नियात्रा

जापानी प्रविधि र संस्कृतिसँग साक्षात्कार गर्दाको अविस्मरणीय पल

सुस्मिता बजगाईं ५ जेठ २०८१ २०:५५
222
SHARES
जापानी प्रविधि र संस्कृतिसँग साक्षात्कार गर्दाको अविस्मरणीय पल जापानको गिफु प्रान्तमा रहेको ओगाकी महल। तस्बिर : सुस्मिता बजगाईँ

कहाँबाट सुरु गरौँ अविस्मरणीय एउटा यात्राको प्रसंग! पहिलोपटक हवाईजहाज चढ्ने मौका, त्यो पनि अन्तर्राष्ट्रिय उडान। सूर्योदयको देश र दोस्रो विश्वयुद्धका क्रममा आणविक हतियारले ध्वस्त भएर एक्काईसौँ शताब्दीमा आइपुग्दा तीव्र आर्थिक विकास गर्ने देशको भूमिमा टेक्न पाउनु मेरा लागि निकै खुसीको क्षण थियो। त्यसैले मनमा छुट्टै उत्साहसहित कौतूहल पैदा नहुने कुरै भएन।

जापानी राजदूतावासमार्फत एक महिनाअघि प्रस्ताव आयो, जापानको कृषि, होमस्टेलगायतका विषयमा अवलोकन भ्रमण गर्ने। पत्रकारकै हैसियतमा जापान जान पाइन्छ भने किन नाइँ भन्ने! हुन्छ भनिदिएँ। त्यसपछि सुरु भयो जापान जाने तयारी। कार्यालय (हिमालप्रेसडटकम)मा कार्यरत अग्रजहरूको सहयोगमा आवेदन दिएँ। पासपोर्ट बनाउनेदेखि भिसा एप्लाई गर्नेसम्मको काम सकिएपछि अन्तमा जापान उड्ने मिति आयो। त्यो दिन थियो ५ फेब्रुअरी २०२४।

कार्यक्रम थियो एक साताको, ६ फेब्रुअरी देखि १२ तारिखसम्म। थोरै समयका लागि विदेश उड्न तयारमा थिएँ म। उड्ने अघिल्लो दिन साँझ व्यस्तता र छटपटी दुवै बढेको थियो। आवश्यक कागजपत्रसहित झोलामा सामान ‘प्याक’ गरेँ। के होला, कसो होला भन्ने कुराले मन पोलिरहेको थियो। अरूको मुखबाट यस्ता कुरा धेरैपटक सुनेकी थिएँ। अनि रातमा निद्रा नपर्नु पनि स्वाभाविक हुँदो रहेछ।

उतै बस्न जाने लागेको त थिइनँ तैपनि मन भने आत्तिँदो रहेछ। फरक भूगोल र परिवेशमा जान लागेकाले त्यहाँको सामाजिक मूल्यमान्यता कस्तो होला? मानिसहरू कस्ता होलान्? उनीहरूसामु कसरी प्रस्तुत हुने होला? यस्तैयस्तै कुराले मनमा खैलाबैला मच्चाइरहेको थियो।

भ्रमण टोलीमा मसहित सातजना थियौँ। टोलीका कुनै सदस्यसँग पनि मेरो राम्रो परिचय थिएन। केहीसँग अनौपचारिक भेटमात्र भएको थियो। बिहान ९ः३० मा एयरपोर्टमा भेट्ने सल्लाहबमोजिम मित्र राघव र गायत्री भाउजूले मलाई त्यहाँ छाडिदिनुभयो। उडान भने दिउँसो १ बजेको थियो। टोलीका सबै सदस्यसँग भेट भयो। सबै उत्साहित देखिन्थे। मेरो भने यात्रालाई लिएर मनमा द्वन्द्व चलिरहेको थियो।

आयोजक जापान इन्टरनेसनल कर्पोरेसन सेन्टर (जाइस)का पदाधिकारीहरू हाम्रो प्रतीक्षा रहेछन्। उनीहरूले मलेसियन एयरलाइन्सको हवाई टिकट उपलब्ध गराएर औपचारिक रूपमा बिदाइ गरे। हाम्रो उडान काठमाडौँ–क्वालालम्पुर–नारिता थियो।

त्रिभुवन विमानस्थलको प्रवेशद्वारमा टिकट देखाएर ‘चेक इन’ पछि सुरक्षा जाँच गर्न एक तलामाथि जानुपर्ने रहेछ। त्यहाँका कर्मचारीले कुन देश जान लागेको भनेर सोधे। जापानमा एउटा कार्यक्रममा भाग लिन जान लागेको भन्दा पत्याएनन्। मैले कार्यक्रमको सबै विवरण देखाएँ। पत्रकार परिचयपत्र टेबुलमा राखिदिएँ।

ती कर्मचारी त आपराधिक घटनाका आरोपित जसरी ‘केरकार’ पो गर्न थाले। उतै बस्न लागेको हो कि भन्ने शंका रहेछ उनलाई। हिमालप्रेसको साइड खोलेर हेर्न लगाएँ। नक्कली हुन सक्छ भनेर अझै जान दिएनन्। टोलीका अन्य सदस्यहरू भित्र गइसकेका थिए।

टिमकै सदस्य इन्दिरा शर्मा दिदीले हामी एउटै टिमका हौँ भनेर ती कर्मचारीलाई आश्वस्त पार्न खोज्नुभयो। तर ती कर्मचारी ‘तपाईँलाई सोधेको होइन’ भनेर उल्टै जंगिन थाले। दिदी पनि भित्र जानुभयो। म त एक्लै भएँ। मेरो मनमा भने अब के होला? फर्काइदिने त होइन? भन्ने दुविधा चलिरहेको थियो।

केही बेर टोलाएर उभिइरहेँ। ती कर्मचारीले भने, ‘फेक आइडीबाट दुईजना नेपाली जापान जाँदैछन् रे। त्यही भएर तपाईँलाई केरकार गरेको। उता अलपत्र परेमा हामीलाई गैरजिम्मेवार ठहराइन्छ।’ अनि मलाई केही मिनेट पर्खिन भने र बल्ल प्रवेश अनुमति दिएँ। व्याधाको कब्जाबाट मुक्त भएको मृगजसरी म मेरा सयहात्रीहरू सम्मुख पुगेर लामो सास फेरेँ। सरकारी कर्मचारीले नागरिकमाथि गर्ने एउटा खराब व्यवहार तिनले पनि देखाएरै छाडे।

कतिपय नेपाल युवा कार्यक्रममा भनेर विदेश जाने अनि उतै बस्ने घटनाले पनि यस्तो भएको होला भनेर चित्त बुझाएँ। हुन पनि कतिपय नेपालीहरू कार्यक्रमको निहुँमा गएर उतै गुमनाम भइदिन्छन्। ‘सबैभन्दा गाह्रो नेपालीलाई यही हुन्छ’, टोलीका सुदीप न्यौपाने दाइले भन्नुभयो। विदेशमा यस्तो समस्या हुन्न।’ धेरै पटक विदेश भ्रमणको अनुभव बटुलेका उहाँका कुरा मनासिब लागे। केही बेरपछि सबै प्रक्रिया पूरा गरेर हामी विमानमा प्रवेश गर्‍यौँ।

सानैदेखि विमानको आवाज सुनेर दिक्क भएका काठमाडौँबाट नजिकैको जिल्लाका बासिन्दाले विरलै मात्रै हवाईयात्रा गर्ने अवसर पाउँछन्। विदेश वा काठमाडौँबाट देशका अन्य ठूला सहरमा जाने अवस्था आएमा मात्र हवाईयात्रा गर्नुपर्ने हुन्छ। मैले पनि विमानमा यात्रा गर्ने पहिलो अवसर पाएकी थिएँ। सानैदेखि आकाशमा उडिरहेको विमान देख्दा रमाइलो लाग्थ्यो। साथीहरूसँग काठमाडौँ विमानस्थलको भ्रमण पनि गरेकै थिएँ। आन्तरिक हवाई उडानमा नगरेकी मेरा लागि पहिलो अन्तर्राष्ट्रिय हवाईयात्रा थियो त्यो।

सबै प्रक्रिया पूरा भएपछि केही बेर यात्रु प्रतीक्षालयमा बस्यौँ। वरिपरि भित्तामा टाँसिएका स्क्रिनमा विदेशका कुन सहरमा कुन विमान सेवाको जहाज कति बेला उड्छ र काठमाडौँमा कुनकुन उडान कतिबेला अवतरण हुन्छ भन्ने सन्देश ‘स्क्रोल’ भइरहेको थियो।

यत्तिकैमा हाम्रो विमानको पालो आयो। बस चढेर विमानसम्म पुग्यौँ। विमानको भर्‍याङ चढेर माथि पुग्दा ढोकैमा उभिएकी एक युवती (विमान परिचारिका) ले न्यानो स्वागत गरिन्। मुस्कुराउँदै टिकट हेरेर सिटतर्फ संकेत गरेपछि म त्यहीँ गएर बसेँ। विमानमा एकातिर चार र अर्कोतिर तीन सिट रहेछ। माथि ‘ह्यान्ड ब्याग’ राख्ने ठाउँ। झट्ट हेर्दा सिट बसको जस्तै पो हुँदो रहेछ! आरामदायी र सुविधायुक्त। सिटअगाडि टेलिभिजनको स्क्रिन, गीतसंगीत सुन्न पाइने।

केहीबेरपछि विमान उडानको समय भयो। विमान परिचारिकाले सिटबेल्ट बाँध्न सूचना दिइरहेकी थिइन्। बिस्तारै गड्न थालेको विमानले भुइँ छाड्नुअघि तीव्र वेग लियो। विमानले भुइँ छोड्दा भने जिउ सिरिंग भयो। मनमा कहालीलाग्दो रहेछ।

घरैघरले ढाकिएको काठमाडौँ उपत्यका तल देखिन थाल्यो। डाँडापाखा साना हुँदै गए। उत्तरतिर दन्तलहरझैँ सेता हिमाल देखिए। आहा! बादलमाथिको यात्रा। तीन हजारभन्दा माथिबाट थरीथरीका बादलका आकृतिले मनै लोभ्याउन थाल्यो।

भोकले पेटमा मुसा कुद्न थालिसकेको थियो। खाजाको व्यवस्था पनि विमानमै रहेछ। परिचारिकाले खाजा बाँड्न थालिन्। थरीथरीका खानेकुरा आयो। उसिनेको काउली, गाजर, सिमी आदि। भेज खाना त्यो पनि नुनबिनाको।

चपचिल्लै तेलमसला, नुनिलो, अमिलो खाना–खाजा खाइरहेको जिब्रोका लागि ती खानेकुरा ‘बेस्वादिला’ लाग्यो। भोकको झोकमा खानैपर्‍यो। विमानभित्र समयसमयमा चिया, कफी, तातो–चिसो पानी, थरीथरीका जुस र अल्कोहल पनि पाइने रहेछ। सबैले इच्छाअनुसारको खाना खाए।

हामी क्वालालम्पुर विमानस्थल पुग्दा स्थानीय समयअनुसार रातको ८ बजेको थियो। विमानबाट अवतरण हुनेबित्तिकै तातो रापले स्वागत गर्‍यो। मलेसियाको गर्मी ओहो! विमानस्थलमा भित्ता विभिन्न चित्रकलाले रंगिएको थियो। विमानस्थल परिसरको झिलीमिली बत्तीको दृश्य निकै आकर्षक थियो।

विमानस्थलमा कुनै झन्झट भएन। अध्यागमन र सुरक्षा अधिकारीहरूले हाम्रो कागजपत्र रुजु गरेर छाडिदिए।

क्वालालम्पुर विमानस्थलमा पाँच घण्टाको ‘ट्रान्जिट’ थियो। यताउता हेर्दाहेर्दै समय बितिहालेछ। पालो आएपछि हामी नारितातर्फ लाग्यौँ। मलेसियन एयरलाइन्सकै विमान भएकाले त्यहाँ पनि उस्तै सुविधा थियो। मलेसियाबाट करिब सात घण्टाको हवाई यात्रापछि जापानको नारिता विमानस्थलमा पुग्यौँ। विमानस्थलमा उत्रिएपछि सुरक्षा जाँच भयो। त्यहाँ उमेरले ८० पुगेका वृद्ध सुरक्षाका लागि खटिएका रहेछन्। १६ वर्षे लक्काजवानझैँ जोसजाँगरसहित काममा तल्लीन वयोवृद्ध देखेपछि जापान समृद्ध हुनुको एउटा रहस्य खुलेजस्तै लाग्यो।

नारिता विमानस्थलमा जाइसका अधिकारीहरू हाम्रो प्रतीक्षामा रहेछन्। उनीहरूसँग सामान्य परिचय गर्‍यौँ। टोलीका हरेक सदस्यबारे उनीहरू जानकार रहेछन्। उनीहरूले हामीलाई हाम्रो भ्रमणको उद्देश्यबारे केही जानकारी दिए। अनि सुरु भयो पूर्वनिर्धारित कार्यक्रममा सहभागिता।

हामी जाइसको आयोजनामा जेनेसिस सार्कको कृषिसम्बन्धी कार्यक्रममा दोस्रो ब्याचको प्रतिनिधित्व गरेर जापान गएका थियौँ। सार्क राष्ट्रसँग भविष्यमा मित्रता र सहयोगको आधार निर्माण गर्ने जापानी नीतिअन्तर्गत त्यहाँको अर्थतन्त्र, समाज, इतिहाससहित विभिन्न सांस्कृतिक, राजनीति र कूटनीतिक सम्बन्धलाई प्रोत्साहन गर्न कार्यक्रम रहेछ।

कार्यक्रमको मुख्य विषय थियो कृषि। जापान पुग्नुअघि हामीले अनलाइनमार्फत जापानको कृषि प्रणालीबारे संक्षिप्त जानकारी लिइसकेका थियौँ। यस क्रममा जापानको भूगोल, जीवनशैली, संस्कृति, परम्परा, खेलकुद आदिबारे पनि जानकार भएका थियौँ।

जेनेसिसले प्रत्येक सार्क राष्ट्रबाट सातजनालाई छनोट गरेको थियो। जसमा कृषिसँग सम्बन्धित विश्वविद्यालयमा प्रोफेसर, स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी र कृषि मन्त्रालयका सरकारी कर्मचारी सहभागी थिए। जापान पुगेपछि टोलीमा नेपाल, बंगलादेश, भुटान, श्रीलंका, भारत, पाकिस्तान, माल्दिभ्सका गरी ४९ जना भयौँ।

स्वच्छ हावा, शान्त र सुन्दर वातावरणले भरिपूर्ण जापान

फेब्रुअरी ६ मा बस चढेर राजधानी टोकियोस्थित हामी बस्ने होटलतिर लाग्यौँ। नीलो आकाश, चिसो हावाको वेग र नयाँ विदेशी साथीसँग परिचय गर्दै यात्रा अगाडि बढ्यो। बसमा यात्रा गर्दा अनिवार्य रूपमा सिटबेल्ट बाँध्नुपर्ने रहेछ। बिहानीपख हल्का पानी परिरहेको थियो। राति हिउँ परेकाले सडक सेताम्मै देखिन्थ्यो। सडकमा मानिस फाट्टफुट्ट देखिन्थे। छुँदा पनि मैलो लाग्लाजस्ता चिल्ला सडक। न कतै फोहोर छ न कतै ट्राफिक जाम। बाइक, स्कुटर त देख्नै मुस्किल। बाटो काट्ने मान्छे ट्राफिक लाइटको प्रतीक्षामा बसिरहँदा रहेछन्। कति सभ्य जापानी! नेपालमा यस्तो कहिले हुने होला?

टोकियो कहिले सवारी दुर्घटना नहुने अनि प्रदूषण र अपराधरहित सहर भनेर आयोजकले हामीलाई जानकारी दिइरहेका थिए। स्वच्छ हावा, अग्लाअग्ला भवन, सटरबिनाकै पसल आदि यस्तै नयाँनयाँ दृश्य हेर्दाहेर्दै टोकियोस्थित हामी बस्ने होटल इस्ट इन ट्वान्टीवान पुगेको पत्तै भएन।

आयोजकले हामीलाई दुई समूह बनाएर जापान भ्रमण गराएको थियो। समूह ‘ए’ लाई जापानका सातमध्ये वाकायामा प्रान्तको भ्रमण गराइएको थियो भने समूह ‘बी’ लाई गिफु प्रान्त। म भने समूह ‘बी’ मा थिएँ।

हामीलाई आयोजकले बुलेट ट्रेनमार्फत गिफु प्रान्त पुर्‍याए। टेलिभिजनको पर्दामा मात्रै देखेको बुलेट ट्रेनमा यात्रा गर्न पाउँदा मैले आफूलाई थप भाग्यशाली सम्झिएँ।

गिफु प्रान्त जापानको ग्रामीण भेगमा रहेछ। जंगलनजिकैको मानव बस्ती प्रशस्तै थिए। घर भने नेपालका पुराना शैलीका जस्तै। होमस्टे पनि ससाना घरमा। हरियाली जंगल, डाँडापाखा र गाउँ पनि सहरझैँ लाग्ने। सुन्दर र सफा वातावरण। यात्रामा रहेका सबैको मुखबाट ‘आहा जापान!’ निस्किरहेको थियो।

मैले गिफु प्रान्तको भूगोल, इतिहास, अर्थव्यवस्था, जनसंख्या, संस्कृति र पर्यटन, कृषि पेसामा आश्रित नागरिक, खेतीयोग्य जमिनको विवरणको संक्षिप्त परिचय पाएँ। गिफु ग्यालरीमा हामीले जापानमा अपनाइएको पूर्वाधार विकास, सार्वजनिक यातायात र फोहोर व्यवस्थापन रणनीतिबारे अवलोकन गर्‍यौँ।

खेती किसानीमा प्रविधियुक्त मेसिन प्रयोग गरिँदो रहेछ। कतिपय काम त रिमोट कन्ट्रोलबाट हुने कुरा थाहा पाउँदा गाउँमा कुटोकोदालो गरेको सम्झिएँ। उच्च तापक्रमको प्रयोग र प्रविधियुक्त तरिकाबाट टँडेलामा गोलभेडा, विभिन्न प्रजातिका फूल, स्ट्रबेरी, धानको बिउ उमार्दा रहेछन्।

एसियाली सभ्यताको लोभलाग्दो संग्रहालय

हामीले जापान भ्रमणका क्रममा युनो पार्क, ताइतोकुमा रहेको संसारकै सबैभन्दा ठूलो टोकियो राष्ट्रिय संग्रहालय भ्रमण गर्ने अवसर पायौँ। सन् १८७२ मा स्थापना भएको संसारकै पुरानो संग्रहालय रहेछ त्यो।

संग्रहालयको एउटा भवनमा जापानको संस्कृति र अर्कोमा एसियाली देशहरूका महत्त्वपूर्ण दस्तावेज, पुरातात्त्विक संस्कार र संस्कृतिहरूको संकलन गरिएको रहेछ। इसापूर्व छैटौं शताब्दीदेखि २०औँ शताब्दीसम्मका पुरातन शैलीका दुर्लभ कलाकृतिले मानव सभ्यताको लामो इतिहास झल्काएको थियो। साथै जापानीहरूले मानव सभ्यताको विगतलाई जतनसाथ राखेको स्पष्ट हुन्थ्यो।

संग्रहालयमा विभिन्न प्रकृतिका माटाका भाँडा, थरीथरीका लत्ताकपडा, राजपरिवारको तस्बिर, बौद्ध धर्मसम्बन्धी कलाकृति, गौतम बुद्धसँग सम्बन्धित विभिन्न दस्ताबेज, मूर्तिहरू, हतियार, जापानी संस्कार र संस्कृतिसँग सम्बन्धित कलाकृति एउटै स्थलमा अवलोकन गर्न पायौँ। यी सम्पदाको अवलोकनपछि जापान पनि नेपालजस्तै संस्कृतिले धनी रहेछ भन्ने लाग्यो।

जापानी संस्कृतिसम्बन्धी संग्रहालय वातानाबे जिनले सन् १९३८ निर्माण गरेका रहेछन्। पहिलो तलामा मूर्तिकला र दोस्रो तलामा जापानी सेरामिकलाई व्यवस्थापन गरिएको रहेछ। संग्रहालय एम्पेरियल क्राउन शैलीमा बनेको छ।

सातौँ शताब्दीदेखि १२ औँ शताब्दीसम्मका जापानका राष्ट्रिय खजाना, हतियार, पुराना कलाकृति, बौद्ध धर्मका कला, सामुराईको हतियार र आर्मर, फेसन कला, जापानको ऐतिहासिक कीर्तिमान, विभिन्न आकृतिका सेरामिक, पुराना शैक्षिक सामग्रीले जापानी इतिहास झल्काएका थिए।

एसियन संग्रहालयमा एसिया महादेशमा पर्ने राष्ट्रहरूको कलाकृति सजाइएको रहेछ। यो संग्रहालय सन् १९६८ मा तानिगुची योसियाले डिजाइन गरेको जानकारी पायौँ।

स्रंग्रहालयमा चीनको सभ्यता, चित्रकला, मूर्तिकला, साहित्य, पहिरन, शिक्षाबारे जानकारी पाइन्छ। यसैगरी कोरियाली राजाहरूको उदय र पतन, कोरियाली सेरामिक, बौद्ध कला, जोसन राजवंश, पोलिस स्टोन संग्रहालयका आकर्षक सामग्री हुन्। भारत, इजिप्ट र पश्चिम र पूर्व एसियाली देशका मूर्तिकला, गान्धार कला, कपडा, लघु चित्रकला, खमेर मूर्तिकला, एसियाको जातीय संस्कृतिसम्बन्धी कलाकृति हेर्दा सम्पूर्ण एसियाली भूभाग जापानमा अटाएको जस्तो लाग्यो।

संग्रहालय घुम्न विश्वविद्यालयका विद्यार्थीलाई जापानी येन ५ सय र अरूका लागि एक हजार शुल्क तोकिएको रहेछ। स्कुले विद्यार्थी, अपांगता भएका नागरिक र ७० वर्षमाथिका वृद्धवृद्धालाई शुल्क नलाग्ने व्यवस्था छ।

सामान्य जीवनशैली रुचाउने जापानी

जापान यात्राका क्रममा मैले जापानीहरूको जीवनशैलीबारे बुझ्ने अवसर पाएँ। हामीलाई दुई रात जापानको होमस्टेमा बस्ने व्यवस्था गरिएको थियो। यो मेरो मात्र नभएर सहभागी सबैको नौलो अनुभव थियो।

मसँगै इन्दिरा दिदी हुनुहुन्थ्यो। छोटो समयमै हामी वर्षौँदेखि चिनजानका साथीजस्तै भइसकेका थियौँ। हाम्रो होमस्टेमा ८ वर्षकी छोरी युकी र उनका मातापिता थिए। करिब ४०-४५ वर्षका। आधुनिक शैलीमा बनाइएको सुविधासम्पन्न तीनजना परिवारका लागि उपयुक्त दुईतले घर। नेपालीको पुरानो शैलीजस्तै अनि भुइँमा सुत्ने ओछ्यान रहेछ। यसलाई जापानीहरू फुटन भन्दा रहेछन्।

होमस्टेको परिवार एकदम मिलनसार र सरल थियो। युकीकी आमाले हामीलाई जापानीको जीवनशैलीबारे थप जानकारी प्राप्त भयो।

जापानीहरूको लवाइखुवाइ सामान्य अनि साधारण। प्रायः जापानीहरू बिहेप्रति मोह नराख्ने। बिहे गरे पनि बच्चा भने कम जन्माउने। कामप्रति बफादार र इमानदार। एक सेकेन्डको पनि धेरै महत्त्व हुने देखेर म त छक्क परेँ।

जापानीहरू बिहे गरेपछि परिवारसँग छुट्टिएर बस्दा रहेछन्। उनीहरूको दैनिकी हामीले सहर गएर कोठा लिएर बसेजस्तै। फरक के भने नेपालमा सन्तानले पैत्रिक सम्पत्तिको आशा गर्छन् भने उनीहरू एक्लै संघर्ष गरेर जीवनयापन चलाउँदा रहेछन्। अभिभावकसँग कहिलेकाहीँ भेट्न जानेमात्र।

बच्चा जन्मेपछि भने सरकारले दुई वर्षसम्म प्रत्येक महिना सहयोग गर्ने रहेछ। १८ वर्षसम्म सरकारले नै पढाइ खर्च बेहोर्ने। त्यसपछि भने परिवारबाट नै अलग्गिएर आफ्नो जीवन आफैँ कमाएर चल्नुपर्ने। इच्छा लाग्छ बिहे गर्ने नत्र बाँचुन्जेल र शरीरले साथ दिएसम्म काममै तल्लीन।

अर्को कुरा, जापानी नागरिकलाई सरकारले २० वर्षसम्म रक्सी खान बन्देज गर्ने रहेछ। त्यसपछि भने उत्सवझैँ रक्सी खाने र पार्टी मनाउने प्रचलन थाहा पाएँ।

जापानीहरूको कामप्रति बढी मोह राख्ने, समयको अत्यन्त ख्याल गर्ने र अनुशासित बानी व्यवहारले मलाई प्रेरित गर्‍यो। कार्यक्रम पनि तोकिएकै समयमा सुरु र समापन गर्ने। रेलको प्रस्थान र आगमनले पनि यही बताइरहेको थियो। बस यात्राका क्रममा आफूमात्र नभएर सबैलाई सिटबेल्ट बाँध्न लगाउने तरिकाले उनीहरूको अनुशासित व्यवहार झल्काइरहेको थियो।

होमस्टे बसाइमा हामीले जापानको केही रमणीय पार्क, ओगाकी महल र क्यासल टाउन, तानिगुमिसान केन्जोगी मन्दिर, केरिटेज टाउन इबिगावा–चोमा घुम्यौँ।
केन्जोगी मन्दिर घुम्ने क्रममा एउटा यस्तो गुफा रहेछ। जहाँ प्रवेश गर्दा पूरै अँध्यारो। अन्धकार गुफाभित्र छिरेर भित्ता समाउँदै बाहिर निस्कने बाटो। त्यसको रहस्य आमाको पेटभित्र ९ महिना बसेर निस्केको भन्ने मान्यता रहेको युकीकी आमाबाट बुझ्न पाइयो।

स्ट्रबेरी खानेदेखि साँझको समयमा निमोफिला, ट्युलुप पार्क सधैँ स्मरणमै रहिरहनेछ। जहाँ रात्रिकालीन संगीतमार्फत थरीथरीका बत्तीहरूले पार्क झलमल्ल थियो।
मौसम निकै चिसो थियो तर विभिन्न थरीका फुलको रुखमा लगाइएको झिलीमिली बत्ती, बत्ती र संगीत संयोजनबाट कार्टुनले कथा भनिरहेको दृश्य मनमोहक थियो। यात्रा र कार्यक्रममा सहभागी हुँदाहुँदै एक साता बितिहाल्यो। एक सातापछि उही रुट भएर टोलीका सबैजना स्वदेश फर्कियौँ। छोटो यात्रा भए पनि मेरा लागि एक अविस्मरणीय पल बनेर रहिरहनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =