संकटमा विश्वविद्यालय

जनशक्तिसँगै नगद पनि विदेश

रमेश भारती ८ पुष २०८० १७:१६
304
SHARES
जनशक्तिसँगै नगद पनि विदेश त्रिभुवन विमानस्थलको प्रस्थान कक्ष नजिकै देखिएको भीड। फाइल तस्बिर

काठमाडौँ- पढ्दै काम गर्न पाइने, व्यवस्थित जीवनशैली र सुरक्षित भविष्यको खोजीमा उच्च शिक्षा अध्ययन गर्न विदेश जाने युवाको संख्या बढ्दो छ। स्वदेशमै संसारका नाम चलेका विश्वविद्यालयका पाठ्यक्रम पढाइ भइरहे पनि १२ कक्षा पास गरेका अधिकांश युवाको रोजाइचाहिँ विदेश नै हुने गरेको छ। पछिल्ला एक दशकयता त अध्ययनमा जाने नेपाली युवाको लर्को बढिरहेको शिक्षा मन्त्रालयको तथ्यांकले देखाउँछ।

५० को दशकमा देश अशान्त थियो। त्यति बेला जीवन बचाउनकै लागि पनि कतिपय युवा विदेश पुगे। देशमा राजनीतिक द्वन्द्व समाप्त भयो, संघीय गणतन्त्र नेपालको नयाँ संविधान जारी भएर कार्यान्वयनमा गएको पनि आठ वर्ष बितिसकेको छ। विदेश जाने युवाको संख्या घटेको छैन। दलका नेताहरू युवामा स्वदेशमै रोक्ने भाषण गर्दै आए पनि कार्यान्वयन हुन सकेको छैन।

बदलिँदो विश्व परिवेशमा युवा विदेश जानु स्वाभाविक भए पनि राजनीतिक नेतृत्व जिम्मेवार नहुँदा पढ्ने नाउँमा युवाहरू विदेश गइरहेको जानकारहरू बताउँछन्। समयानुकूल व्यावहारिक पाठ्यक्रम लागू गर्न नसक्दा युवा पुस्ताले पढ्नकै लागि देश छाडेको शिक्षा मन्त्रालयका पूर्वसचिव महेश दाहालले बताए। उनले भने, ‘विद्यार्थी बाहिरिनुमा राज्यको मूल नेतृत्व जिम्मेवार बन्नुपर्छ। अवसर नभएकै कारण अध्ययनका लागि नेपाली विद्यार्थी विकसित देशलाई गन्तव्य बनाउन थालेका हुन्।’

शिक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति (एनओसी) शाखाका अनुसार वार्षिक करिब एक लाख २० हजारभन्दा बढी विद्यार्थीले विदेश अध्ययनका लागि अनुमतिपत्र लिनेका गरेका छन्। दुई वर्षयता दैनिक सात सयभन्दा बढीले एनओसी लिने गरेको शाखाले जनाएको छ। एओसी लिएर अध्ययनका लागि विदेश नजाने कमै हुन्छन्।

स्वदेशका  कलेजमा विद्यार्थीको भर्ना संख्या घट्दो छ। विद्यार्थी नभएका कारण कतिपय निजी कलेज बन्द हुने अवस्थामा पुगेका छन्। सरकारी अधिकारीहरूचाहिँ अवसरको खोजीमा युवा बाहिर जानु स्वाभाविक रहेको बताउँछन्। नेपाली विद्यार्थी खुला अर्थतन्त्र र विश्व बजारप्रति आकर्षित हुनुलाई नकारात्मक भन्न नहुने उनीहरूको दाबी छ।

‘विदेशमा उच्च शिक्षा आर्जन गरेपछि नेपाली विद्यार्थीले अवसर पाएका धेरै उदाहरण छन्। देशभित्र विद्यार्थीले भविष्य नदेखेर विदेश गएको भन्न मिल्दैन’, शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले भने। उनी देशको उच्च शिक्षालाई रोजगारीसँग जोड्न नसक्दा समस्या आएको स्वीकार्छन्। ‘विदेशमा कमाउन पनि सकिने भएपछि युवाको आकर्षण बढेको हो। विदेशमा अध्ययनसँगै पैसा कमाउने आधार छन्। हाम्रो शिक्षाले त्यति पर सोचेको छैन’, सापकोटाले भने।

नेपालको शिक्षा सीपसँग जोड्न र सोहीअनुसारको पाठ्यक्रम बनाउन नसक्दा विद्यार्थी पलायन भइरहेको उनको बुझाइ छ। ‘पढाइ सकेपछि रोजगारीको अवसर नहुनुले विद्यार्थी विदेश अध्ययनमा जोड गर्छन्। नेपालको राजनीतिक अवस्था, शिक्षा नीति, महँगी र अध्ययनपछि बेरोजगारी हुने डर विद्यार्थीमा छ’, सापकोटाले भने।

विगत एक दशकमा ७५ वटाभन्दा बढी देश १३ लाख ६७ हजार ७ सय २२ जना नेपाली विद्यार्थीले अनुमति लिएको एनओसी शाखाको तथ्यांक छ।  चालु आवको साउनयता झन्डै ५० हजार युवाले एनओसी लिएका छन्। एनओसी लिएका विद्यार्थी कुनकुन देशमा पुगे भन्ने यकिन विवरण नभए पनि अधिकांश विद्यार्थी अस्ट्रेलिया, क्यानडा, संयुक्त राज्य अमेरिका र युरोपेली मुलुकमा गएको शैक्षिक परामर्शदाताहरू बताउँछन्।

वैदेशिक अध्ययनका लागि विद्यार्थी विदेश जाँदा पैसा पनि सँगै जाने गरेको छ। नेपालबाट बाहिरिने विदेशी मुद्राको परिमाण बढ्दै गएको नेपाल राष्ट्र बैंकको वार्षिक प्रतिवेदनमा उल्लेख छ।

साउनयता ४९ हजार ४ सय ५४ जना विद्यार्थीले एनओसी लिएको एनओसी शाखाले जनाएको छ। यस अवधिमा ४२ अर्ब ५० करोड रुपैयाँ अध्ययनका नाममा बाहिर गएको मन्त्रालयका अधिकारीहरू बताउँछन्।

गत आर्थिक वर्षमा १ लाख १० हजार २ सय १७ जना विद्यार्थीले एनओसी लिएका थिए। एनओसी लिएकामध्ये करिब ८० प्रतिशत विद्यार्थी अध्ययनका लागि विदेशी विश्वविद्यालयमा भर्ना भएको मन्त्रालयको वार्षिक प्रतिवेदनमा उल्लेख छ। उक्त अध्ययनका नाममा गत आर्थिक वर्षमा १ खर्ब ४२ करोड रुपैयाँ बिदेसिएको थियो।

आर्थिक वर्ष २०७८/७९ मा १ लाख १४ हजार जनाले एनओसी लिएका थिए भने ६८ अर्ब रुपैयाँ बिदेसिएको थियो। आर्थिक वर्ष २०७९/८० मा १ लाख १० हजार २ सय १७ जनाले एनओसी लिएका थिए। उक्त आवमा एक खर्ब १२ अर्ब पैसा अध्ययनका नाममा बिदेसिएको थियो।

कारोना महामारीका कारण आर्थिक वर्ष २०७७/७८ मा एनओसी लिनेको संख्या २९ हजार ४३२ जना थियो। उक्त आवमा ४५ अर्ब रुपैयाँ शिक्षाका नाममा बिदेसिएको थियो। २०७६/७७ मा ६३ हजार दुई सय ५९ एनओसी जारी भएका थिए । उक्त वर्ष ४६ अर्ब २४ करोड तीन लाख रुपैयाँ बिदेसिएको थियो ।

शिक्षा मन्त्रालयका प्रवक्ता सापकोटाका अनुसार  नेपाली युवा ७५ भन्दा बढी देशमा अध्ययनका लागि जाने गरेका छन्। विद्यार्थीले अवसरको सुनिश्चितता नेपालमा भन्दा विदेशमा धेरै देखेको प्रोफेसनल भिजा एन्ड एजुकेसन सर्भिसका निर्देशन सुमन खरेलको बुझाइ छ। विदेशमा अध्ययनसँगै काम र दाम पनि हुने भएकाले पछिल्ला वर्षमा उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीको संख्या बढेको उनले बताए। ‘नेपालको शिक्षा नीति अव्यावहारिक भएका कारण विद्यार्थी विदेश जान थाले। विद्यार्थी मात्र होइन, ठूलो जनशक्ति र पैसासमेत उनीहरूसँग बिदेसिँदै छ।’

अस्ट्रेलिया, क्यानडा, अमेरिका, जापान, बेलायतलगायतमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीको संख्या धेरै छन्। शिक्षा मन्त्रालयका अनुसार पलिल्लो समयमा न्युजिल्यान्ड, यूएई, दक्षिण कोरिया, भारत, फ्रान्स, डेनमार्क, चीन, मलेसिया, सिंगापुर, ब्रुनाईलगायतका देशमा समेत नेपाली युवा अध्ययनका लागि जाने गरेका छन्। अस्ट्रेलियापछि नेपाली विद्यार्थीको रोजाइ जापान, क्यानडा, बेलायत, अमेरिका हुने गरेको छ।

रसातलको यात्रामा उच्च शिक्षा

प्रकाशित: ८ पुष २०८० १७:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =