मनाङमा याक र चौंरीमा पनि देखियो लम्पी स्किन

हिमाल प्रेस ४ साउन २०८० १३:२६
10
SHARES
मनाङमा याक र चौंरीमा पनि देखियो लम्पी स्किन

मनाङ– हिमाली मनाङ मनाङका पशुमा लम्पी स्किनको संक्रमण फैलिँदै गएको छ। यहाँ पहिलो पटक असार २४ गते पशुमा संक्रमण देखिएको थियो।

नाङका पशुमा हालसम्म लम्पी स्किनबाट २ सय ३६ गाई, गोरु र याक संक्रमित भएको भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्रका प्रमुख नारायण कुसुमले जानकारी दिए।

उनका अनुसार ८९ गाई, ९६ गोरु र ५१ याक, नाक (झोपा) र चौंरी लम्पी स्किनबाट संक्रमित भएका छन्।

‘लम्पी स्किनको संक्रमण फैलिँदै गएकाले नियन्त्रणका लागि भेटेरिनरी अस्पतालले खोपको व्यवस्थापन गरिरहेको छ,’ प्रमुख कुसुमले भने, ‘लम्पी स्किन नियन्त्रण गर्न खोप र अन्य आवश्यक सामग्री भेटेरिनरी अस्पतालले व्यवस्थापन गर्नेछ।’

भेटेरिनरी अस्पतालले २ हजार डोज खोप ल्याइसकेको छ। नार्पाभूमि गाउँपालिकामा बाहेक नासों गाउँपालिकामा ३६, चामे गाउँपालिकामा ९६ र मनाङ ङिस्याङ गाउँपालिकामा १ सय १४ पशुमा संक्रमण देखिएको उनले बताए।

चामे-२ स्थित थानचोक, मनाङ ङिस्याङको हुम्देस्थित क्युपार र नासों-२ को नाचे आलुबारीका पुशमा पनि संक्रमणको जोखिम देखिएको छ।

‘सरकारबाट बजेट व्यवस्थापन गर्न समस्या भएको अवस्थामा पालिकालाई हेर्नुपर्ने भनेका थियौं, अहिले सरकारबाट खोपको व्यवस्थापन भइसकेको छ,’ उनले भने, ‘अब पालिकाले पशुको सहायक उपचारको लागि एन्टिबायोटिक सुई (जिट, मेलोक्सीकाम र रेष्टोवल इम्युनोवुष्टर)लगायत औषधि खरिद गर्न सक्ने छ।’

यी औषधि खरिदका लागि पालिकासँग सहकार्य गरिने प्रमुख कुसुमले उल्लेख गर्दै पशुपालक किसानको गोठमै पुगेर पशु प्राविधिकले लम्पी स्किन रोग नियन्त्रणका लागि खोप लगाउन पुग्ने गरेको जानकारी दिए।

रोग नियन्त्रणका लागि स्थानीय तहले पशु प्राविधिक खटाएको छ।

पशुमा लम्पी स्किन देखिनासाथ सगोलमा रहेका पशुलाई छुट्याएर राख्न सुझाव दिइएको, पशुलाई टोक्ने लामखुट्टे र झिंगाबाट जोगाउन पशुपालक किसानलाई सचेत गराउन लागिएको उनले जनाए।

यस्तै बिरामी परेका पशुलाई स्याहार सुसार गर्न र  संक्रमण नभएका पशुको नजिक नजान भनिएको र सरसफाइ गरेर मात्र अन्य वस्तुको स्याहार सुसार गर्न सुझाव दिइएको उनको भनाइ छ।

प्रकाशित: ४ साउन २०८० १३:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =