सीडीएमए सेवालाई एलटीई नेटवर्कमा परिवर्तन गर्न सकिने नेपाल टेलिकमको प्याकेज

हिमाल प्रेस ३१ साउन २०८० १९:३८
12
SHARES
सीडीएमए सेवालाई एलटीई नेटवर्कमा परिवर्तन गर्न सकिने नेपाल टेलिकमको प्याकेज

काठमाडौँ- विगतदेखि नै नेपाल टेलिकमको सीडीएमए फिक्स्ड सेवा लिएका ग्राहकले फोरजी एवं एलटीई नेटवर्कमा परिवर्तन गर्न सक्ने भएका छन्। त्यसका लागि कम्पनीले प्याकेज सार्वजनिक गरेको छ।

पछिल्लो समय कम्पनीले सीडीएमए सेवालाई बन्द गर्ने र ती ग्राहकलाई जीएसएममा रूपान्तरण गर्दै आएको भन्दै त्यसमा आकर्षक प्याकेज उपलब्ध गराउने बताएको छ। ‘नेपाल टेलिकमले सीडीएमए फिक्स्ड फोन प्रयोगकर्तालाई फोरजी/एलटीई नेटवर्कमा स्थानान्तरण गर्नका लागि आकर्षक प्याकेज उपलब्ध गराउनेछ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

कम्पनीका अनुसार उक्त प्याकेज आगामी भदौ १ गतेदेखि लागू हुनेछ। ‘सीडीएमए फिक्स्ड फोन प्रयोग गरिरहेका ग्राहकहरूले नेपाल टेलिकमको नमस्ते वाईफाई प्रयोग गर्न सक्नेछन्,’ विज्ञप्तिमा भनिएको छ, ‘ती ग्राहकका लागि अनलिमिटेड बेसिक र अनलिमिटेड प्रिमियममध्ये एक प्याकेज प्रयोग गर्न सकिने सुविधासहति अन्य थप सुविधा उपलब्ध गराइनेछ।’

सो सेवा प्रयोग गर्ने ग्राहकलाई अनलिमिटेड बेसिकअन्तर्गत दैनिक ५ एमबीपीएस गतिसम्मको १० जीबी डाटा उपलब्ध हुने कम्पनीको भनाइ छ। सो प्याकेजका लागि नयाँ जडान शुल्क ६ महिनाका लागि ५ हजार ९९९ रुपैयाँ र वार्षिक १० हजार ४९९ रुपैयाँ रहेको छ।

सोको यसको महसुल ६ महिनाको ४ हजार ९९९ र वार्षिक ९ हजार ४९९ रुपैयाँ निर्धारण गरिएको छ। त्यस्तै अनलिमिटेड प्रिमियमअन्तर्गत दैनिक १० एमबीपीएस गतिसम्मको १५ जीबी डाटा उपलब्ध हुने कम्पनीको भनाइ छ।

सो प्याकेजका लागि नयाँ जडान शुल्क ६ महिनाको ८ हजार ९९९ रुपैयाँ र वार्षिक १६ हजार ४९९ रुपैयाँ तोकिएको छ। सोको महसुल ६ महिनाका लागि ७ हजार ९९९ रुपैयाँ र वार्षिक १५ हजार ४९९ रुपैयाँ तोकिएको छ।

उक्त सबै प्याकेज लिने ग्राहकलाई थप रकम नलिई आवश्यक फोरजी÷एलटीई सीपीईसमेत उपलब्ध गराइने कम्पनीले बताएको छ। नयाँ जडानअन्तर्गत अर्धवार्षिक प्याकेज लिने ग्राहकलाई प्रतिमहिना ४०० मिनेट कम्पनीको नेटवर्कभित्र (अन–नेट) र १०० मिनेट अन्य नेटवर्कमा (अफ–नेट) कल सुविधा हुनेछ।

त्यस्तै वार्षिक प्याकेज लिने ग्राहकलाई प्रतिमहिना कम्पनीको नेटवर्कभित्र अनलिमिटेड र अन्य नेटवर्कमा १०० मिनेट कल सुविधा दिइने कक्म्पनीको भनाइ छ।

प्रकाशित: ३१ साउन २०८० १९:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 1 =