सेमिफाइनल पुग्ने सम्भावना सकिएपछि नेपाल सुपर सिक्समा बंगलादेशसँग भिड्दै

हिमाल प्रेस १७ माघ २०८० ६:४४
34
SHARES
सेमिफाइनल पुग्ने सम्भावना सकिएपछि नेपाल सुपर सिक्समा बंगलादेशसँग भिड्दै

काठमाडौँ- दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप अन्तरगत सुपर सिक्सको पहिलो खेलमा नेपालले आज बंगलादेशसँग खेल्दैछ।

खेल नेपाली समय अनुसार दिउँसो १ बजेर ४५ मिनेटमा ब्लोमफोन्टेनमा सुरु हुनेछ।

नेपालले शुक्रबार अफगानिस्तानमाथि १ विकेटको ऐतिहासिक विजय हात पार्दै सुपर सिक्समा पुगेको थियो। पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भए पनि समूह चरणको निर्णायक खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरी सुपर सिक्समा पुगेको थियो।

समूह चरणका खेलमा बंगलादेशले अमेरिकालाई १२१ रन र आयरल्याण्डमाथि ६ विकेटको जित निकालेको थियो। भारतसँग भने ८४ रनले पराजित भएको थियो।

नेपाल र बंगलादेशबीच विश्वकपमा तेस्रो पटक आमनेसामने हुन लागेका हुन्। विश्वकपमा यी दुईबीच सन् २००२ मा न्यजिल्याण्डमा पहिलो प्रतिस्पर्धा भएको थियो। जहाँ नेपालले बंगलादेशलाई २३ रनले हराएको थियो। दोस्रो पटक सन् २०१६ मा बंगलादेशमै भएको विश्वकपमा नेपाल ६ विकेटले पराजित भएको थियो।

त्यस्तै यू-१९ एसिया कपमा २ पटक भेट हुँदा दुवै खेलमा बंगलादेश विजयी भयो। सन् २०१९ मा बंगालादेशले नेपाललाई ६ विकेटले हराएको थियो भने २०२१ मा १५४ रनको फराकिलो अन्तरले हराएको थियो।

समूह ‘डी’ को तेस्रो हुने टोलीले समूह ‘ए’ को पहिलो र दोस्रो स्थानसँग खेल्ने प्रावधान अनुसार नेपालले भारत र बंगलादेशसँग खेल्न लागेको हो।

दोस्रो खेलमा माघ १९ गते नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ। भारत अण्डर नाईन्टिन विश्वकपकै सर्वाधिक सफल टोली हो। ५ पटकको विश्वकप विजेता भारत ३ पटक उपविजेता भइसकेको छ।

सेमिफाइनल पुगेन नेपाल

आइसीसी यू-१९ विश्वकपमा सुपर सिक्सको खेल खेल्नु अघि नै नेपालको सेमिफाइनल सम्भावना समाप्त भएको छ।

सुपर सिक्समा मंगलबार भारत र पाकिस्तान विजयी भएसँगै नेपालको सेमिफाइनल पुग्ने दौड सकिएको हो। अब नेपालले सुपर सिक्सका दुवै खेल जिते पनि सेमिफाइनल पुग्न सम्भव हुने छैन ।

आईसीसीले समूह चरणका खेलको अंक समेत सुपर सिक्समा जोडेपछि नेपाललाई घाटा लागेको हो। भारत र पाकिस्तान दुवै ४ अंकसहित सुपर सिक्स पुगेका थिए । नेपालको अंक थिएन ।

भारत र पाकिस्तानले खेल जितेपछि ६६ अंक भएको छ । समूह १ बाट यी दुई टोली नै सेमिफाइनलमा पुग्ने सम्भावना देखिएको छ ।

यो समूहबाट नेपालसँगै न्युजिल्याण्ड र आयरल्याण्ड पनि बाहिरिएका छन्। २ अंक भएको बंगलादेशको मात्रै झिनो सम्भावना छ ।

प्रकाशित: १७ माघ २०८० ६:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =