गत आर्थिक वर्षमा एनसेलका ३३८ टावर जडान, नयाँ ठाउँमा फोरजी सेवा

हिमाल प्रेस २५ साउन २०८० २१:२३
14
SHARES
गत आर्थिक वर्षमा एनसेलका ३३८ टावर जडान, नयाँ ठाउँमा फोरजी सेवा

काठमाडौँ- निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले गत आर्थिक वर्ष २०७९/८० मा ३३८ बेस ट्रान्ससिभर स्टेशन (बीटीएस) अर्थात मोबाइल टावर जडान गरेको छ। गत आर्थिक वर्षमात्रै विभिन्न गाउँपालिकाका ५५ ग्रामीण भेगमा सेवा पुग्नेगरी टावर जडान गरिएको कम्पनीले जानकारी दिएको छ।

साथै मोबाइल सेवाको गुणस्तर सुधार गर्दै २८३ नयाँ साइट सञ्चालनमा ल्याइएको पनि कम्पनीले बताएको छ। फोरजी क्षमता अभिवृद्धिका लागि करिब १ हजार ४ सय ५० साइटको स्तरोन्नति गरिएको कम्पनीको भनाइ छ। ‘फोरजी सेवाको पहुँचबाट स्थानीयलाई लाभ प्रदान गर्न पहिलो पटक सेवा विस्तार गरिएका नयाँ स्थानहरूमा हिमाली, पहाडी र तराई भेगका ५५ ग्रामीण तथा दुर्गम ठाउँहरू छन्,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

पहिलो पटक फोरजी सेवा विस्तार गरिएका नयाँ ठाउँहरू रसुवाको उत्तरगया, दैलेखको ठाटीकाँध, बझाङको दुर्गाथली, खोटाङको जन्तेढुंगा गाउँपालिका तथा इनरुवा नगरपालिकाका ग्रामीण क्षेत्र रहेका छन्।

मोबाइल टावरहरू सातै प्रदेशका ५० भन्दा बढी जिल्लामा जडान गरिएको हो। एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले टावर जडानले नेपालभर राम्रो दूरसञ्चार नेटवर्क निर्माण हुनु महत्त्वपूर्ण रहेको बताए।

‘एनसेलका लागि सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको नेपालभर एउटा राम्रो दूरसञ्चार नेटवर्क निर्माण गर्नु हो,’ उनले भने, ‘हामीले डिजिटल नेपालको परिकल्पनामा योगदान गर्न आधारभूत मोबाइल र उच्च गतिको मोबाइल ब्रोडब्यान्ड कनेक्टिभिटीमा पहुँच सुनिश्चित गर्दै देशका विभिन्न भागका दुर्गम र क्षेत्रहरूलाई हाम्रो सेवाले जोडेका छौँ।’ आफ्नो नेटवर्क मार्फत हरेक नेपालीलाई जोड्ने लक्ष्यमा एनसेल प्रतिबद्ध रहेको उनको भनाइ थियो।

प्रकाशित: २५ साउन २०८० २१:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =