त्रिविमा नाममात्रैको सेमेस्टर प्रणाली

शिक्षाविद् विद्यानाथ कोइराला भन्छन् : हामीकहाँ सेमेस्टरको ‘स’ पनि छैन

रमेश दवाडी १२ पुष २०८० १२:२३
3.0k
SHARES
त्रिविमा नाममात्रैको सेमेस्टर प्रणाली

शिक्षण सिकाइ क्रियाकलाप पुरानै ढाँचा र परीक्षा सञ्चालन एवम् नतिजा प्रकाशनमा विलम्ब भइरहेपछि त्रिविमा लागू भइरहेको सेमेस्टर प्रणाली नाम मात्रैको बन्न पुगेको छ।

पृथक् दाहाल २०७६ सालमा काठमाडौँको रत्नराज्यलक्ष्मी क्याम्पसमा भर्ना भए। सेमेस्टर प्रणालीअन्तर्गत नेपाली विषयमा स्नातकोत्तर गर्दै गरेका दाहाल शोधपत्र लेख्दैछन्। परीक्षा र नतिजा प्रकाशनमा ढिलाइ भएकै कारण तह पार गर्न नसकिएको दाहालको गुनासो छ।

वार्षिक प्रणालीमा सास्ती भोगेका विद्यार्थीले सेमेस्टर प्रणाली लागू भएपछि समयमै परीक्षा सञ्चालन, नतिजा प्रकाशन भई तह पूरा होला भन्ने सोचेका थिए। तर त्रिभुवन विश्वविद्यालयको कमजोरीले एक दशकमै सेमेस्टर प्रणालीमाथि प्रश्न खडा भएको छ। चार सेमेस्टर (दुईबर्से) को तह सक्न पाँच वर्षसम्म लाग्ने भएको छ।

त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा २०७० सालदेखि सेमेस्टर प्रणालीबाट पढाइ सञ्चालन गर्न थालेको हो। स्नातकका केही संकायमा पनि सेमेस्टर प्रणालीमा कक्षा सञ्चालन हुँदै आएका छन्।

विद्यार्थी भर्ना, शिक्षण सिकाइ, परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा वार्षिक प्रणालीभन्दा कुनै भिन्नता नभएपछि सेमेस्टर प्रणालीका सम्बन्धमा गुनासो बढिरहेको त्रिविका पदाधिकारी नै स्वीकार गर्छन्। कोरानाका कारण केही वर्ष सेमेस्टर प्रणालीमा पनि वार्षिक कार्यतालिकाअनुसार सञ्चालन हुन नसकेको उनीहरू बताउँछन्।

दैनिक क्याम्पस आउनुपर्ने, हाजिरी हुनुपर्ने, कक्षा प्रस्तुति गर्नुपर्ने, प्रत्येक साता असाइन्टमेन्ट बुझाउनुपर्ने, प्रत्येक महिना आन्तरिक परीक्षा दिनुपर्ने प्रावधान सेमेस्टर प्रणालीमा छ। त्यसैले सेमेस्टर प्रणालीमा विद्यार्थी र प्राध्यापक दुवैको भूमिका महत्त्वपूर्ण हुन्छ।

सुरुका केही वर्ष सेमेस्टर प्रणालीको मर्मअनुसार पढाइ हुन्थ्यो। क्याम्पसले विद्यार्थीलाई अनिवार्य हाजिर गराउँथ्यो। परीक्षा सञ्चालन र नतिजा प्रकाशन समयमै आउँथ्यो। तर पछिल्ला दिनमा सेमेस्टर प्रणाली प्रभावकारी देखिन छाडेको छ।

८० प्रतिशत हाजिरी अनिवार्य र कक्षागत क्रियाकलापलाई अनावश्यक बजारीकरण गरिएको गुनासो विद्यार्थीको छ। दाहाल भन्छन्, ‘वार्षिकभन्दा सेमेस्टर प्रणाली राम्रो त छ तर ८० प्रतिशत हाजिरी नभए परीक्षा दिन नपाउने र कक्षागत क्रियाकलापलाई अनावश्यक बजारीकरण गरियो। यस कारण सेमेस्टर प्रणालीमा विद्यार्थीको आकर्षण घटिरहेको छ।’

नियमित क्याम्पस आउनुपर्ने भएकाले विद्यार्थी संख्या घटेको क्याम्पस प्रमुखहरू बताउँछन्। उनीहरूको बुझाइमा विद्यार्थी पढ्दै कमाउँदै गर्न रुचाउँछन्। स्नातकोत्तर पढ्ने विद्यार्थी अभिभावकलाई आर्थिक बोझ पनि दिन चाहँदैनन्। सेमेस्टर प्रणालीले यस्ता विषयलाई सम्बोधन गर्न सकेको छैन।

पिपल्स क्याम्पसका सहायक प्रमुख रोजेश पण्डित कतिपय क्याम्पसहरूले सेमेस्टर प्रणालीको मापदण्डअनुरूप चलाउन नसक्दा सेमेस्टर प्रणालीको साख घटेको बताउँछन्। त्रिविले अनुगमन गर्न नसक्दा पनि सेमेस्टरको प्रभाव बढ्न नसकेको उनले बताए।

पण्डित भन्छन्, ‘सेमेस्टर प्रणाली वार्षिक प्रणालीको विकल्पमा आएको हो। अहिले सेमेस्टरलाई वार्षिक प्रणालीजस्तै भएको आरोप लगाइन्छ। सेमेस्टर प्रणाली अध्यापनका लागि क्याम्पसले पूरा गर्नुपर्ने मापदण्ड भएनभएको विषयमा अनुगमनमा कमी देखिएको छ। अगुगमन गरेर सुधारका लागि सुझाव दिएको पाइँदैन।’

पशुपति बहुमुखी क्याम्पसका नेपाली विभाग प्रमुख डा.विष्णुकुमार खत्री कुनै पेसा तथा रोजगारी गरेर गुजारा चलाउने विद्यार्थी सधैँ क्याम्पस आउन नसक्ने बताउँछन्। उनको बुझाइमा सोही कारण सेमेस्टर प्रणालीमा विद्यार्थी संख्या न्यून रहेको हो।

उनी भन्छन्, ‘सेमेस्टर प्रणालीमा अध्ययन गर्ने विद्यार्थीलाई कोर्सले नै ८० प्रतिशत हाजिरी तोकेको छ। सेमेस्टर प्रणाली लागू भएका अधिकांश कलेज पनि सहर केन्द्रित छन्। स्नातकोत्तर तहका विद्यार्थी अधिकांश काम नगरी काठमाडौँ वा सहरमा बस्न सक्ने अवस्थाका छैनन्,’ खत्री भन्छन्, ‘रोजगारी र पढाइसँगसँगै लगेका विद्यार्थी कक्षामा शतप्रतिशत उपस्थित हुन नसक्ने बाध्यता छ।’

सेमेस्टर प्रणालीमा विद्यार्थी कक्षाकोठामा उपस्थित हुनैपर्ने नियमका कारण विद्यार्थी संख्या घट्दै गएको उनले बताए। उनले भने, ‘विद्यार्थी शतप्रतिशत उपस्थित हुनुपर्ने स्थितिले पनि वार्षिक प्रणालीभन्दा सेमेस्टरमा विद्यार्थी घटे। सेमेस्टर प्रणालीबाट तह पार गर्न सकिँदैन कि भनेर आत्तिएका छन्।’

डा.खत्री डिन कार्यालयले सेमेस्टर प्रणालीको व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउँछन्। सेमेस्टर प्रणालीका मूलभूत कुरालाई लागू गर्नसके यो प्रणाली सफल ठहरिने बताउँछन्। सेमेस्टर प्रणालीलाई अनलाइन प्रणालीमा लैजानुपर्ने सुझाव डा.खत्रीको छ।

विद्यार्थीका यस्ता समस्या क्याम्पसको विभागदेखि डिन कार्यालयलाई पनि थाहा छ। सोही कारण अनुपस्थित विद्यार्थीलाई ८० प्रतिशत हाजिरी पुर्‍याएर परीक्षामा सामेल गराइँदै आएको राजधानीको एउटा क्याम्पसका प्रमुखले बताए। उनले भने, ‘कतिपय विद्यार्थीको ८० प्रतिशत हाजिरी पुग्दैन। त्यो सेमेस्टर प्रणालीको नियमअन्तर्गत हुँदैन। तर विद्यार्थीको बाध्यता बुझेरै हाजिरी पुर्‍याएर परीक्षामा सामेल गराउँदै आएको। यो कुरा डिन कार्यालयसम्मलाई थाहा छ। त्यो बाहिर देखाइँदैन। भित्रै मिलाइन्छ।’ कतिपय क्याम्पसमा विद्यार्थी संगठनको दबाब पनि हुने गर्छ।

पिपल्स क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का सभापति रन्जित भण्डारी परीक्षा नतिजा समयमै नआउँदा सेमेस्टर प्रणालीप्रति नैराश्य बढेको बताउँछन्। त्रिवि वार्षिक क्यालेन्डरअनुसार सञ्चालन हुन नसकेको आरोप उनको छ।

एउटा सेमेस्टर ६ महिनामा पूरा हुन्छ। तेस्रो सेमेस्टरको पढाइ ८० प्रतिशत सकिँदा पनि दोस्रो सेमेस्टरका नतिजा आउँदैन। भण्डारी भन्छन्, ‘समयमा परीक्षा नतिजा नआउने भएकाले विद्यार्थीमा सेमेस्टर प्रणालीप्रति नैराश्य देखिएको छ। त्रिविले वार्षिक क्यालेन्डर पालना गरेको छैन। विद्यार्थी पलायन हुनुको एउटा कारण यो पनि एउटा हो।’ सेमेस्टर प्रणालीका प्रावधान उल्लंघन हुने गरी आफूहरूले क्याम्पस प्रशासनलाई दबाब नदिएको उनको भनाइ छ।

सेमेस्टर प्रणालीअन्तर्गत पढाइ हुने स्नातक तहमा पनि बीबीए, बीबीएमजस्ता तहमा विद्यार्थी संख्या घट्दै गएको छ। क्याम्पसले विद्यार्थी कम हुनेबित्तिकै शुल्क घटाएर भर्ना लिने र विद्यार्थी बढ्दा शुल्क बढाउने गरेको पाइन्छ।

क्याम्पसले मापदण्डअनुसार सेमेस्टर प्रणाली चलाउँछु भनेर प्रतिबद्धता जनाउने तर पूरा नगर्ने स्थिति रहेको पिपल्स क्याम्पसका सहायक प्रमुख पण्डितले बताए। चलाउन नसकिने हो भने सेमेस्टर प्रणाली खारेज गर्नुपर्ने सुझाव उनको छ।

सेमेस्टर प्रणालीमा विद्यार्थीले कम्युटरको ज्ञानदेखि सेमिनार पेपर बनाउनेसम्मको शिक्षा पाउँछन्। त्यो व्यावहारिक रूपमै गर्नुपर्ने पनि हुन्छ। पण्डित भन्छन्,‘तर थोरै मात्र क्याम्पसले सेमेस्टर प्रणालीको मर्मअनुसार अध्यापन गराएका छन्।’

त्रिवि व्यवस्थापनले सेमेस्टर प्रणालीको जिम्मा सम्बन्धित संकायको डिन कार्यालयलाई दिएको छ। वार्षिक प्रणालीमा परीक्षाको व्यवस्थापन परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट हुँदै आएको छ। स्नातक तहका केही संकायमा भने वार्षिक प्रणाली कायम छ।

सेमेस्टर प्रणालीमा सञ्चालित क्याम्पसैपिच्छे फरकफरक शुल्क हुने गरेको छ। एउटा सेमेस्टर प्रणाली पूरा गर्न मोटै रकम बुझाउनुपर्ने हुन्छ। मोटो रकम बुझाए पनि सोअनुसारको सिकाइ क्रियाकलाप नभएको विद्यार्थीहरू बताउँछन्।

परीक्षादेखि नतिजासम्ममा हुने ढिलाइले सेमेस्टर प्रणालीप्रति विद्यार्थीको झुकाव न्यून देखिन थालेको विद्यार्थीहरू बताउँछन्। शिक्षाशास्त्रका जानकार भने त्रिविमा नाम मात्रैको सेमेस्टर प्रणाली सञ्चालन भइरहेको टिप्पणी गर्छन्। सेमेस्टर प्रणालीमा शिक्षक आफैँले प्रश्नपत्र बनाउँछ। आफैँले उत्तरपुस्तिका परीक्षण गर्छ। पाठ्यक्रम पनि आवश्यकताअनुसार उसैले थपघट गर्छ। अन्तर्राष्ट्रिय अभ्यास यही हो।

शिक्षाविद् विद्यानाथ कोइराला भन्छन्, ‘हामीकहाँ यस्तो छैन। हामीले न शिक्षकलाई विश्वास गर्‍यौँ न पाठ्यक्रम शिक्षकले बनाउन सक्छ भन्ने किसिमको मान्यता स्थापित गर्‍यौँ। हामीले सेमेस्टर प्रणालीलाई नाम मात्र दियौँ।’

सेमेस्टरको विशेषता विद्यार्थीले पढ्नुपर्छ भन्ने रहे पनि त्रिविले त्यसरी सञ्चालन गर्न नसकेको आरोप उनको छ। सेमेस्टर प्रणाली व्यवस्थित हुन नसक्नुमा विद्यार्थीको पनि कमजोरी रहेको बुझाइ कोइरालाको छ।

उनी भन्छन्,‘हाम्रा विद्यार्थीमा पनि समस्या छ। ऊ त राजनीतिक दलको कार्यकर्ता हो। उसले थर्काउँछ। सेमेस्टर सिस्टममा थर्काउने भन्ने भाषा हुँदैन।’ सबै हिसाबबाट मूल्यांकन गर्ने हो भने हामीकहाँ सेमेस्टरको ‘स’ पनि नरहेको कोइरालाले बताए। उनले भने, ‘खोल मात्रै हो भित्री कुरा छैन।’

त्रिवि व्यवस्थापन संकायका डिन डिल्लीराज शर्मा पनि समयमा परीक्षा नहुने, नतिजा नआउने, नतिजा समयमा नआउँदा विद्यार्थीको करियरमा बाधा पुगेको जस्ता गुनासा आइरहेको बताउँछन्।

यस्ता गुनासो सम्बोधन हुने गरी सेमेस्टर प्रणालीका कार्यक्रम शैक्षिक क्यालेन्डरअनुसार सञ्चालन भइरहेको दाबी शर्माको छ। उनी भन्छन्, ‘डिन कार्यालयहरूबाट सञ्चालन हुने सेमेस्टर प्रणालीका कार्यक्रम कोभिड–१९ भन्दा अगाडि क्यालेन्डरअनुसार हुने गरेको थियो। कोरोनाका कारण बीचमा कही अलमल भयो। पछिल्ला दिनमा हामीले धेरै सुधार गरेका छौँ र लयमा फर्केको छ।’

मूल्यांकनमा समस्या छ : डा. रमेश शुभेच्छु

डा. रमेश शुभेच्छु

सेमेस्टर प्रणालीको एक दशकको अभ्यास कस्तो रह्यो?

सेमेस्टर प्रणाली विश्वका धेरै विश्वविद्यालयका उच्च शिक्षामा अभ्यास भएको प्रणाली हो। केही सीमा रहेर पनि पछिल्लो समय विकसित शैक्षिक प्रणालीका रूपमा यसको अवलम्बन गर्नुको विकल्प छैन। यस प्रणालीले सैद्धान्तिक र प्रायोगिक शिक्षालाई समेट्ने प्रयास गरेको छ।

सेमेस्टर प्रणाली लागू भएपछि विद्यार्थी संख्या किन घटेका हुन्?

मलाई लाग्छ, सेमेस्टर प्रणाली भएका कारण विद्यार्थी घटेका होइनन्। स्नातक तह चारबर्से बनेपछि स्नातकबाटै धेरै विद्यार्थी भाग्न थालेका छन्। स्नातकोत्तरमा सञ्चालित सेमेस्टर प्रणालीले विद्यार्थीको हाजिरी, कक्षा प्रस्तुति, नियमित कक्षापत्र निर्माण र ‘टर्म पेपर’ निर्माण गर्नुपर्ने भएकाले यस प्रणालीमा पढ्न सकेसम्म ‘होम सेन्टर’ मा विद्यार्थी सक्रिय भएका छन्।

मेरो भनाइको अर्थ के भने स्नातकोत्तर तह पढ्ने विद्यार्थी जागिर र व्यवसायमा पनि संलग्न हुने भएकाले विश्वविद्यालय र केन्द्रीय क्याम्पसमा विद्यार्थी घटेका हुन्। समग्रमा विद्यार्थी घटेका होइनन्। यहाँले सोध्न खोज्नुभएको प्रश्नको अर्को पाटो विद्यार्थीको विदेशी विश्वविद्यालयको रोजाइ पनि हो।

विद्यार्थी भर्ना हुने तर नियमित कक्षा नलिने समस्या कति छ?

यो समस्या पनि आंशिक रूपमा रहेकै छ। प्रायः उच्च शिक्षाका विद्यार्थी भर्ना गरेर आफैँ पढेर परीक्षा दिन मन पराइरहेका छन्। यसका लागि हिजो प्राइभेट व्यवस्था थियो। सेमेस्टर प्रणालीमा त्यस्तो व्यवस्था छैन। यही व्यवस्था अभावमा नियमित कक्षा नलिने समस्या बढेको हो।

नियमित नआउने विद्यार्थीको मूल्यांकन गर्न त कठिन होला नि?

सेमेस्टर प्रणालीको मूल समस्या भनेकै यही हो। नियमित आउन नसक्ने विद्यार्थीलाई नम्बरै नदिन पनि मिलेन। नम्बर दिँदा कस्तो आधार तय गर्नु भन्ने समस्या हुन्छ। विद्यार्थीको दबाब हुन्छ। उता विद्यार्थी संगठनको पनि दबाब आउँछ। कसै गर्दा सजिलो छैन। परीक्षामा लेखेका आधारमा मात्र विद्यार्थी पासै हुँदैनन् पासै भए पनि राम्रो जीपीए आउँदैन। त्यसैले यो अप्ठ्यारो कुरा छ।

विद्यार्थीलाई ‘टर्म पेपर’ र आन्तरिक परीक्षामा सहभागी गराएर सोही आधारमा नम्बर दिने गरिएको छ तर यो वैज्ञानिक होइन। यस्तो जनशक्ति राम्रो नम्बर लिएर पास भए पनि फिल्डमा कमजोर हुन्छ। कुनै विषय पढ्ने विद्यार्थी आफ्नो विषयमै दक्ष भएन भने त्यो शिक्षा काम लाग्दैन। यस्तै विद्यार्थीले विश्वविद्यालयलाई बेरोजगार उत्पादनको केन्द्र बनाइदिन्छन्। यो ठूलो समस्या र चुनौतीको विषय हो।

सेमेस्टर प्रणालीमा केकस्ता प्रावधान सुधार भएमा प्रभावकारी होला?

अहिले लागू गरिएका सबै प्रावधान ठिकठाक छन्। यिनलाई कडाइका साथ लागू गर्ने एउटा पक्ष हो। हामी कोभिडपछाडि अनलाइन कक्षा पनि लिन सक्ने भएका छौँ। साह्रै अप्ठ्यारोमा रहेका विद्यार्थीलाई खुला विश्वविद्यालयका शैलीमा समेट्न सकिन्छ। सिकाइका अभिन्न पक्ष कक्षा प्रस्तुति, कक्षापत्र, सत्रपत्र, शोधपत्र आदिलाई नियमित कक्षामा समेट्न सकिएन भने अन्य माध्यमबाट समेट्ने प्रयास गर्नुपर्छ।

(डा. रमेश शुभेच्छु, काठमाडौँको बानेश्वर बहुमुखी क्याम्पसमा प्राध्यापन गर्छन्।)

त्रिविमा १५ वर्षदेखि उही शुल्कमा पढाइरहेका छौँ : डिल्लीराज शर्मा [भिडिओसहित]

जथाभाबी सम्बन्धनले थला परेकाे पूर्वाञ्चल

जनशक्तिसँगै नगद पनि विदेश

रसातलको यात्रामा उच्च शिक्षा

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =