर मानन्धर सर भित्रैबाट बोल्नुभयो, ‘राजकुमारजी हो? लु भित्रै आउनुस्।’ जुँगामुठे कर्मचारी हेर्‍याहेर्‍यै भए।

मानन्धर सरले मलाई त्यो दिन दुई पुस्तक उपहार दिनुभयो, ज्ञानमणि नेपालको ‘नेपाल निरुक्त’ र प्रेम खत्री र पेशल दाहालको ‘आधुनिक नेपालको सामाजिक इतिहास’। भृकुटीमण्डपबाट फर्कदा मसँग हातमा मानन्धरको अमूल्य उपहार छँदै थियो, अझ मनभरि थियो उहाँले दर्शाउनुभएको सदभावको कोमल स्पर्श।

****************

यो देशमा मेरो पुर्खाले धानेको इतिहासको विरासत जीवित भएको भए मेरो अनुहारले यसरी सडकदेखि सिंहदरबारसम्म गोता खाँदै हिँड्नुपर्थ्यो?

आठराई हाङपाङमा किपटिया सुवांगी भएको पुर्खाको सन्तान हुँ म। मेरा घरमा रहेको दुई सय वर्षयतादेखिका पुराना कागजका प्रत्येक अक्षर केलाउँदा मेरा पुर्खाहरू आफैँले रस्ती रसाएको र बस्ती बसाएको थातथलोका शासक र प्रशासकहरू रहेछन्। अहिले म जसको शासन भोगिरहेछु, उनीहरूलाई त मेरै पुर्खाहरूले आफ्नो थातथलोमा आश्रय दिएका रहेछन्। म यो प्रमाणप्रमेय भन्न सक्छु, लेख्न सक्छु।

देशमा अनेक तन्त्रहरू आए। पुरानो तन्त्र भत्काएर समाजको वक्र सतहलाई सम्याउन मेरो घरले पनि ज्यानको बाजी लगाएको छ। भूमिगत नेताहरू पालेको छ। त्यस्ता भूमिगत नेताको स्याहार र सुरक्षाका लागि कक्षा २ मा पढ्दाखेरि नै तैनाथी दिएको मान्छे हुँ म।

तर काम नलाग्ने भनेर एउटा तन्त्र भत्काएर आफैँले ल्याएको नयाँ तन्त्रसँग पनि आज मेरो अनुहारले न्याय माग्नु परिरहेछ, आफ्नै घरमा आफैँले बास मागेजस्तो!

फेरि लेखक भई टोपलेको मलाई मेरै लेखक साथीहरू सोध्छन्, ‘तपाईँ खासमा किन लाहुर नगएको?’

मचाहिँ सन्त कबीरको भनाइ उद्धृत गर्न चाहन्छु,’खुट्टाको धुलोलाई पनि तिमी निन्दा नगर, तिम्रो आँखामा पर्‍यो भने त्यो तिम्रो निम्ति महँगो साबित हुन सक्नेछ।’

प्रकाशित: २७ भदौ २०८३ १३:५८ | Saturday, September 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast