देशमा राजनीतिक संकट छैन : कांग्रेस महामन्त्री शर्मा

हिमाल प्रेस ५ जेठ २०८१ १९:२२
8
SHARES
देशमा राजनीतिक संकट छैन : कांग्रेस महामन्त्री शर्मा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद्को गतिरोधलाई राजनीतिक संकटका रूपमा व्याख्या गर्न नहुने बताएका छन्।

कश्यपप्रसाद पौडेलको कथा सङ्ग्रह ‘आरनको आगो’ विमोचन समारोहमा आज उनले देशभित्र राजनीतिक संकटको स्थिति नभएको स्पष्ट पार्दै आर्थिक र सामाजिक रूपान्तरणबाट समृद्धि हासिल गर्न सबै एकजुट हुनुपर्ने बताए।

देशभित्र आर्थिक संकट वास्तविक चुनौतीका रूपमा रहेकाले यसको समाधान गर्न सबै राजनीतिक दललाई एकठाउँमा आउन उनले आग्रह गरे।

‘देशमा राजनीतिक संकट छैन। राजनीतिक संकट त्यसबेला हुन्छ जब हिंसात्मक द्वन्द्व चलिरहेको हुन्छ। ती संकटसँग सामना गरेर हामी एउटा बाटोमा आइसक्यौँ। काम गर्नका लागि प्रतिस्पर्धाको मनोविज्ञान बनाउनुपर्छ’, महामन्त्री शर्माले भने,‘जुनसुकै दल र आस्था भए पनि अब सोच्ने साझा कुरा भनेको आर्थिक र सामाजिक रुपान्तरण नै हो। त्यसका लागि हामी एकमत हुन आवश्यक छ।’

पुस्तकको विमोचन गर्दै उनले विमोचित पुस्तकले देशको आर्थिक र सामाजिक अवस्थाको चित्रण गरेको बताए।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्यसचिव डा.तुलसी भट्टराईले लेखक पौडेलको यस कथा सङ्ग्रहका अधिकांश कथाले समयको सत्य उजागर गर्न सामाजिक यथार्थमा आधारित भएको चर्चा गरे।

कथा सङ्ग्रहबारे समीक्षा गर्दै लेखक एवं पत्रकार लक्ष्मण अधिकारीले वर्तमान कथा लेखन शैलीमा अलि फरक धारका विषयवस्तु समेटिएको बताए।

प्रकाशित: ५ जेठ २०८१ १९:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + two =