प्रधानमन्त्री रोजगार कार्यक्रमको नाम र काम परिवर्तन गर्दै श्रममन्त्री अर्याल

हिमाल प्रेस ५ जेठ २०८१ १८:३९
112
SHARES
प्रधानमन्त्री रोजगार कार्यक्रमको नाम र काम परिवर्तन गर्दै श्रममन्त्री अर्याल

सुर्खेत- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल (डीपी) ले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन गर्ने तयारी भइरहेको बताएका छन्। प्रधानमन्त्री रोजगार कार्यक्रमबाट अपेक्षित उपलब्धि हुन नसकेको भन्दै अर्यालले यसलाई सीपसँग जोडेर परिमार्जन गर्ने तयारी भइरहेको जनाए।

सुर्खेतमा आज पत्रकार भेटघाटमा बोल्दै मन्त्री अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रमले बजेटको दुरुपयोग गरेको, सीपमूलक रोजगारी उत्पादन गर्न नसकेकोले परिमार्जन गर्न लागिएको बताएका हुन्।

उनले प्रधानमन्त्री रोजगार कार्यक्रमको काम चौतारो बनाउने, झार उखेल्ने मात्रै गरिएको र यसबाट कुनै सीप तथा रोजगार उत्पादन नभएको बताए। अब यस कार्यक्रमको नाम पनि परिवर्तन हुने उनको भनाइ छ।

कामको खोजीमा विदेश जानुपर्ने अवस्थालाई कम गर्न नेपालमै सीपमूलक र रोजगार दिने खालका योजनाहरू मन्त्रालयले बनाइरहेको बताउँदै अर्यालले पछिल्लो समय श्रम तथा रोजगार मन्त्रालयमा सुधारका कामहरू थालिएको बताए।

त्यसैगरी मन्त्री अर्यालले आवश्यक कागजात पूरा भए एक घण्टाभित्र श्रम स्वीकृति दिइने, विदेश गएकाहरू समस्यामा परे ११४१ नम्बरको श्रमाधान कल सेन्टरको स्थापना गरिएको र सातवटै प्रदेशमा रोजगार मेला लगाउने तयारी भइरहेको पनि बताए।

सुर्खेतमा यही जेठ २५ र २६ गते श्रम रोजगार मेला लगाइने मन्त्री अर्यालले बताए। मन्त्रालयका सहसचिव दिपकराज नेपालले श्रम स्वीकृतिका लागि विगतमा जस्तो दुःख अहिले नपाइने भन्दै क्रमशः सहज बनाउँदै लगेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 6 =