त्रिविमा १५ वर्षदेखि उही शुल्कमा पढाइरहेका छौँ : डिल्लीराज शर्मा [भिडिओसहित]

हिमाल प्रेस १० पुष २०८० १७:४७
1.3k
SHARES
त्रिविमा १५ वर्षदेखि उही शुल्कमा पढाइरहेका छौँ : डिल्लीराज शर्मा [भिडिओसहित]

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायका डिन प्रा.डा.डिल्लीराज शर्माले विश्वविद्यालयहरू क्यालेन्डरअनुसार नचल्दा पनि जनशक्ति पलायन भइरहेको बताएका छन्।

उनले भने,‘विश्वविद्यालयहरूमा समयमा परीक्षा हुँदैन, परीक्षा समयमा नभएपछि नतिजा प्रकाशनमा ढिलाइ हुन्छ। यसबाट आफ्नो भविष्यमा असर पर्छ भन्ने भाष्य विद्यार्थीमा निर्माण भएको छ। यो साँचो हो।’

उनले त्रिभुवन विश्वविद्यालय पनि शैक्षिक क्यालेन्डरअनुसार चल्न नसकेको स्वीकारे। यस्तै उनले पढ्दै कमाउँदै गर्ने अवस्था नरहेकाले पनि विद्यार्थीहरू विदेश जान बाध्य भएको बताए।

शर्माले भने,‘विद्यार्थीको मनस्थिति हिजोको जस्तो छैन। पढिसकेपछि के गर्ने भनेर विद्यार्थीले गम्भीर रूपमा सोच्न थालिसकेका छन्।’ पढाइमा अभिभावकलाई बोझ दिनु हुँदैन भनेर विद्यार्थीहरू काम र पढाइसँगसँगै लैजाने विषयमा सचेत हुन थालेको उनले बताए।

तर सरकारले त्यस्तो सुविधा दिन नसकेको उनको बुझाइ छ। पाठ्यक्रम पनि विद्यार्थीले चाहेअनुसार लचक र समय सान्दर्भिक नरहेको उनले बताए। उनले भने, ‘पाठ्यक्रम परिवर्तन गर्न जरुरी छ। यसलाई समय सान्दर्भिक बनाउनुपर्नेछ।’

कस्ता पाठ्यक्रम पढाउने र विद्यार्थीलाई केमा संलग्न गराउने भन्ने विषयमा योजना आयोग, सरोकारवाला निकाय र सरकारबीच छलफल भएर अघि बढ्नुपर्ने उनले बताए। उनका अनुसार यस्ता विषयमा विश्वविद्यालयले पनि सरकारलाई झक्झक्याउन त्यति चासो दिएको छैन। उनले भने, ‘विश्वविद्यालयका बौद्धिक र सरकारबीच केही दुरी छ।’

उनले आफ्नो आम्दानीबाट पढ्ने वातावरण नहुँदा पनि विद्यार्थी स्वदेशमा बस्न नचाहेको बताए। यसैगरी विश्वविद्यालयमा उपकुलपति नियुक्ति गर्दा टिम बनाउन सक्ने व्यक्तिलाई छनोट गर्नु आवश्यक रहेको उनको जोड छ।

उनले भने, ‘टिम बनाउन सक्ने प्राज्ञिक व्यक्ति उपकुलपति बनाएमात्रै उसले काम गर्न सक्छ।’ साथै उनले त्रिभुवन विश्वविद्यालयमा आकर्षण नघटेको बताए। यद्यपि १५ वर्षदेखि एउटै शुल्कमा पढाइरहेको उनी बताउँछन्। उनले भने, ‘राज्यले दिने अनुदान पनि बढाउँदैन। विद्यार्थीको शुल्क पनि बढाउन पाइँदैन। विश्वविद्यालयले पूर्वाधार विकास कसरी गर्ने?’

राज्यको विश्वविद्यालयलाई हेर्ने दृष्टिकोण सकारात्मक नभएसम्म विश्वविद्यालयका समस्या समाधान नहुने शर्माले बताए। उनले राजनीतिक दलहरूबीच पनि विश्वविद्यालय सञ्चालनमा साझा दृष्टिकोणको आवश्यकता औँल्याएका छन्।

उनले विश्वविद्यालयले कमाएर खान पाउने वातावरण भएमा, पदाधिकारी नियुक्ति प्रक्रियामा स्वायत्त भएमा, विश्वविद्यालयहरूलाई उद्योगसँग जोड्न सकिएमा धेरै समस्या समाधान हुने उनको सुझाव छ। उनी भन्छन्, ‘पठनपाठन विधिमा लचक हुनुपर्छ। विद्यार्थीलाई पढ्ने र काम गर्ने वातावरण बनाउनुपर्छ। विश्वविद्यालयको अनुसन्धान राज्यको नीतिमा समावेश हुनुपर्छ।’

विस्तृत भिडिओमा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =