त्रिवि उपकुलपति नियुक्तिबारे छलफल गर्न संसदीय समितिले डाक्यो शिक्षामन्त्री

हिमाल प्रेस २८ माघ २०८० १७:१७
136
SHARES
त्रिवि उपकुलपति नियुक्तिबारे छलफल गर्न संसदीय समितिले डाक्यो शिक्षामन्त्री फाइल तस्बिर

काठमाडौँ-  त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्तिका विषयमा छलफल गर्न संसदीय समितिले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईलाई डाकेको छ। प्रतिनिधिसभाको शिक्षा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबारको बैठकले उपकुलपति नियुक्तिका विषयमा छलफल गर्न मन्त्री राईलाई बोलाउने निर्णय गरिएको सभापति भानुभक्त जोशीले जानकारी दिए।

जोशीले भने, ‘त्रिवि उपकुलपति नियुक्तिबारे छलफल गर्न सोमबार समिति बैठकमा मन्त्रीलाई बोलाउने निर्णय गरेका हौँ।’

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जनाको नाम सार्वजनिक गरेको छ। उक्त सूचीमा पर्नेमा कुसुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौड्याल, टंकनाथ धमला, तीर्थराज खनियाँ, नारायण बेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापा छन्।

त्रिविका उपकुलपति डा.धर्मकान्त बास्कोटाको कार्यकाल कात्तिक १८ गते सकिएपछि गत कात्तिक २४ गते प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको अध्यक्षतामा सचिव सुरेश अधिकारी र त्रिविका बौद्ध अध्ययन विभागका प्रमुख डा. चन्द्रकला घिमिरे रहेको सिफारिस समिति गठन गरेका थिए।

हाल शिक्षाध्यक्ष शिवलाल भुसाललाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको छ। उनी पनि उपकुलपतिको सर्टलिस्टमा परेका छन्। भुसाललगायत सर्ट लिस्टमा परेकमा केहीव्यक्तिका बारेमा समिति सदस्यहरूले प्रश्न उठाउँदै आएका छन्। त्यसबारेमा प्रस्ट पार्न समितिले शिक्षामन्त्रीलाई डाकेको हो।

निमित्त भएर पनि भागबण्डाका आधारमा त्रिविका विभिन्न विभाग र क्याम्पसहरूमा प्रमुख नियुक्त गरिरहेको भन्दै भुसालको आलोचना भइरहेको छ। त्यसैगरी सर्टलिस्ट पनि दलीय भागबण्डाकै आधारमा तयार पारिएको सांसदहरूको आरोप छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =