बेसीँसहर-चामे सडकमा ठूला सवारीसाधन चलाउन रोक, सडकको अवस्था नाजुक

हिमाल प्रेस २१ भदौ २०८३ १६:२७ | Sunday, September 6, 2026
बेसीँसहर-चामे सडकमा ठूला सवारीसाधन चलाउन रोक, सडकको अवस्था नाजुक

मनाङ- हिमाली जिल्ला मनाङको मेरुदण्ड (लाइफलाइन) को सडक चामे-बेसीँसहर सडकमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। स्थानीयद्वारा ठूला सवारीसाधन सञ्चालन गर्दा सडकको अवस्था नाजुक तथा जोखिमयुक्त बनेको भन्दै स्थानीयद्वारा रोक लगाइएको हो।

मर्स्याङ्दी गाउँपालिका-४ च्याम्चेका सोमबहादुर तामाङ भन्छन्,‘स्थानीयवासीको दैनिकीमा नै असर पर्ने गरी सडक जोखिमयुक्त बनेपछि बाध्य भएर ठूला सवारीसाधन सञ्चालनमा रोक लगाएका हौँ। पटक पटक ध्यानाकर्षण गरायौँ तर सुनुवाइ नभएपछि यसरी सबै मिलेर सडक सञ्चालन रोकिएको हो।’

अन्नपूर्ण संरक्षण क्षेत्रमा विश्वका पर्यटक आउने मार्गमा नै स्थानीयवासीले हिँड्न र दैनिकी चलाउन नसक्ने भएपछि यस्तो कदम चालिएको उनी बताउँछन्।

सूर्यकुमारी गुरुङ ठूला सवारीसाधन चलाउँदा घाँसदाउरा गर्न जानसमेत मुस्किल भएको बताउँछिन्। उनी भन्छिन्,‘हामी घाँस दाउरा गरेर गुजार गर्ने त यो हिलाम्मे बाटोमा हिँड्न सकेका छैनौँ। यसको समाधान कसले गर्ने हो खै? यसको समाधान हुनुपर्यो। यही मागका साथ आज सडकमा ठूला सवारीसाधन चलाउन बन्द गराएका हौँ।’

स्थानीय बालबालिका विद्यालय जाँदा हिलाम्मे सडकमा हिड्न नसकेर जोखिम बढेको गुरुङ बताउँछिन्। ‘बालबालिकालाई विद्यालय पठाउँदा डराउनुपर्ने अवस्थामा छौँ। कतै हिलोमा सवारीसाधन चलाउँदा चिप्लिएर बालबालिका नै दुर्घटनामा पर्छन् कि हिलो छ्यापिएर विद्यालय जान छाडेर फर्किन्छन् कि भन्ने चिन्ता बढेको छ’, गुरुङ भनिन्,‘ठूला सवारीसाधन चलाउँदा कतै सडक नै भाँसिएर आवतजावत नै रोकिन्छ कि भन्ने अवस्था छ।’

पर्यटकीय क्षेत्रको पहिचान बनाएको मनाङको यो सडक जोखिमयुक्त मानिन्छ। त्यसमाथि विश्वकै जोखिमयुक्त मानिएको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) को भ्रमणमा आउने पर्यटक र स्थानीयका लागि मुख्य सडक हो।

प्रकाशित: २१ भदौ २०८३ १६:२७ | Sunday, September 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast