संसदीय समितिमा प्रधानमन्त्रीलाई प्रश्न : एनसेल खरिदबिक्री प्रकरणमा तपाईँकै परिवार संलग्न हो?

हिमाल प्रेस ३ पुष २०८० १३:०१
38
SHARES
संसदीय समितिमा प्रधानमन्त्रीलाई प्रश्न : एनसेल खरिदबिक्री प्रकरणमा तपाईँकै परिवार संलग्न हो?

काठमाडौँ–  सांसदहरूले एनसेलको सेयर खरिदबिक्री प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परिवारसँग जोडेर प्रश्न उठाएका छन्। एनसेलको सेयर बिक्रीबारे उब्जिएका अनेक आशंकाबारे जवाफ दिन संसद्‌को राज्यव्यवस्था तथा सुशासन समितिमा मंगलबार उपस्थित प्रधानमन्त्री प्रचण्डसामु सांसदहरूले ‘यसमा प्रधानमन्त्रीको परिवार जोडिनुभएको छ भन्ने छ, वास्तविकता के हो?’ भनेर प्रश्न गरेका हुन्।

सांसद अजय चौरासियाले एनसेलको सेयर खरिदबिक्रीको विषयमा प्रधानमन्त्रीकै परिवार जोडिएको आरोप लाग्न थाल्यो नि भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका । उनले भने, ‘खरिदबिक्रीमा ठूलो अन्तर छ। धेरै कुरा प्रधानमन्त्रीको परिवारसँग जोडिएर आएको छ। छानबिन होस्।’

अर्की  सांसद अम्बिका बस्नेतले पनि नेताकै परिवारको सदस्यको नाम यस्ता प्रकरणमा जोडिएर आइरहेको विषयमा स्पष्ट पार्न माग गरिन्। ‘सुशासन कायम गरेर आर्थिक समृद्धितर्फ बढ्नुपर्ने अवस्थामा एकपछि अर्को काण्ड छ,’ बस्नेतले भनिन्, ‘नेताको परिवारसँग जोडिन्छ। यसमा कति सत्य होला?

सांसद ईश्वरी न्यौपानेले सुशासनमा प्रतिबद्धता भन्ने प्रधानमन्त्रीकै कार्यकालको एक वर्षमा यति धेरै काण्ड आउनु, विमानस्थल तस्करको अखडा हुनु, एनसेलको सेयर खरिद प्रकरणमा  प्रधानमन्त्रीकै परिवारका सदस्यको नाम जोडिनुको वास्तविकता के हो? भन्दै प्रश्न गरिन्।

‘प्रधानमन्त्री हुनेबित्तिकै सुशासन मेरो प्रतिबद्धता भन्नुभयो। एक वर्षमा यति धेरै काण्ड भए। कतिपय विषय र काण्ड टुंगो नलाग्दै अर्को आउँछ। अन्तर्राष्ट्रिय विमानस्थल तस्करहरूको अखडा भयो, अन्य देशले देख्दा के भन्छ?,’ उनले भनिन्, ‘एनसेलको सेयर बिक्रीमा प्रधानमन्त्रीको परिवार जोडिएको छ भन्ने छ, के हो यो ? वास्तविकता के हो देख्न पाइयोस्। छानबिन समितिले ढाकछोप गर्छन् कि भन्ने छ? कसरी स्वीकृति नलिई बिक्री भयो?’

सांसद कृष्णगोपाल श्रेष्ठले एनसेल सरकारी स्वामित्वमा आउन नदिने प्रपञ्च भइरहेको बताए। ‘यसबारे संसद्‌का लेखा, अर्थ, राज्यव्यवस्था तथा सुशासन समिति र शिक्षा समिति जोडिएको छ, यसमा ध्यान दिनुपर्छ,’ उनले भने, ‘प्रधानमन्त्रीको परिवार र प्रधानमन्त्रीलाई जोडिदिएको छ, के हो ? अबको पाँच वर्षपछि सरकारी हुने भनिएको छ। यो सरकारको स्वामित्वमा आउँछ कि आउँदैन ? ठ्याक्कै जवाफ चाहियो। यो सिस्टममाथिकै प्रहार हैन र?’

सांसद चन्दा कार्की भण्डारीले एनसेलले राजनीतिक दलका नेतालाई, कर्मचारीलाई घूस नदिई काम हुँदैन भनेको दाबी गर्दै यसबारे प्रधानमन्त्रीलाई प्रश्न गरिन्। ‘एनसेलले पैसा नखाई राजनीतिक दल, कर्मचारीलाई काम हुँदैन भनेको सत्य हो ? किन बेलैमा आजियाटालाई रोक्न किन नसकेको ?,’ उनले भनिन्।

प्रधानमन्त्रीकी छोरी गंगा दाहाललगायतको संलग्नता भएको हो भनेर भनेर उनले थप प्रश्न गरिन्। ‘डा. अमरेश सिंहले भनेजस्तै छोरी गंगा दाहाल, शेरबहादुर देउवालगायत संलग्न भएको आरोप लाग्दा किन चुप लागेको ? खै खण्डन ? के छ यसमा ? अमरेश गलत भए किन कारबाही नगरेको?’ भण्डारीको प्रश्न छ।

संसदीय समितिमा एनसेलबारे प्रधानमन्त्रीको जवाफ : छानबिनको राय आएपछि आवश्यक कदम चाल्छौँ

प्रकाशित: ३ पुष २०८० १३:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 6 =