दाग मेटाउने प्रयासमा दक्षिण अफ्रिका

हिमाल प्रेस २५ कार्तिक २०८० ७:०७
14
SHARES
दाग मेटाउने प्रयासमा दक्षिण अफ्रिका

काठमाडौँ- दक्षिण अफ्रिकाले क्रिकेट विश्वकपको समूह चरण जितसहित टुंग्याएको छ। शुक्रबार अहमदाबादमा दक्षिण अफ्रिकाले अफगानिस्तानमाथि पाँच विकेटको जित हात पार्‍यो।

यसअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको दक्षिण अफ्रिकासँग अब नौ खेलबाट १४ अंक भएको छ। अंक तालिकामा दक्षिण अफ्रिका दोस्रो स्थानमा छ भने तेस्रो स्थानमा अस्ट्रेलिया छ। यद्यपि अस्ट्रेलियाले समूह चरणमा अन्तिम खेल खेल्न बाँकी छ।

शनिबार बंगालदेशलाई हराए, अस्ट्रेलियाको पनि १४ अंक नै हुनेछ। रनरेटमा दक्षिण अफ्रिकालाई उछिने अस्ट्रेलिया दोस्रो स्थानमा उक्लिनेछ। जे होस्, यी दुई टिममध्ये जो दोस्रो स्थानमा भए पनि यो तय छ, सेमिफाइनलमा उनीहरू नै आमनेसामने हुनेछन्।

दक्षिण अफ्रिकाले अफगानिस्तानलाई हराउँदा भान डेर डुसेनले अविजित ७६ रन बनाए। उनको ब्याटिङ चलेपछि दक्षिण अफ्रिकाले अफगानिस्तानबाट पाएको २४५ रनको लक्ष्य ४७.३ ओभरमा पूरा गरेको थियो।

उनै भान डेर डुसेन अस्ट्रेलियाविरुद्धको सेमिफाइनलमा दक्षिण अफ्रिका जितको मानसिकता बोकेर मैदान ओर्लिने बताउँछन्। समूह चरणमा यसपालि अस्ट्रेलियालाई हराइसकेको भए पनि दोस्रो पटक भिड्दा पाँच पटकको च्याम्पियनले फरक स्तरको चुनौती दिने पनि उनको स्वीकरोक्ति थियो।

‘चार वर्षअघि पनि अस्ट्रेलियाले विश्वकप सेमिफाइनल खेलेको थियो। यसकारण यो टिमका खेलाडीहरु अनुभवी छन्। यस्तो खेल कसरी खेल्नुपर्छ भन्ने उनीहरुलाई थाहा छ,’ भान डेर डुसेनले भनेका छन्, ‘तर त्यो दिनमा जो बलियो हुन्छ, खेल उसैले जित्ने हो। हामीले विश्वकपको सुरुवातबाटै जसरी हुन्छ जित्ने भन्ने भावना लिएर खेलिरहेका छौँ। फलतः सेमिफाइनलमा पनि हामी उही मानसिकताका साथ खेल्नेछौँ।’

विश्वकपको सेमिफाइनलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियाको सामना तेस्रो पटक गर्न लागेको हो। सन् १९९९ को त्यो सेमिफाइनल खेल ‘टाई’ भएको थियो। तर समूह चरणमा धेरै अंक बटुलेका हिसाबले अस्ट्रेलिया फाइनलमा प्रवेश गरेको थियो। आठ वर्षपछिको सेमिफाइनलमा भने दक्षिण अफ्रिका सात विकेटले हार्यो।

‘सन् १९९९ को सेमिफाइनलबारे त मलाई धेरै थाहा छैन। किनभने म त्यसबेला बस् १० वर्षको मात्र थिएँ। यद्यपि मलाई के थाहा छ भने अस्ट्रेलिया विश्वकप जित्न लायकको टिम थियो। फेरि हामी पनि कमजोर थिएनौँ,’ भान डेर डुसेनले भनेका छन्, ‘त्यसपछिको सेमिफाइनलमा चाहिँ सायद हाम्रो टिमको रणनीतिले काम गरेन। क्रिकेटमा यस्तो हुन्छ। कहिलेकाहिँ सोचे अनुसारले खेल्न सकिँदैन।’

भारतमा जारी विश्वकपको पहिलो सेमिफाइनल नोभेम्बर १५ र १६ मा हुँदैछन्। पहिलो सेमिफाइनल मुम्बईको वाङ्खेडेमा हुनेछ भने दोस्रो सेमिफाइनल आयोजना गर्ने जिम्मा कोलकाताको इडेन गार्डेन्सको काँधमा छ। उपाधि भिडन्त भने नोभेम्बर १९ का दिन अमहदाबादमा हुनेछ।

भान डेर डुसेन आफ्नो टिम केवल सेमिफाइनलबारे मात्र नसोचिरहेको बताउँछन्। ‘हामी नोभेम्बर १९ का दिन उपाधि उचालिरहेको हुनेछौँ कि हुनेछैनौँ, त्यो सोचिरहेका छौँ। हाम्रो कुराकानीको मुख्य विषय नै यही हुने गरेको छ। तर आखिरमा हामी सफल भएनौँ भने पनि घर फर्कंदा निराश हुनेछैनौँ। किनभने हामीले यो विश्वकपमा लोभलाग्दा क्षणबाट गुज्रिएका छौँ,’ भान डेर डुसेनको भनाइ छ।

यसपालिको विश्वकपमा दक्षिण अफ्रिकाले हालसम्म जम्मा दुई खेल मात्र हारेको छ। श्रीलंकालाई हराएर विश्वकपको सुरुवात गरेको दक्षिण अफ्रिकाले दोस्रो खेलमा बलियो अस्टे«लियालाई १३४ रनले पन्छाएको थियो। नेदरल्यान्ड्ससँग अप्रत्याशित पराजय भोगेको भए पनि दक्षिण अफ्रिकाले पाकिस्तान, न्युजिल्यान्ड, इंग्ल्यान्ड जस्ता टिमलाई हराएको थियो।

समूह चरणमा सधैँ राम्रो प्रदर्शन गर्ने दक्षिण अफ्रिका नकआउटमा लय गुमाउने टिमका रुपमा परिचित छ। कहिल्यै विश्वकप नजितेको दक्षिण अफ्रिका आफूमाथि लागेको दाग मेटाउन चाहन्छ। र यो लक्ष्य पूरा गर्न दक्षिण अफ्रिकाका लागि भान डेर डुसेन जस्ताको खेलाडीको लय महत्त्वपूर्ण छ। उनी आफू चाहिँ समग्र टिमले मजबुत प्रदर्शन गरिरहेको र यो जारी रहे मात्र विश्वकपमा सफलता मिल्ने बताउँछन्।

प्रकाशित: २५ कार्तिक २०८० ७:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + six =