नेपाल टेलिकमको आम्दानी घट्यो

हिमाल प्रेस २५ कार्तिक २०८० १६:१७
6
SHARES
नेपाल टेलिकमको आम्दानी घट्यो

काठमाडौँ- आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा नेपाल टेलिकमको आम्दानी ३९ करोड रुपैयाँले घटेको छ। टेलिकमले शनिबार सार्वजनिक गरेको प्रथम त्रैमासिकको वित्तीय विवरणअनुसार चालु आवको प्रथम त्रैमासिक अवधि (आश्विन-मसान्त)मा टेलिकमको कुल आय १० अर्ब ६४ करोड ८७ लाख ९३ हजार रुपैयाँ भएको छ।

उक्त रकम गत आवको सोही अवधिको कुल आयको तुलनामा ३.५४ प्रतिशतले कमी भएको हो। गत आवमा ११ अर्ब ४ करोड ९० हजार रुपैयाँ आम्दानी भएको थियो। उक्त आम्दानीको तुलनामा चालू आवमा ३९ करोड १२ लाख ९७ हजार रुपैयाँले आम्दानी घटेको हो।

कम्पनीको कुल सञ्चालन आय पनि ४९ करोड २५ लाख २१ हजार रुपैयाँले घटेको छ। चालु आवको प्रथम त्रैमासिक अवधिसम्मको कुल सञ्चालन आय ८ अर्ब ५८ करोड ५० लाख ६३ हजार रुपैयाा रहेको छ।

उक्त रकम गत आवको सोही अवधिको कुल सञ्चालन आय ९ अर्ब ७ करोड ७५ लाख ८४ हजार रुपैयाँको तुलनामा ४९ करोड २५ लाख २१ हजार (अर्थात्, ५.४३ प्रतिशत) ले कमी भएको टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

चालु आवको प्रथम त्रैमासिक अवधिसम्मको खुद मुनाफामा पनि कमी आएको टेलिकमको भनाइ छ। कम्पनीको खुद मुनाफा प्रथम ३ महिनामा २ अर्ब २ करोड ७४ लाख ३२ हजार रहेको छ।

उक्त रकम गत आवको सोही अवधिमा २ अर्ब २२ करोड ५५ लाख ६ हजार रुपैयाँ रहेको थियो। गत आवको तुलनामा चालु आवमा १९ करोड ८० लाख ७४ हजार रुपैयाँ (अर्थात, ८.९० प्रतिशत)ले कमी भएको छ।

कम्पनीको प्रतिसेयर आम्दानी यस त्रैमासिक अवधिमा ४५.०५ रहेको छ। चालु आवमा राजस्व तथा खुद मुनाफामा परिवर्तन भएकाले ओटीटी सेवाको बढ्दो प्रयोग रहेको टेलिकमको भनाइ छ।

सरकारी कम्पनी भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागतसमेत बढिरहेको टेलिकमको भनाइ छ।

सेवाको दररेट निर्धारणसम्बन्धी नीति तथा नियमहरू परिवर्तन भएकाले सेवाको दररेटमा कटौती भई राजस्वमा प्रतिकुल असर पर्नुका साथै बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानीमा कमी आएको टेलिकमको भनाइ छ।

प्रकाशित: २५ कार्तिक २०८० १६:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 1 =