को हुन् त्रिवि उपकुलपति बराल?

हिमाल प्रेस १० फागुन २०८० २१:४१
298
SHARES
को हुन् त्रिवि उपकुलपति बराल?

पोखरा- खुला प्रतिस्पर्धा आधारमा त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा बिहीबार नियुक्त प्राडा केशरजंग बरालको जन्म आजभन्दा ६७ वर्षअघि पाल्पाको पीपलडाँडा (हाल रम्भा गाउँपालिका) मा भएको हो। उनले प्रारम्भिक शिक्षा पाल्पामै हासिल गरे।

त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा स्नातकपछि उनले सन् १९८२ मा त्रिवि, कीर्तिपुरबाट स्नातकोत्तर गरे। भारतको दिल्ली विश्वविद्यालयबाट सन् १९९७ मा पीएचडी गरेका उनको विशेषज्ञता क्षेत्र वित्त हो। उनले वित्तसम्बन्धी धेरै अनुसन्धान लेखहरू लेखेका छन् भने सहलेखकको रुपमा वित्तबारे थुप्रै पुस्तकहरू पनि लेखेका छन्।

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाट सन् १९८२ देखि उनी प्राध्यापन पेसामा लागेका हुन्। त्यहाँ उनी ३ वर्षसम्म सहायक प्राध्यापक रुपमा कार्यरत रहेपछि पृथ्वीनारायण क्याम्पस, पोखरा सरुवा भएका थिए। उनी पोखरामा रहेकै बखत सन् २००७ देखि २०११ सम्म पोखरा विश्वविद्यालयको उपकुलपति नियुक्त भएका थिए। माओवादी कोटाबाट उपकुलपति नियुक्त उनी ४ वर्षसम्म उक्त पदमा रहँदा विश्वविद्यालयको उल्लेख्य सुधार गरे। शैक्षिक, भौतिक एवं संस्थागत सुधारका उनले थुप्रै काम गरे।

विश्वविद्यालयलाई पोखरा सहरको केन्द्रमा रहेको भाडाको भवनबाट तत्कालीन लेखनाथ नगरपालिकामा रहेको आफ्नै शैक्षिक कम्प्लेक्समा सारे। गरिब वर्गका योग्य विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रमलाई संस्थागत गर्नुका साथै नेपाल सरकारको नीतिअनुरूप विश्वविद्यालयको रणनीतिक योजना परिमार्जन गरी गन्तव्य तय गरेका थिए।

प्राडा बरालले निश्चित सहरका २३ वटा सम्बन्धन प्राप्त कलेजलाई बढाएर ५४ मा पुर्‍याए। उनले नर्सिङ, स्नातक तहको इलेक्ट्रिकल, इलेक्ट्रोनिक इन्जियिरिङ जस्ता शैक्षिक कार्यक्रम सुरु गराए। पोखरा विश्वविद्यालयको राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका उनले शैक्षिक कार्यक्रमहरू विस्तार गर्नुका साथै विश्वविद्यालयको भौतिक, शैक्षिक र पूर्वाधारको विकास गरे।

महेन्द्र विद्याभूषण पदक ‘क’ बाट विभूषित उनले २० वर्षअघि राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेका थिए। उनी अमेरिकी वित्त संघका सदस्य भइ काम गरेका उनी एसियाली विकास बैंकको व्यक्तिगत परामर्शदाता, पाठ्यक्रम विकास उपसमितिको संयोजक र नेपाल खुला विश्वविद्यालयको रणनीति योजना तर्जुमा उपसमितिको सदस्य र अमेरिकन एकेडेमी अफ फाइनान्सियल म्यानेजमेन्टको मानार्थ ग्लोबल एड्भाइजर बोर्डमा रहेर काम गरेको अनुभव छ।

चार दशकदेखि नेपालको शिक्षा क्षेत्रमा निरन्तर सक्रिय उनले पछिल्लो समय त्रिभुवन विश्वविद्यालय र पोखरा विश्वविद्यालयका व्यवस्थापन पीएचडीका विद्यार्थीलाई सहजीकरण गर्दै आएका छन्। साथै, विश्वविद्यालय अनुदान आयोगको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद् विशेषज्ञरूपमा काम गर्दै आएका छन्।

आफू त्रिवि उपकुलपति नियुक्त भएको खबरसँगै खुसी लागेको उनले बताए। पोखरामा रहेका उनी काठमाडौं जाँदै गर्दा हिमालप्रेससँग छोटो टेलिफोन संवादमा उनले पोखरा विश्वश्वविद्यालयमा झैँ त्रिविमा पनि उल्लेख्य सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे।

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा बराल नियुक्त

उच्च शिक्षामा फड्को मार्दै पोखरा विश्वविद्यालय

प्रकाशित: १० फागुन २०८० २१:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =