हेलम्बुलाई चौंरी हेर्ने गन्तव्य बनाइँदै

हिमाल प्रेस २३ वैशाख २०८१ २१:०१
34
SHARES
हेलम्बुलाई चौंरी हेर्ने गन्तव्य बनाइँदै

सिन्धुपाल्चोक- हिमाली क्षेत्रमा पालिने चौंरी लोप हुन थालेपछि सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले संरक्षणका लागि अभियान थालेको छ। चौँरीप्रति आन्तरिक तथा बाह्य पर्यटकसमेत आकर्षित हुने भएकाले गाउँपालिका चौंरी संरक्षणमा जुटेको हो। पछिल्ला समय चौंरी र याकको सङ्ख्या घटिरहेकाले त्यसलाई बढाउन गाउँपालिकाले विभिन्न कार्यक्रम ल्याएको छ।

ब्रिमु (याक) ल्याई माथिल्लो क्षेत्रमा प्रत्येक वर्ष छाड्न लागिएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए। हेलम्बुको माथिल्लो क्षेत्र मेलम्ची घ्याङलगायतका स्थानमा चौंरी, याक हेर्न पाइन्छ। तर अहिले लोप हुन लागेकाले चौंरी संरक्षणमा पालिका लागिरहेको उनले बताए। हेलम्बुले यसअघि नै चौंरी संरक्षण अभियानअन्तर्गत बीमा गरेको छ।

चौंरीपालन गरेमा स्थानीयको आर्थिक हैसियत बलियो हुने, गाउँवासीले रोजगारी पाउने मात्रै नभइ चौंरीकै कारण पर्यटक बढ्ने भएकाले अभियान ल्याइएको अध्यक्ष शेर्पाको भनाइ छ। याकको सङ्ख्या बढाउने र चौरीको संरक्षण गरेमा पर्यटकीय नगरी हेलम्बुमा अझै आन्तरिक र बाह्य पर्यटकको आगमन हुने उनी बताउँछन्।

हेलम्बु ह्योल्मो समुदायको बसोबास क्षेत्र हो। गुम्बाको गाउँ भनेर चिनिने हेलम्बुमा रेडपाण्डा, हिमाल, ग्रेटटेल हेर्न पर्यटक आउने गर्दछन्। योसँगै अब हेलम्बु चौंरी हेर्ने गन्तव्यको सूचीमा पर्ने आशा गरिएको छ।

प्रकाशित: २३ वैशाख २०८१ २१:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + eleven =