दक्षिण अफ्रिकी प्रशिक्षक रब वाल्टर

‘फेरि भारतसँग खेल्नुपरे नतिजा फरक आउनसक्छ’

हिमाल प्रेस २० कार्तिक २०८० १०:५२
22
SHARES
‘फेरि भारतसँग खेल्नुपरे नतिजा फरक आउनसक्छ’

काठमाडौँ- दक्षिण अफ्रिकाका प्रशिक्षक रब वाल्टरले विश्वकपमा भारतसँग फेरि भिड्न पाए फरक नतिजा आउने बताएका छन्। आइतबार समूह चरणको खेलमा दक्षिण अफ्रिका घरेलु टिम भारतसँग २४३ रनले पराजित भएको थियो।

हारका बाबजुद दक्षिण अफ्रिका विश्वकप अंकतालिकाको दोस्रो स्थानमा यथावत् छ। दक्षिण अफ्रिकाले यसअघि नै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको थियो। १० टिम सहभागी विश्वकपको अन्तिम चारमा पुग्ने अर्को टिम भारत हो।

सेमिफाइनलमा स्थान पक्का गरिसकेको भए पनि भारतविरुद्धको हार नमिठो भएको वाल्टरको भनाइ छ। यद्यपि हार विश्वकपको सबैभन्दा बलियो टिमसँग व्यहोरेको उनको स्वीकारोक्ति थियो। दक्षिण अफ्रिकालाई हराउँदा भारतका विराट कोहलीले शतक बनाए।

इडन गार्डेन्समा १०१ रन बनाएसँग उनले सचिन तेन्दुलकरको सर्वाधिक शतकको कीर्तिमान बराबरी गरे। एकदिवसीय क्रिकेटमा तेन्दुलकर र कोहलीले बनाएको शतक संख्या हो, ४९।

यसपालिको विश्वकपमा दोस्रो पराजय भोग्ने क्रममा दक्षिण अफ्रिका ८३ रनमा समेटिएको थियो। भारतले दिएको ३२७ रनको योगफल पछ्याउँदा चार दक्षिण अफ्रिकी ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गरे। जसमा मार्का जान्सेनले बनाएको १४ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो। रस्सी भान डेर डुसेनले १३ तथा कप्तान टेम्बा बाभुमा र डेभिड मिलरको नाममा ११-११ रन रह्यो।

बलियो लयमा रहेको भारतले यसअघिको आफ्नो खेलमा श्रीलंकलाई ५५ रनमा अलआउट गरेको थियो। श्रीलंकाजस्तै दक्षिण अफ्रिका पनि भारतीय बलरहरूको सिकार बन्यो। दक्षिण अफ्रिकाले आफ्नो एक दिवसीय इतिहासकै दोस्रो थोरै रन बनाएको हो। योबाहेक याथ गर्नुपर्ने अर्को तथ्यांक हो, विश्वकपमा दक्षिण अफ्रिका यत्तिको कम रनमा अलआउट भएको थिएन।

भारत र दक्षिण अफ्रिका यो विश्वकपमा फेरि एकपटक आमनेसामने हुन सक्छन्। त्यो भिडन्त सेमिफाइनलमा हुनसक्छ। फाइनलमा भेट हुने सम्भावना पनि बाँकी नै छ। फाइनल अहमदाबादमा नोभेम्बर १९ मा हुने तालिका छ।

एकै खेल नहारेको भारतसँग दोस्रो पटक खेल्नुपरे दक्षिण अफ्रिका नडराउने वाल्टरको भनाइ थियो। बरु यो हारको अनुभव त्यो खेलमा काम लाग्ने विश्वास उनले व्यक्त गरे। ‘यो खेलबारे के भनौँ? एक हिसाबले हाँसउठ्दो थियो। यसले हामीलाई पाठ पढायो,’ दक्षिण अफ्रिकाका एकदिवसीय प्रशिक्षक वाल्टरले भने, ‘जे होस्, फेरि भारतको सामना गर्नुपरे, यही नतिजा दोहोरिन्छ भन्ने छैन। फरक नतिजा आए म अच्चमित हुन्न।’

‘विश्वकपको सुन्दरता यही हो, फेरि अर्को एक मौका पाउन सकिन्छ। जहाँ यो खेलबाट सिकेको पाठको उपयोग हुनेछ,’ वाल्टरले थपे।

भारतसँगको यो खेलमा दक्षिण अफ्रिकाले जान्सेनबाट निकै अपेक्षा गरेको थियो। पराजित टिमका लागि सबैभन्दा धेरै रन बनाएका उनले जम्मा एक विकेट मात्र लिन सके। दक्षिण अफ्रिकी बलिङको सुरुवात गरेका उनका लागि नयाँ बल फापेन। २३ वर्षीय जान्सेनले ९.४ ओभर बलिङ गर्दा ९४ रन खर्च गरे। ‘भारत असाध्यै बलियो टिम छ। हरेक विभागमा प्रतिभावान् खेलाडी छन्। जसले गर्दा यो टिम सन्तुलित देखिन्छ। तब त हरेक खेल जितेको छ,’ जान्सेनले भने।

प्रशिक्षक वाल्टरले कुनै पनि टिमको जितमा उसको रणनीतिको मुख्य भूमिका हुने र यो मामलामा भारत मजबुत देखिएको विचार राखे। ‘हामी सुरुबाटै कमजोर देखियौँ। हामी जान्सनको क्षमताबारे जानकार छौँ। तर आज भने उनले सोचेजस्तो सुरुवात गर्न सकेनौँ,’ वाल्टरले भने, ‘हामीले के बिर्सनु हुँदैन भने यी युवा खेलाडी पहिलो पटक विश्वकप खेलिरहेका छन्। आजको खेललाई छाडेर बाँकी सन्तोषजनक बलिङ गरेका छन्। मलाई विश्वास छ फेरि भारतसँगै भिड्नुपरे उनले फरक किसिमको खेल देखाउनेछन्।’

प्रकाशित: २० कार्तिक २०८० १०:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =