काठमाडौँ- नेपाली कांग्रेसमा १५औँ महाधिवेशनको मिति र प्रक्रियालाई लिएर सभापति गगनकुमार थापा र पूर्वसभापति शेरबहादुर देउवा आमनेसामने भएका छन्। दुवै नेताले मंगलबार छुट्टाछुट्टै अपिल जारी गर्दै कार्यकर्ता तहलाई आ–आफ्नो पक्षले अघि सारेको महाधिवेशन प्रक्रियामा सहभागी हुन आह्वान गरेका हुन्।
सभापति थापाले असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने १५औँ महाधिवेशनको प्रक्रियामा कुनै अलमल र द्विविधामा नपरी सहभागी हुन कांग्रेसका क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकलाई आग्रह गरेका छन्। उनले असोज ३ र ४ गते हुने वडा अधिवेशनबाट महाधिवेशन प्रक्रिया सुरु हुने भन्दै वडादेखि केन्द्रसम्मका सबै अधिवेशनमा उत्साहका साथ सहभागी हुन अपिल गरेका हुन्।
पूर्वसभापति देउवाले थापा नेतृत्वको समूहले अघि बढाएको महाधिवेशनलाई नै ‘कथित’ र ‘अवैधानिक’ भन्दै त्यसमा सहभागी नहुन कांग्रेस नेताकार्यकर्तालाई आह्वान गरेका छन्। उनले कांग्रेसको १५औँ महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते हुनुपर्ने भन्दै त्यसको तयारीमा जुट्न आग्रह गरेका छन्।
देउवाले पार्टीको विधि, विधान, पद्धति, परम्परा तथा केन्द्रीय समितिका निर्णयविपरीत विशेष महाधिवेशन गरिएको र त्यसबाट आएको समूहले एकपक्षीय ढंगले १५औँ महाधिवेशनको कार्यतालिका अघि बढाएको आरोप लगाएका छन्।
‘पार्टी निर्माणमा लामो समयदेखि योगदान पुर्याएका तथा लामो संघर्ष र बलिदानबाट स्थापित भएका नेता तथा बहुसंख्यक सदस्यहरूलाई बेवास्ता गरेर अघि बढ्ने प्रयास नेपाली कांग्रेसको हितमा कदापि हुन सक्दैन’ भन्दै देउवाले त्यस्तो प्रक्रियाबाट अघि बढ्ने महाधिवेशनमा सहभागी नहुन आग्रह गरेका छन्।
विशेष महाधिवेशनको वैधतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा त्यसको अन्तिम निरूपण नहुँदै महाधिवेशन प्रक्रिया अघि बढाउनु विधि, विधान र कानुनी सिद्धान्तविपरीत हुने देउवाको दाबी छ। सर्वोच्च अदालतको पूर्ण इजलासले पुनरवलोकनको निस्सा प्रदान गरिसकेको भन्दै उनले विशेष महाधिवेशनको वैधतामा गम्भीर संवैधानिक तथा कानुनी प्रश्न रहेको बताएका छन्।
देउवाले कांग्रेसभित्रको समस्या एकता, सहमति र सहकार्यबाट समाधान गर्नुपर्नेमा जोड दिएका छन्। सहमतिको पर्याप्त सम्भावना हुँदाहुँदै बहुसंख्यक नेताकार्यकर्ताको सहभागिताबिना महाधिवेशन अघि बढाउनु पार्टीलाई कमजोर बनाउने गतिविधि भएको उनको आरोप छ।
आफूलाई कुनै पद वा जिम्मेवारीको लोभ नरहेको उल्लेख गर्दै देउवाले १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिका रूपमा १५औँ महाधिवेशन सम्पन्न गरी नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक, राजनीतिक तथा नैतिक दायित्व भएको बताएका छन्।
सभापति थापाले आफ्नो नेतृत्वको केन्द्रीय कार्यसमितिले पार्टीभित्र संवाद र सहमतिको वातावरण बनाउन अधिकतम प्रयास गरेको बताएका छन्। लोकतन्त्रमा भिन्न मत र असमझदारी हुन सक्ने भए पनि त्यसको समाधान संवाद, विधि र पद्धतिबाट खोज्नुपर्ने उनको भनाइ छ।
थापाले २०८२ पुससम्म नवीकरण भएका सबै क्रियाशील सदस्यलाई अधिवेशन प्रक्रियामा सहभागी गराउने निर्णय भइसकेको, सदस्यता व्यवस्थापन समितिले नामावली टुंग्याइसकेको र केन्द्रीय निर्वाचन समितिले अधिवेशन प्रक्रिया अघि बढाइसकेको बताएका छन्।
विशेष महाधिवेशनअघि कायम रहेको केन्द्रीय कार्यसमितिका तत्कालीन पदाधिकारी तथा सदस्यलाई वर्तमान केन्द्रीय कार्यसमितिमा समावेश गर्ने गरी भदौ २८ गतेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आवश्यक प्रबन्ध गरिसकेको पनि थापाले उल्लेख गरेका छन्। त्यसैले तत्कालीन पदाधिकारी तथा सदस्यहरू १५औँ महाधिवेशन प्रक्रियामा केन्द्रीय सदस्यका रूपमा सहभागी हुन सक्ने भन्दै उनले कुनै द्विविधामा नपर्न आग्रह गरेका छन्।
थापाले असोज ३ गते वडाबाट सुरु भई असोज १६ देखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा हुने महाधिवेशनमा सहभागी हुन अपिल गरेका छन्। देउवाले भने त्यस प्रक्रियालाई अस्वीकार गर्दै मंसिर २१ देखि २३ गतेसम्म हुने महाधिवेशनको तयारीमा जुट्न आह्वान गरेका छन्।
एउटै पार्टीका सभापति र पूर्वसभापतिले कार्यकर्तालाई भिन्नभिन्न महाधिवेशन प्रक्रियामा सहभागी हुन आह्वान गरेपछि कांग्रेसको आन्तरिक विवाद थप जटिल बनेको छ।
देउवाको अपिल : सानेपाबाट हुने महाधिवेशन अमान्य, मंसिरमै १५औँ महाधिवेशन हुन्छ


