काठमाडौँ- रुकुम पूर्वको भूमे गाउँपालिकाले सामुदायिक विद्यालयमा कार्यरत स्थानीय शिक्षण सिकाइ अनुदानका शिक्षक, बालविकास सहजकर्ता, विद्यालय सहायक, विद्यालय सहयोगी र सामुदायिक परिचालकको मासिक तलब वृद्धि गर्ने निर्णय गरेको छ।
गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार भदौ १ गतेदेखि लागू हुने गरी तलब पुनःनिर्धारण गरिएको गाउँपालिकाले जनाएको छ।
निर्णयअनुसार स्थानीय शिक्षण सिकाइ अनुदानअन्तर्गत माध्यमिक तह (कक्षा ९-१०) का शिक्षकको मासिक तलब २८ हजार रुपैयाँ कायम गरिएको छ। आधारभूत तह (कक्षा ६-८) का शिक्षकले २५ हजार र आधारभूत तह (कक्षा १-५) का शिक्षकले २३ हजार रुपैयाँ पाउनेछन्।
विद्यालय सहायक (लेखापाल) को मासिक तलब २२ हजार रुपैयाँ निर्धारण गरिएको छ। संघीय अनुदान प्राप्त बालविकास सहजकर्ताको मासिक पारिश्रमिक २० हजार रुपैयाँ कायम गरिएको छ भने पालिकाबाट व्यवस्थापन हुने बालविकास सहजकर्ताले पनि २० हजार रुपैयाँ पाउनेछन्।
त्यसैगरी विद्यालय सहयोगी (कक्षा १-८) को मासिक तलब १९ हजार ५५० रुपैयाँ र विद्यालय सहयोगी (कक्षा १-१२) को तलब २० हजार रुपैयाँ निर्धारण गरिएको छ। सामुदायिक परिचालकको मासिक पारिश्रमिक पनि १९ हजार ५५० रुपैयाँ कायम गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले नेपाल सरकारको निर्णय र शिक्षा विभागको परिपत्रअनुसार संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिकमा थप रकम व्यहोर्ने व्यवस्था मिलाएको जनाएको छ।
यसैबीच, कार्यपालिकाको बैठकले वडा नं. ३ स्थित भोराबाङ स्वास्थ्यचौकीका लागि एक जना कार्यालय सहयोगी करार सेवाबाट खुला प्रतिस्पर्धामार्फत नियुक्ति गर्ने निर्णय पनि गरेको छ।
आर्थिक वर्ष २०८३/८४ को दर विश्लेषण (रेट एनालाइसिस) स्वीकृत गर्नुका साथै कृषि विकास सेवा आयोजना तथा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि-२०८३ पनि स्वीकृत गरेको छ।


