भद्रगोल मध्यपश्चिम विश्वविद्यालय

रमा केसी १६ पुष २०८० १९:२९
78
SHARES
भद्रगोल मध्यपश्चिम विश्वविद्यालय

सुर्खेत- मध्यपश्चिम विश्वविद्यालयमा प्राज्ञिक गतिविधि ओझेलमा पर्दै आएको छ। विश्वविद्यालयका कुनै पनि समस्या उत्पन्न भएमा समाधानका लागि बन्द, हडताल र तोडफोडको सहारा लिन थालेपछि शैक्षिक संस्थाको प्रतिष्ठा नै धूमिल बन्दै गएको जानकारहरू बताउँछन्।

राजनीतिक गतिविधिले विद्यालयको पढाइमा असर परेको विद्यार्थीको गुनासो छ। पठनपाठनका मुद्दामा छलफल नहुने विद्यार्थी बताउँछन्। त्यसैगरी अनुसन्धानमूलक गतिविधि असाध्यै न्यून हुने गरेको छ। विद्यार्थीको पठनपाठन होस् वा कर्मचारी र प्राध्यापकको पेसासँग सम्बन्धित माग आन्दोलन नगरी सम्बोधन हुने गरेको छैन। अन्य विश्वविद्यालयमा जस्तै मध्यपश्चिममा पनि पदाधिकारी नियुक्ति राजनीतिक भागबण्डामा हुँदै आएको छ।

मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थी मोहन राना विद्यालयमा पढाइभन्दा राजनीति बढी हुने बताउँछन्। ‘राजनीतिक प्रभावकै कारण शैक्षिक एवम् प्राज्ञिक विकासबारे छलफल हुँदैनन्’, उनी भन्छन्।

विश्वविद्यालय सञ्चालनका लागि वार्षिक क्यालेन्डर बनेको छ। तर त्यसको सही कार्यान्वयन भएको पाइँदैन। राना भन्छन्, ‘विद्यार्थीले पढाइसँग सम्बन्धित अधिकार माग्दा हडताल, तालाबन्दीजस्ता क्रियाकलाप नगरी सुनुवाइ हुँदैन।’

शैक्षिक विषयमा विद्यार्थी र विश्वविद्यालयबीच समझदारी हुन नसकेको गुनासो विद्यार्थीको छ। आन्दोलन गरेपछि मात्र विद्यार्थीको कुरा सुन्ने परिपाटी बदल्न जरुरी रहेको उनले बताए। कर्णाली प्रदेशको यो विश्वविद्यालय प्रदेशका सबैजसो जिल्लाबाट विद्यार्थी आउँछन्।

विद्यार्थीको बुझाइमा पदाधिकारीहरू राजनीतिक भागबण्डामा नियुक्त नहुने हो भने केही सुधार हुने सम्भावना छ। राना भन्छन्, ‘पानी शुद्ध हुन त मूल सफा हुनुपर्‍यो नि।’ विश्वविद्यालय पदाधिकारीमा सक्षम व्यक्ति हुने हो भने समस्या समाधान हुँदै जाने उनी बताउँछन्।

अर्का विद्यार्थी विनोद खत्री पनि विद्यार्थी भर्ना, कक्षा सञ्चालन र नतिजा प्रकाशनमा सधैँ पछाडि रहेको बताउँछन्। उनी भन्छन्, ‘विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर त छ तर कार्यान्वयनमा सधैँ समस्या छ।’

विद्यार्थीमात्र होइन, प्राध्यापकहरू पनि विश्वविद्यालयमा अति राजनीति हुने गरेको बताउँछन्। विश्वविद्यालयको व्यवस्थापन केन्द्रीय विभागका प्रमुख खेमराज रावतले पदाधिकारी नियुक्तिमा राजनीतिक दबाब रहेसम्म विश्वविद्यालयको अवस्थामा सुधार आउन नसक्ने बताए। उनले भने, ‘कुलपति प्रधानमन्त्री र शिक्षामन्त्री सहकुलपति भएसम्म पदाधिकारीमा भागबण्डा चल्छ। यस्तो प्रवृत्ति रहेसम्म विश्वविद्यालयमा सुधार आउँदैन।’

प्राध्यापक प्रचण्ड पोखरेल पनि एकजना व्यक्ति पटकपटक पदाधिकारीमा नियुक्ति हुँदा समस्या रहेको बताउँछन्। ‘एक जना व्यक्ति पटकपटक डिन, परीक्षा प्रमुख तथा फेरि डिन हुनेसम्मको विसंगति छ।’ विश्वविद्यालयमा दलीय प्रभाव र पहुँच रहेसम्म केही सीमित व्यक्तिलाई मात्रै लाभ हुने तर संस्था ओरालो लाग्ने बुझाइ उनको छ। पोखरेल भन्छन्, ‘विश्वविद्यालयमा भ्रातृ संगठन नभई छाता संगठन हुन जरुरी छ। शिक्षकदेखि पदाधिकारीसम्मको नियुक्तिमा राजनीतिक हस्तक्षेप बन्द हुनुपर्छ।’

विश्वविद्यालयको मानविकी तथा समाजाशास्त्रका पूर्वडिन खोपीराम लम्साल पनि विश्वविद्यालयमा पढाइभन्दा बढी राजनीतिक गतिविधि बढी हुने स्वीकार गर्छन्। उनी भन्छन्, ‘पदाधिकारी परिवर्तन पनि राजनीतिक कारणले नै हुँदै आएका छन्।’ राम्रो व्यवस्थापन गर्न नसक्दा जहिल्यै पनि विद्यार्थी भर्नामा समस्या हुने गरेको उनी बताउँछन्।

विश्वविद्यालयका प्रशासनिक अधिकृत दिनेश गौतमका अनुसार मध्यपश्चिम विश्वविद्यालयमा १३ हजार ४ सय २६ जना विद्यार्थी अध्ययनरत छन्। विश्वविद्यालयमा व्यवस्थापन, इन्जिनियरिङ, मानविकी, कानुन, शिक्षा र विज्ञान संकायका विभिन्न विषयमा पठनपाठन हुँदै आएको छ।

मध्यपश्चिम विश्वविद्यालयका ७ वटा आंगिक क्याम्पस छन्। जसअन्तर्गत तिला कर्णाली बहुमुखी क्याम्पसमा ३२२ जना विद्यार्थी अध्यनरत छन्। भेरी बहुमुखी क्याम्पस सुर्खेतमा ५१२, नारायणी बहुमुखी क्याम्पसमा ५००, भेरी ज्ञानउदय क्याम्पस जाजरकोटमा ३४०, मुसिकोट बहुमुखी क्याम्पस खलंगामा ५०९, रारा बहुमुखी क्याम्पस मुगुमा ५६३ र विद्यापुर बहुमुखी क्याम्पस सुर्खेतमा ८०६ विद्यार्थी अध्ययनरत रहेको जानकारी गौतमले दिए।

विश्वविद्यालयमा भौतिक पूर्वाधार त निर्माण भइरहेका छन्। तर कति पूर्वाधार छन् भन्नेबारे विश्वविद्यालयसँग विवरण छैन। प्रशासनिक अधिकृत गौतम भन्छन्, ‘पूर्वाधार यति नै छ भनेर यकिन विवरण छैन। भौतिक पूर्वाधार समग्र हिसाबले राम्रो बन्दै गएको छ।’

उपकुलपति नन्दबहादुर सिंह पनि विश्वविद्यालयमा तालाबन्दी भइरहनु, समयमा पढाइ तथा परीक्षा नहुनुजस्ता समस्या रहेको स्वीकार्छन्। उनले त्यस्ता समस्यालाई समाधान गरी शैक्षिक वातावरण सुधार हुँदै गएको बताए। विश्वविद्यालयमा राजनीतिक क्रियाकलाप कम भएमा पढाइको गुणस्तर सुधार हुने उनको भनाइ छ।

सिंहले भने, ‘विद्यार्थीको रुचिअनुसारका विषयहरु पढाउन थालेपछि विश्वविद्यालयमा विद्यार्थीको संख्या बढेको छ।’ प्रविधिमैत्री कक्षाकोठा, नियमित पठनपाठन, परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्न आफूहरूले सक्दो प्रयास गरिरहेको सिंह बताउँछन्।

समय सुहाउँदो पाठ्यक्रम लागू गरेर विदेश जान खोज्ने विद्यार्थीले रोक्ने प्रयास भइरहेको पनि उनले बताए। ‘विद्यार्थीले आफूले रोजे र खोजेका विषय पठनपाठन हुन थालेपछि विश्वविद्यालयप्रति सकारात्मक सन्देश गएको छ’, उपकुलपति सिंहले भने।

मध्यपश्चिम आधार क्याम्पस र वीरेन्द्रनगर बहुमुखी क्याम्पसलाई मर्ज गरी २०६९ सालमा मध्यपश्चिम विश्वविद्यालय बनेको हो। विश्वविद्यालयमा अहिलेसम्म पदमबहादुर देवकोटा, कालीप्रसाद पाण्डे, उपेन्द्र कोइराला र नन्दबहादुर सिंह उपकुलपति भएका छन्।

जथाभाबी सम्बन्धनले थला परेकाे पूर्वाञ्चल

गति लिन नसकेको राजर्षि जनक विश्वविद्यालय

त्रिविमा नाममात्रैको सेमेस्टर प्रणाली

रसातलको यात्रामा उच्च शिक्षा

जनशक्तिसँगै नगद पनि विदेश

प्रकाशित: १६ पुष २०८० १९:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − seven =