प्रदेश मामिला समितिले गर्‍यो कर्णालीको कानुन मन्त्रालयमा छड्के अनुगमन

हिमाल प्रेस ३० साउन २०८० १७:०५
48
SHARES
प्रदेश मामिला समितिले गर्‍यो कर्णालीको कानुन मन्त्रालयमा छड्के अनुगमन

सुर्खेत- कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कर्मचारीहरू समयमै कार्यालय नजाने गरेको पाइएको छ। कर्णाली प्रदेशसभाअन्तर्गतको प्रदेश मामिला समितिले आज मंगलबार गरेको छड्के अनुगमनमा अधिकांश कर्मचारीहरू समयमै कार्यालय नपुग्ने गरेको पाइएको हो।

समितिकी सभापती प्रदेशसभा सदस्य कल्याणी खड्काको नेतृत्वमा भएको छड्के अनुगमनमा कार्यालयमा कार्यरत २६ जना कर्मचारीमा दर्जन बढी कर्मचारीहरू कार्यालयमा समयभन्दा ढिला पुगेका थिए।

अनुगमनका क्रममा बोल्दै समितिकी सभापति खड्काले मन्त्रालयमा कार्यरत कर्मचारीहरू समय पालक भएर सेवाप्रवाहमा जुट्नुपर्ने बताइन्। कर्मचारीको संख्या थोरै हुनु त्यसमा पनि समयको ख्याल नगर्नाले सेवाप्रवाहमा समस्या हुने गरेको उनको भनाइ छ।

खड्काले मन्त्रालयका सचिव धुव्र घिमिरेलाई नीति निर्माणमा महत्वपूर्ण मानिएको मन्त्रालयमा कर्मचारीको लापरबाहीले सेवाग्राहीमा नराम्रो सन्देश जाने भन्दै व्यवस्थित भएर कार्यालय चलाउन निर्देश दिएकी थिइन्।

समितिका सदस्य रनसिंह परियारले राज्यको स्थायी सरकार मानिने कर्मचारी संयत्र व्यवस्थित र जिम्मेवार भएर चल्नुपर्ने बताए। राज्यलाई आवश्यक पर्ने नीति कार्यान्वयनमा कर्मचारीहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सेवा प्रवाहका क्रममा आइपर्ने समस्या समधानमा समिति र संसद कर्मचारीको साथमा रहेको परियारले बताए।

यस्तै अर्का सदस्य महेन्द्र केसीले राज्यमा राजनीतिक र प्रशासनिक संयत्रहरू नागरिकप्रति उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै सेवाग्राहीले समस्या भोग्न नहुने समेत बताएका छन्।

मन्त्रालयमा कर्मचारीको कुल दरवन्दी ३८ रहेकोमा हाल २६ जना कर्मचारी कार्यरत छन्। सरकारलाई प्रदेशसभाप्रति उत्तरदायी र जवाफदेही बनाउनका लागि प्रदेश सरकारबाट भए गरेका काम कारबाहीको अनुगमन र मूल्यांकन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिने क्षेत्राधिकार समितिलाई रहन्छ।

प्रदेशसभा नियमावलीको नियम १५४ बमोजिम प्रदेश मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश लोक सेवा आयोग र सरकारका कामकाजको अनुगमन गर्ने अधिकार दिइएको छ।

प्रकाशित: ३० साउन २०८० १७:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =