कांग्रेस एकता प्रयास : ‘मिल्न तयार सहमति जुटाउन कठिन’

हिमाल प्रेस १७ साउन २०८३ १४:५० | Sunday, August 2, 2026
10
SHARES
कांग्रेस एकता प्रयास : ‘मिल्न तयार सहमति जुटाउन कठिन’ नैनसिंह महर

काठमाडौँ- नेपाली कांग्रेसभित्र संस्थापन र संस्थापनइतर पक्षबीचको आन्तरिक विवाद अन्त्य गरी एकता कायम गर्ने प्रयास तीव्र बनेको छ। दुवै पक्षका नेताहरू एकताका पक्षमा सकारात्मक देखिए पनि त्यसलाई व्यवहारमा उतार्न भने अझै सहमति जुट्न सकेको छैन।

दुवै पक्षबीच दुई महिनादेखि संवाद गरिरहेका नेता नैनसिंह महरले आइतबार नेताहरू ‘मिल्न तयार भए पनि मिल्न नसकेको’ अवस्था रहेको बताए।

‘हामीले पार्टी मिलाउनका लागि दुई महिनादेखि निरन्तर पहल गरिरहेका छौँ। दुवै पक्ष सकारात्मक छन्, तर त्यसको कार्यान्वयन हुन सकेको छैन,’ उनले हिमालप्रेससँग भने।

महरका अनुसार ‘देश र कांग्रेस जोडौँ’ अभियानअन्तर्गत साउन २० गते बिहान ११ बजे काठमाडौँमा राष्ट्रिय एकता भेला आयोजना गरिएको छ। भेलामार्फत दुवै पक्षका नेताहरूलाई एउटै मञ्चमा ल्याएर पार्टी एकताको सन्देश दिने प्रयास भइरहेको उनले बताए।

‘दुई–चार दिन अझै प्रयास गर्छौँ। २० गतेको भेलामा दुवै पक्षका नेताहरूलाई सहभागी गराएर एकीकृत आवाज दिन सकियो भने त्यसले सहज वातावरण बनाउनेछ,’ उनले भने।

भेलामा देशभरका ७५३ पालिका, ३३० प्रदेशसभा निर्वाचन क्षेत्र, १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा विभिन्न तह, वर्ग र समुदायका प्रतिनिधिहरूको सहभागिता रहने महरको दाबी छ।

आयोजकका अनुसार कांग्रेसभित्र लामो समयदेखि बढ्दै गएको गुटगत राजनीति, मतभेद र अविश्वासले पार्टी कमजोर बनेकाले एकता अहिलेको प्रमुख आवश्यकता बनेको छ। कांग्रेस कमजोर हुँदा लोकतान्त्रिक शक्ति नै कमजोर हुने भन्दै पार्टी एकतालाई लोकतन्त्र र राष्ट्रिय हितसँग जोडिएको जिम्मेवारीका रूपमा व्याख्या गरिएको छ।

देश र कांग्रेस जोडौँ’ अभियानले जारी गरेको वक्तव्यमा आर्थिक मन्दी, बेरोजगारी, युवापलायन, सुशासनको चुनौती तथा जनजीविकासम्बन्धी समस्याप्रति सरकार प्रभावकारी हुन नसक्दा जनअसन्तुष्टि बढ्दै गएको उल्लेख गर्दै पार्टीलाई जनतासँग पुनः जोड्ने उद्देश्यले अभियान अघि बढाइएको जनाइएको छ।

कांग्रेसको संस्थापनइतर समूहले पनि डा. शशांक कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय मूल आयोजक समिति गठन गर्दै साउन २९ देखि ३१ गतेसम्म काठमाडौँमा राष्ट्रिय भेला गर्ने तयारी अघि बढाएको छ। यसका लागि १६ वटा उपसमिति समेतगठन गरिएको छ।

पार्टीलाई वैचारिक, नीतिगत र संगठनात्मक रूपमा स्पष्ट कार्यदिशासहित सुदृढ बनाउने उद्देश्यले भेला आयोजना गरिएको इतर समूहको दाबी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast